बुर्तिबाङ : नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दोर्णकुमार कुँवरले आफ्नो क्षेत्रका लागि ६० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जुटाएका छन् । सभापति कुँवर केही समय अगाडि कोभिड १९ बाट संक्रमित भएका थिए । संक्रमण मुक्त हुने बित्तिकै स्वास्थ्य सामग्री जोहो गर्न काठमाडौ पुगेका कुँवरले ६० लाख बराबरको स्वास्थ्य सामग्री पश्चिम बागलुङमा
ल्याउन थालेको बताइएको छ । उनको पहलमा विभिन्न निजी क्षेत्र सरकारी निकायहरू स्वास्थ्य सेवा विभाग, कुबेर ट्रस्ट, आइएमइ फाउण्डेसनको सहयोगमा बागलुङ क्षेत्र नम्बर २ का ६ वटा पालिकाका स्वास्थ्य चौकी र ४८ वडामा ६० लाख बराबरको अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, बेड लगायतका अति आवश्यक स्वास्थ्य सामग्री एक ट्रक लिएर
बागलुङ आउँदै गरेको कुँवरले बताए । यस क्षेत्रका कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भनि आफूले विभिन्न निकायहरुसँग समन्वय र सहयोगमा स्वास्थ्य सामग्री लिएर आउँदै गरेको बताए । उक्त सामग्री पश्चिम बागलुङ सबै स्वास्थ्य संस्थाहरुमा पुग्ने उनको भनाई छ । ‘कोरोनाको कारण धेरै नागरिकहरुको ज्यान गएको छ, उनीहरुको जीवन रक्षा गर्ने
हामी सबैको दायित्व हो, अहिले अति आवश्यक स्वास्थ्य सामग्री वडा–वडामा पु¥याउने तयारीमा छौँ,’ सभापति कुँवरले भन्नुभयो ‘पछि थप अन्य आवश्यक सामग्री चरणबद्ध रुपमा ल्याउने छौँ, यो महामारीमा सबै एकताबद्ध हुन जरुरी छ ।’ यस अघि पनि कुँवरको पहलमा ढोरपाटन नगरपालिकालाई चार लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको थियो र
ढोरपाटन नगरपालिकाका नेता जनप्रतिनिधि सर्वसाधारण लगायत ७१ जनाको आफ्नो लगानीमा पिसिआर परिक्षण समेत भएको थियो । कुँवरले जनताको सुख, दःखमा आफ्नो साथ रहेको भन्दै आफ्नो सत्कर्म निरन्तर भइ रहने बताए । उनले स्वास्थ्य सामग्री वितरण, बाढी पीडितलाई सहयोगसँगै विभिन्न स्थानहरुमा झोलुङ्गे पुल निर्माणको लागि समेत पहल गर्दै आएका छन् ।