मंगलबारदेखि थ्री नेसन्स कप सुरु हुँदै 

मंगलबारदेखि थ्री नेसन्स कप सुरु हुँदै 

  • चैत्र १०, २०७७ मंगलवार
  • १०:४०:५५ बजे
  • 5.8K
    SHARES
  • मंगलबारदेखि थ्री नेसन्स कप सुरु हुँदै 

    काठमाडौँ : मंगलबारदेखि दशरथ रंगशालामा थ्री नेसन्स कप सुरु हुँदैछ । त्यसको पहिलो खेलमा भिड्दै छन्, बंगलादेशको राष्ट्रिय टिम र किर्गिस्तानको ओलम्पिक टिम ।

    दुवैको उद्देश्य सुखद सुरुआत नै रहे पनि रणनीति भने फरक छ । जहाँ बंगलादेश आफ्ना केही नयाँ खेलाडीलाई पहिलोपल्ट राष्ट्रिय टिमको अनुभव दिलाउन चाहन्छ ।

    त्यहीँ किर्गिस्तानको युवा टिम बहुमूल्य अनुभव बटुल्न चाहन्छ्, प्रतिद्वन्द्वीका रूपमा रहेको राष्ट्रिय टिमविरुद्ध । दुवै टिमले सोमबार बेलुका दशरथ रंगशालामा पहिलो अभ्यास सत्र राखे । पहिले बंगलादेश मैदानमा उत्रेको थियो भने त्यसपछि किर्गिस्तान । आजको खेलमा बंगलादेश सोहेल राणाको कप्तानीमा उत्रिनेछ ।

    बंगलादेशका नियमित कप्तान तथा टिमका सबैभन्दा ठूला स्टार जमल भुयान सोमबार मात्र काठमाडौं आइपुगेका थिए । त्यसैले उनले किर्गिस्तानविरुद्ध खेल्ने छैनन् ।

    यस्तै बंगलादेशले आफ्ना पाँच नयाँ खेलाडीलाई डेब्युको अवसर दिन सक्छ । अभ्यास सत्रपछि दशरथ रंगशालामा मिडियासँग बोल्दै बंगलादेशी प्रशिक्षक जिम्मी डेले सुखद सुरुआतको अपेक्षा पोखे । उनले एक वर्ष अगाडि दक्षिण एसियाली खेलकुद (साग) मा आफ्नो टिमको खराब प्रदर्शनलाई बिर्साउन चाहेको पनि बताए ।

    बंगलादेश त्यस प्रतियोगिताको पुरुष फुटबलमा स्वर्णको बलियो दाबेदार रहे पनि कांस्य पदकमै सीमित रहेको थियो । उनले भने, ‘एक वर्ष अगाडि दक्षिण एसियाली खेलकुदमा हाम्रो प्रदर्शन अपेक्षित रहेन् । पक्कै पनि हामी यसपल्ट त्यसको तुलनामा सुधारिएको प्रदर्शन गर्न चाहन्छौं ।’ 
    उनले आफ्नो खास नजर भने विश्वकप छनोटमै रहेको पनि बताए । विश्वकप छनोटका खेल स्थगित भएपछि त्यसै समयमा नेपालले थ्री नेसन्स कपको आयोजना गरेको हो । प्रशिक्षक डेले भने, ‘विश्वकप छनोटका खेल स्थगित भएको बेला यो प्रतियोगिता आयोजना गरेकोमा सबैभन्दा पहिले नेपाललाई धन्यवाद ।’उनले थपे, ‘हामी सबैको ध्यान विश्वकप छनोटमै रहेको छ र अहिले काठमाडौंमा राम्रो गर्न सक्यो भने त्यसले हामीलाई त्यस विश्वकप छनोटमा मद्दत गर्नेछ ।’

    किर्गिस्तानका प्रशिक्षक झोलुसोभ नोर्भिकले आफ्नो टिम नयाँ र युवा रहेको बताएका छन् । उनले आफ्नो टिमको प्रमुख उद्देश्य दुई राष्ट्रिय टिमविरुद्ध बहुमूल्य अनुभव बटुल्ने रहेको बताएका छन् । खेल साँझ ५.३० मा सुरु हुनेछ ।

     

  • सम्बन्धित विषय:

  • # थ्री नेसन्स

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार