गलकोट : गलकोट नगरपालिकामा बिहिबार दलित जनप्रतिनिधि र अगुवाहरुको क्षमता विकास सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ । नगरपालिका भित्रका दलित जनप्रतिनिधि तथा
अगुवाहरु सहभागितामा भएको कार्यक्रममा डाक्टर बुद्धि नेपालीले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख भरत शर्मा गैरले दलित र पिछडिएका समुदायको उत्थान गर्न नगरपालिका तत्पर
रहेको बताए । सामाजिक, आर्थिक र राजनैतिकका विषयमा दलित पिछडिएका समुदायमाथि विभेद भएको र लोकतान्त्रिक पद्धतिमा धर्म, लिङ्ग, वर्ण र जातको आधारमा ठूलो सानो नहुने उनको भनाई छ ।
कार्यक्रममा नगर उप–प्रमुख रेनुका काउचा मगरले कुनै पनि समुदायका नागरिकले आफ्नो हक र अधिकारका लागि स्वयम् आफैले अग्रसरता देखाएर क्षमता बाहिर ल्याउनु पर्ने बताइन् ।
पछाडी परेका समुदायलाई अगाडी बढाउनको लागि नगरपालिकाले जनचेतना मुलक, व्यक्तिगत क्षमता अभिवृद्धि गर्ने खालको कार्यक्रम गरिरहेको र आगामी दिनमा यस्ता प्रकारका कार्यक्रमलाई
व्यवस्थित तरिकाले गर्दै जाने बताइन् । कार्यक्रममा प्रशिक्षका डा. बुद्धि नेपाली, दलित अधिकार कर्मी वीर बहादुर नेपाली, विष्णु विक लगायतले मन्तव्य राखेका थिए ।
नगर कार्यपालिका सदस्य नारायण नेपालीको अध्यक्षता र गुलाब वादीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।