बागलुङ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन बागलुङले शनिबार बागलुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले देशलाई बर्बादीतर्फ धकेल्ने व्यक्तिलाई प्रधानमन्त्रीमा राखिराख्न नहुने बताए ।
उनले आफै प्रधानमन्त्री बनेर हुन्छ की जसरी हुन्छ ओलीबाट पदबाट हटाउने नेतृत्व गर्न पार्टी सभापतिलाई भनेको समेत बताए ।
‘असंवैधानिक कदम चाल्दै देशलाई संकटतर्फ धकेल्ने व्यक्तिलाई देशको अभिभारा सुम्पन सकिन्न,’ पौडेलले भने,‘हामीले सभापतिजीलाई भन्यौं तपाई आफै प्रधानमन्त्री बनेर हुन्छ कि अरुलाई बनाएर हुन्छ केपी ओलीलाई सत्ताबाट बाहिर पठाउने वाताबरण बनाउनुस् ।’
अहिलेको समयमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र मिलेर नै सरकार बनाउनुपर्ने उनको मत छ ।
‘संसदीय प्रणालीमा संसदबाटै समस्याको समाधान खोज्ने हो, अहिलेको समयमा तीन पार्टी काँग्रेस, जनता समाजवादी र माओवादी केन्द्र मिलेर सरकार बनाउनुपर्छ,’ उनी भन्छन्,‘अब पनि केपी ओलीलाई जोगाउन लाग्नेहरुको राजनीतिक निष्ठा र राष्ट्रियतामाथि पनि प्रश्न उठ्छ । सत्तामा रहनका लागि जे पनि गर्ने व्यक्तिलाई बोकेर हिँड्ने अवस्था छैन ।’
सरकार सञ्चालनका लागि कम्युनिष्ट पार्टीले पाएको जनमत उनीहरु आफैले छिन्न भिन्न पारेकाले देशलाई बर्बादीतर्फ जान नदिन नेपाली काँग्रेसले त्यसको नेतृत्व लिने समेत उनले दाबी गरे । ‘देशलाई समस्या परेको बेला काँग्रेसले देश अलपत्र छाडेर भाग्दैन जिम्मेवारी बहन गरेर पार लगाउँछ,’ पौडेलले भने ।
ओली सरकार हटाउनका लागि जसपा वा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउन पनि काँग्रेस तयार हुने उनको भनाई छ । उनले रानीतिमा विकृति मौलाएको चिन्ता समेत व्यक्त गरे । संविधान संशोधन र रेशम चौधरीको मुद्दा लगायतका विषयमा आफुहरु सकारात्मक रहेको पौडेल बताउँछन् । फरक प्रसंगमा उनले विभीन्न बहानामा नेपाली काँग्रेसको महाधिवेसन नगरिनु दुःख भएको बताए ।
नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष संगम घर्तीमगर र सञ्चालन सचिव नारायण रिजालले गरेका थिए ।