खाेपकाे उपलब्धता

बागलुङमा खोप लगाउने लक्ष्य पूरा

बागलुङमा खोप लगाउने लक्ष्य पूरा

  • भाद्र २६, २०८३ शुक्रवार
  • ०९:१७:०७ बजे
  • 841
    SHARES
  • बागलुङमा खोप लगाउने लक्ष्य पूरा

    बागलुङ : हरेक असार मसान्तमा पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने सरकारी लक्ष्य पूरा भए पनि लाखौँ मूल्यको खोप भने बर्सेनि खेर गइरहेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा बागलुङ जिल्लामा झन्डै ४८ लाख रुपैयाँ बराबरको खोप खेर गएको छ। खोप खेर गए पनि सबै बालबालिकालाई अनिवार्य खोप अभियानमा जोडिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

    बीसीजी, दादुरा–रुबेला, डीपीटी–हेप बी–हिब, पीसीभी, पोलियो, टीसीभी, टीडी, जेई, रोटा र एफआईपीभीलगायतका खोपको केही मात्रा खेर गएको हो।

    “बालबालिका जन्मिदाबित्तिकै लगाउनुपर्ने बीसीजी खोपको औषधि एक बट्टामा २० जनालाई पुग्ने गरी आएको हुन्छ। तर, एकपटक खोलेपछि ६ घण्टामात्र प्रयोग गर्न सकिन्छ। एक जनालाई मात्र खोप लगाए पनि ६ घण्टाभित्र प्रयोगमा नआए बाँकी खोप खेर जान्छ,” जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले भने।

    खत्रीका अनुसार औषधी जोगाउने नाममा बालबालिकालाई खोप नलगाउने भन्ने हुँदैन। सरकारले हरेक बालबालिकालाई अनिवार्य खोप लगाउनुपर्ने प्रोटोकल बनाएकाले त्यसको अनिवार्य पालना गर्नुपर्ने उनले बताए।

    “खोप जोगाउने नाममा बालबालिकालाई खोपबाट वञ्चित गराउन नपाइने प्रावधान छ,” खत्रीले भने।

    बजार क्षेत्रको तुलनामा खोप खेर जाने समस्या विकट ग्रामीण क्षेत्रमा बढी छ। एक जना बालबालिकाका लागि समेत खोप प्रयोग गर्दा बाँकी मात्रा खेर जाने गरेको छ। सरकारले १९ डोजसम्म खेर गए पनि एक शिशुलाई अनिवार्य खोप लगाउने प्रावधान बनाएको छ।

    “भौगोलिक रूपमा टाढा भएकाले ग्रामीण क्षेत्रमा खोप केन्द्र धेरै चाहिन्छ। खोप केन्द्रहरू एकीकृत नगरेमा हरेक केन्द्रबाट लाखौँ मूल्यको औषधी खेर जानेछ,” प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले भने।

    गण्डकी प्रदेशभर खोप खेर जाने रकम हिसाब गर्दा साढे दुई करोड रुपैयाँभन्दा बढी रहेको छ। खोप खेर जाने अवस्था कम गर्न खोप केन्द्र मर्ज गर्ने र एकैपटक धेरै बालबालिका भेला गरेर मात्र खोप लगाउने व्यवस्था गर्न सकिने जनस्वास्थ्य कार्यालयका प्रमुख शर्माले बताए।

    सबै अभिभावकले साथ दिए खोप खेर जाने अवस्था कम गर्न सकिने उनको भनाइ छ। नियमित खोप लगाउने समयअनुसार जिल्लाभित्र २०५ वटा खोप केन्द्र छन्। खेर जाने खोपको मात्रा कम गर्न कार्यालयले गत वर्षको अनुभवका आधारमा १० वटा केन्द्र मर्ज गरेको छ। आगामी दिनमा १९५ वटा केन्द्रबाट खोप लगाइनेछ।

    सहरी क्षेत्रका कतिपय केन्द्र अझै मर्ज गरी जनशक्ति परिचालन बढाउन सकिए खेर जाने खोपको मात्रा कम गर्न सकिने विषयमा अध्ययन भइरहेको जनस्वास्थ्य कार्यालयका प्रमुख शर्माले बताए।

    बागलुङका १४ हजार २५७ जना बालबालिकालाई आवश्यक पर्ने सबै खोप लगाएर जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो। त्यसबाहेक महामारीका रूपमा ढोरपाटनमा दादुरा संक्रमण फैलिएपछि प्रदेश जनस्वास्थ्य कार्यालयले तत्काल विज्ञ टोली तथा अन्य दाता संस्थाको सहयोग जुटाएर संक्रमण नियन्त्रणमा लिएको थियो

  • सम्बन्धित विषय:

  • # खोप लगाउने

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार