केशवराज क्षेत्री, बरेङ : बागलुङ झाेलुङ्गे पुलको जिल्ला भनेर चर्चित छ । पुल मात्रै होइन यहाँ अनगिन्ती प्राकृतिक सौन्दर्यले भरिएका ठाउँहरु पनि छन् । अग्ला चुचुराले सुसज्जित यस जिल्लामा खोलानाला, वनजङ्गल, धार्मिक स्थल, लोभ लाग्दा कुण्ड, दह, झरना रहेका छन् ।
ती मध्यको एक आकर्षक गनतव्य हो छहरेखोला झरना । बरेङ गाउँपालिकाको वडा नम्बर ४ सल्यान र वडा नम्बर ३ बाटाकाचौरको सीमामा रहेको छहरेखोलामा रहेको यो झरना १ सय मिटर उचाइबाट झरेको छ । यहाँ तीन वटा झरना रहेका छन् । ४५ मिटर उचाइ भएका झरना मोटरबाटो नजिक छन् भने १ सय मिटर उचाइको झरना मोटरबाटोभन्दा ५०० मिटर टाढा छन् । यी झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् ।
अग्ला पहाडबाट छङ्छङ गर्दै झरेको छहरेखोला आफूलाई हुग्दिखोलामा समाहित गराउँदै बडिगाडसँग मिसिएर कालीगण्डकी नदीमा बग्छन् । सार्वजनिक यातयातमै झरना नजिक पुग्न सकिने सोही ठाउँमा पैदल यात्रा झन रमणीय हुने गर्दछ । पर्यटकीय हिसाबले उच्च सम्भावना बोकेको यो झरना प्रचारप्रसार नहुँदा स्थानीय बाहेक अन्य पर्यटक तान्नत सकिएको छैन ।
बागलुङ र गुल्मीको सीमा वारिपारी पर्ने यस झरनाको बारेमा साहेदै जानकारी होलान् । प्रचारप्रसारको अभावले ओझेलमा परेको यो झरनामा आन्तरिक पर्यटक भित्रिन थालेपछि भने एकाएक चर्चा कमाउन थालेको थियो ।विश्वभर फैलिइरहेको कोरोना भाईरसले गर्दा यस झरना प्रचारप्रसार हुनबाट वञ्चित भनेको छ ।
प्रचारप्रसार गर्दै झरनालाई पर्यटकीय स्थलको रुपमा स्थापना गर्न सकेमा बरेङ गाउँपालिका र वडा नम्बर ४ का वासीन्दाको आर्थिक स्तर उकास्न समेत टेवा पुग्ने देखिन्छ । पर्यटकीय गन्तव्य र आर्थिक स्तर उकास्नका लागि गाउँपालिकाको समेत समयमा ध्यान जान जरुरी देखिन्छ ।