बागलुङ : लैंगिक हिंसाको अन्त्य गरी मानव अधिकारको रक्षाका लागि सबैले दायित्वबोध गर्नुपर्ने बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले जोड दिएका छन् ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा गैर सरकारी संस्था महासंघ बागलुङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीले नेपालको संस्कार संस्कृति र चाल चलन देखि नै विभेद र लैंगिक हिंसा हुँदै आएकाले त्यसको निर्मुल गर्न पहिले सोंचमा परिवर्तन ल्याउनु जरुरी रहेको बताए ।
‘हाम्रो चाल चलन संस्कार संस्कृतिमा पनि लैंगिक विभेद र हिंसालाई प्रसय दिने खालको मान्यताहरु छन्,’ उनीहरु भने,‘त्यस कारण पनि हामीले हाम्रो मूल्य मान्यताहरुलाई परिस्कृत गर्दै लैजानुपर्छ । मान्यताको बन्दी बनेर हुने लैंगिक विभेद र हिंसा अब सैह्य हुन सक्दैन ।’
लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सबैको ऐक्यवद्धता भन्ने नाराका साथ भएको अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता राम शर्माले राज्यले संविधानमै लेखेका मौलिक अधिकारहरु नागरिकले नपाएको बताए ।
‘मौलिक हक भनेर संविधानमा उल्लेख गरेका कुराहरु पनि कार्यान्वयनमा आउन सकेको छैन,’ उनले भने,‘ठूला मान्छेहरु पर्छ भनेर विगतको द्वन्द्वका मुद्दाहरुमा कारबाही गर्ने संयन्त्र तयार भएको छैन । गैरन्यायिक हत्या र लैंगिक तथा यौनजन्य हिंसाका दोषीहरुले उन्मुक्ती पाईरहेका छन् ।’
दण्डहिनता र राजनीतिक संरक्षणले गर्दा लैंगिक हिंसा मानव अधिकार उल्लङ्घनका गम्भीर अपराधका घटनामा पनि दोषीले उन्मुक्ती पार्यरहेको उनको भनाई छ ।
उनले महामारीको समयमा नागरिकको न्यूनतम आधारभूत आवश्यक पूरा गर्ने दायित्व राज्यको भएकाले त्यसबाट सरकार भाग्न नमिल्ने उल्लेख गरे ।
कार्यपत्रमाथि अधिवक्ता हरि गौतमले टिप्पणी गरेका थिए । उनले लैंगिक हिंसा अन्त्यका लागि हरेक दिन सामाजिक आन्दोलन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले अहिलेका तीन तहको सरकारले सामाजिक विकास परिवर्तनका लागि लगानी नगर्दा परम्परागत मूल्य मान्यताहरुले विभेद हिंसा जारी रहेको बताए ।
‘देश संघियतामा गएपछि तीन तहको सरकार छ, तर सबै सरकारको ८० प्रतिशत लगानी भौतिक पूर्वाधारको क्षेत्रमा खर्च हुन्छ,’ उनले भने,‘सामाजिक सांस्कृतिक रुपान्तरणका लागि लगानी नै भएको छैन । हामीले यस्तो कार्यक्रममा बोलेर मात्रै समाज परिवर्तन हुन्न र हिंसा र विभेदको अन्त्य पनि हुन्न ।’
बजेट निर्माणमा गने बेला सामाजिक चेतना वृद्धि गर्ने खालका कार्यक्रम बन्नुपर्नेमा उनको जोड थियो । नेपालको समाजको बनोटका कारण पनि लैंगिक हिंसा महिलामाथि बढि भएको उनले बताए ।
‘सामाजिक बनोटका कारण महिलामाथि हिंसा बढि छ,’ उनले भने,‘त्यो भन्दा बढि अझ राजनीतिमा हिंसा छ । सत्ता र शक्तिको दुरुपयोगले हिंसा बढाएको छ ।’
राजनीतिको माथिल्लो तहमा मौलाएको बेथिती तल्लो तहसम्मा रहेको उनको भनाई थियो । ‘व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै छ, माथिल्लो तहको संस्कार तलसम्मै उस्तै छ,’ उनले भने,‘स्थानीय सरकारहरुले अझै पनि सरकार जस्तो रपमा सञ्चालन हुन सकेका छैनन् । हामीले बारम्बार सचेत गराउँदै आएका छौं केही सुधार भएको छ ।’
उनले नीतिगत र कानुनी व्यवस्था सहि हुन सके हिंसा र मानव अधिकार उल्लङ्घनका घटना कम हुने बताए । नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले अधिकार र कर्तव्यबीच सन्तुलन आवश्यक रहेको बताए ।
लैंगिक हिंसाका घटनामा अधिकारकर्मीहरु मेलमिलाप गराउन लाग्ने गरेको उनको भनाई थियो । ‘हामी यस्ता खालका कार्यक्रमहरु अधिकारको कुरा चर्को गर्छौं,’ उनी भन्छन्,‘तर लैंगिक हिंसाका घटनामा दोषीलाई कारबाही गराउन भन्दा मेलमिलाप गराउनतर्फ अधिकारकर्मीहरुको ज्यादा भूमिका देखिन्छ । यो अवस्थालाई परिवर्तन ल्याउनु जरुरी छ ।’
कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कुसुम बुढामगरले लिङ्गीय रुपमा महिलाहरु बढि थिचोमिचोमा परेका कारण लैंगिक हिंसाको कुरा गर्दा बढि महिलाहरु हिंसामा परेको कुरा उठ्नु स्वभाविक भएको बताए ।
‘लैंगिक हिंसा भनेको महिला हिंसा मात्र होईन भन्ने कुराहरु पनि हुन्छन्,’ उनले भनिन्,‘हाम्रो समाजमा सबैभन्दा लिङ्गीय रुपमा थिचिएको महिला हो । त्यसकारण महिलाको कुरा ज्यादा उठ्नु स्वभाविक हो ।’ उनले महिला भित्र पनि मौलाएको पितृसत्तात्मक संस्कृतिले गर्दा विभेद र हिंसाको अन्त्य हुन नसेकेको बताईन् ।
नेपाल रेडक्रस सोसाईटी बागलुङका उपसभापति राजेन्द्र आचार्यले विभीन्न घटनाका पीडितहरुलाई राज्यले प्रदान गर्ने राहत निकै कम हुने गरेको उल्लेख गरे ।
‘राज्यले क्षतिपूर्ति र राहतको नाममा उपलब्ध गराउने सहयोग निकै कम छ,’ उनी भन्छन्,‘राज्यले प्रदान गर्ने राहत राहत महसुस गराउने खालको हुनुपर्छ ।’ बागलुङ उद्योग वाणिज्य संघमा प्रथम उपाध्यक्ष राजनकुमार शाक्यले साझा संकल्प र प्रयासबाट मात्रै यी समस्याहरुको समाधान गर्न सकिने बताए ।
धौलागिरि अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले अहिले बनेको नयाँ सरकारको संरचनामा तल्लो तहमा महिला बालबालिकाको क्षेत्रमा काम गर्ने निकायको अभाव खड्किएको उल्लेख गरे ।
लैंगिक हिंसा विरुद्ध र मानव अधिकार रक्षाका लागि कार्यक्रम बनाएर बजेट विनीयोजन हुनुपर्ने उनको तर्क छ । गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष अृमता थापाको स्वागत तथा सचिव मणिभद्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।