बागलुङ : ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले धौलागिरी अस्पताल बागलुङलाई पाँच लाख रुपैयाँ ३० थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । नेपालीले सहयोग रकम र अक्सीजन सिलिन्डर आइतबार अस्पतालमै पुगेर, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरलाई हस्तान्तरण गरेका हुन् ।
कोरोना महामारीको समयमा अस्पतालहरुमा भएको अक्सिजन तथा औषधीको अभावलाई मध्यनजर गर्दै अस्पताललाई सहयोग पु¥याउने उद्धेश्यले आर्थिक र अक्सिजन सिलिन्डर सहयोग गरेको नगर प्रमुख नेपालीले बताए । धौलागिरी अस्पतालमा बागलुङ जिल्लासहित धौलागिरीका अन्य जिल्लाहरु म्याग्दी, पर्वत र मुस्ताङका स्थानका नागरिकहरु पनि उपचारका लागि आउने गर्छन् ।
अक्सिजन र औषधी अभावकै कारण कोही पनि संक्रमितले अकालमा ज्यान गुमाउन नपरोस् भन्दै आफूले सहयोग गरेको नेपालीको भनाई छ । धौलागिरी अस्पतालका अध्यक्ष राना मगरले संकटमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने भन्दै नेपालीलाई धन्यवाद ज्ञापन गरे ।