स्याङ्जा : आज भोलिका बालबालिकाहरु विद्यालयको समयमा बाहेक टिभी र युटुवमा कार्टुन हेर्नदेखि लिएर मोबाइलमा गेम खोलेर आफ्नो समय बिताइरहेका हुन्छन् ।
आफूले भनेको समयमा मोइबाल नपाएमा अभिभावकसँग झगडा गर्नसमेत पछि पर्दैनन् तर स्याङ्जाको भीरकोटमा भने दश वर्षका हिमालय सुनुवारले एक्लै प्याराग्लाइडिङ उडाएर सबैलाई आश्चार्य चकित बनाइदिएका छन् ।
युवा अवस्थाका मानिसहरु पाइलटसँग सँगै उडान भर्न डराइरहेको बेला दश वर्षीय सुनुवारले भने प्याराग्लाइडिङ उडाएर सबैलाई अचम्मित बनाइदिएका हुन् ।
भीरकोट नगरपालिका वडा नं ५ महापुर स्वरेक मैदानमा रहेको दक्षिण एशीयाकै पहिलो प्याराग्लाइडिङ स्कुलका प्रशिक्षार्थी ती बालकले गतहप्ता पहिलोपटक सफल प्याराग्लाइडिङ उडान भरेका हुन् ।
उनले स्वरेक मैदानदेखि प्याराग्लाइडिङ उडाएर वालिङ नगरपालिका वडा नं ११ डौवाफाँटमा सफल अवतरण गरेका थिए ।
पोखराको एक स्कुलमा ४ कक्षामा अध्यानरत ती बालकले लकडाउनको समय सुदपयोग गरेर अन्य ८ जना प्रशिक्षार्थीसँग प्याराग्लाइडिङ उडानको तालिम लिएको बताए ।
उनले सुरुमा उड्दा डर लागे पनि पछि नलागेको बताउँदै प्याराग्लाइडिङ पर्यटन विकासको लागि एकदमै महत्वपूर्ण खेल भएको दावी गरे ।
उनले आफ्नो बुबाले जस्तो सगरमाथाबाट प्याराग्लाइडिङमा उडाएर समुद्रीक एरियामा पुग्ने आफ्नो लक्ष्य रहेको बताए ।
सन् २०१२ को नेशनल हिरो (साहसिय हिरो अफ त एयर) का विजेता एव्म बालकका बुबा सानुबाबु सुनुवारले छोराको उमेर १० वर्षको भएपनि उसको जोस भने २० वर्षको युवकको जस्तो भएको बताए ।
हिमालय सुनुवार नेपालमै सबै भन्दा सानो उमेरमा प्याराग्लाइडिङ उडाउने भर्ने बालक भएको छन् यसअघि पोखराका १२ वर्षका एक बालकले प्याराग्लाइडिङ उडान गरेका थिए ।
१८ वर्षभन्दा कम उमेरका व्यक्तिले व्यावसायिक प्याराग्लाइडिङ भर्न नपाउने र मनोरञ्जनका लागि मात्र उड्न पाउने सुनुवारले बताए ।
बालकको आमा सुष्मीता सुनुवारले आफ्नो छोराले रातभरी रोएर जिद्धि गरेपछि ल तँ पनि उड् भनेर छोडिदिएको बताइन् ।
उनले भनिन्, ‘‘सुरुमा त डर लागेको थियो । अहिले खुशी छु । छोराले शुरुदेखि नै प्याराग्लाइडिङमा चाहना राखेकोले राम्रो गर्दै गइरहेको छ ।’’
द बाबु एड्भन्चर इन्टरनेशनल स्कुल स्याङ्जाले २०७० मा दर्ता भई अहिलेसम्म ४०० बढीलाई प्याराग्लाइडिङ तालिम दिइसकेको छ । तालिममा २० देखि ३५ वर्ष उमेर समूहको बढी सहभागी रहेको स्कुलले जनाएको छ ।
यस ठाउँमा नेपाल प्याराग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भन्चर स्कुल स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा
२०७५ कात्तिक १५ देखि १८ गतेसम्म नेपालमै पहिलोपटक भएको विश्व कप प्याराग्लाइडिङ प्रतियोगितामा २१ देशका ७० जना खेलाडीले सहभागिता जनाएका थिए ।
प्याराग्लाइडिङ वल्डकप गर्न उडानका लागि कम्तीमा ४० वाई ४० मिटर र अवतरणका लागि १०० वाई १०० मिटर जग्गा आवश्यक भएकाले उक्त जग्गा
पोखरा महानगरपालिकाले उपलब्ध गराउन नसकेपछि पोखराको विकल्पको रुपमा स्याङ्जाको भीरकोट छानिएको थियो ।