बागलुङ : ३९ औं मगर संघ स्थापना दिवस एवं मगर एकता दिवस बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले मगर समुदायको हक अधिकारका लागि सबैले जागरुक ढंगले लाग्नुपर्ने बताए ।
‘मगर समुदाय आफ्नो अधिकारका लागि पछि परेको समुदाय हो,’ उनीहरु भने,‘हामी हिजोको दिनमा यो या त्यो बहानामा राज्यको मूलधारबाट बञ्चित भएका छौं ।अब अधिकार प्राप्तिका लागि सबैले साझा अभियान चाल्नुपर्छ ।’ कार्यक्रममा बोल्दै नेपाल मगर संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष गणेश थापामगरले अहिले देशमा संविधान माथि नै संकट आउने गरी सरकार अगाडि बढेकाले त्यसको रक्षाका लागि सबै लाग्न आग्रह गरे ।
उनले वर्तमान संविधानमा मगर समुदायको हक अधिकारका लागि केही व्यवस्था भए पनि पर्याप्त नभएकाले विगतका उपलब्धिहरु रक्षा गर्दै थप उपलब्धिका लागि संघर्ष गर्नुपर्ने बताए । ‘संविधान निर्माणको क्रममा हाम्रो त्यहाँ आवाज र पहुँच पुग्न सकेन त्यसले हाम्रा सबै कुराहरु सम्बोधन भएका छैनन्,’उनले भने,‘जे जति भएका छन् त्यसको रक्षा गर्ने र थप प्राप्तिका लागि संघर्ष गर्नुपर्नेछ ।’
उनले अब आउँदो वर्ष नेपालमा जनगणना हुन लागेकाले पनि त्यसमा सबै मगर समुदायले आफ्नो थरसंगै मगर लेखाउन आग्रह गरे । ‘राज्यको नीति निर्माणमा जनसंख्याले ठूलो अर्थ राख्छ, हामीले आफ्नो थरको पछाडि मगर नलेख्दा चलखेल हुने गरेको छ,’उनी भन्छन्,‘अब हामीले थरको पछाडि अनिवार्य रुपमा मगर लेखाउनुपर्छ ।
त्यो खालको सचेतना गाउँ गाउँमा पु¥याउन जरुरी छ ।’ कार्यक्रममा बोल्दै लाङ्घाली परिवारका संस्थापक महासचिव केवि रानामगरले मगर जाति हो भनेर पहिचानका लागि सिडीओले सिफारिस दिनुपर्ने व्यवस्थाको अन्त्य हुनुपर्ने बताए । ‘हाम्रो देशमा विडम्बना छ, हामी मगर हौं भनेर चिनाउनका लागि सिडीओले सिफारिस दिनुपर्छ,’ उनले भने,‘यो ठिक भैरहेको छैन ।
नेपालमा जनसंख्याको हिसाबले तेस्रो स्थानमा रहेको मगर समुदाय अधिकारको क्षेत्रमा निकै पछि परेको छ ।’, कार्यक्रममा नेपाल मगर संघ बागलुङका पूर्व सचिव एवं काठेखोला गाउँपालिका—१ का वडाध्यक्ष खडक थापा, नेपाल मगर संघ जिल्ला सदस्य कुशुम बुढामगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सचिव मनिष थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागलुङका अध्यक्ष संगम घर्तीमगर, मगर वौद्ध सेवा समाजका अध्यक्ष सुवेदार श्यामबहादुर राना, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश अध्यक्ष विष्णु आले लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाल मगर संघ बागलुङ नगर समिति अध्यक्ष हिराबहादुर थापाको अध्यक्षता, देउराली मगर आमा समूहकी अध्यक्ष तनसरी रोका मगरको स्वागत र नेपाल मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष सागर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त अवसरमा लोकनृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ ।
प्रतियोगितामा गलकोट पाण्डवखानीका निशा पुन प्रथम, काठेखोला-५ की यमुना मगर द्वितीय, काठेखोला-३ धम्जाकी तारा थापा तृतीय र गल्कोट पाण्डवखानीकी आरती घर्ती सान्त्वना भएको प्रतियोगिताका संयोजक मनबहादुर पुनले बताए । यसैबीच मगर संघ स्थापना दिवसको अवसरमा जिल्लाको गलकोट, बुर्तिबाङ, बरेङ लगायतका ठाउँहरुमा पनि कार्यक्रम सम्पन्न भएका छन् ।