बागलुङ : जिल्लामा क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
पत्रकारहरु सम्बद्ध पेशागत संगठन प्रेस संगठन बागलुङले सोमबार जिल्लामा क्रियाशील रहेर सञ्चारकर्ममा लागिरहेको पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको हो । संगठनका सदस्यहरुबाट आपसी सहयोग संकलन गरी पत्रकार तथा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरिएको प्रेस संगठन बागलुङले जनाएको छ ।
उक्त अवसरमा बागलुङमा क्रियाशील ३५ जना पत्रकारलाई सहयोग हस्तान्तरण गरिएको थियो ।
कोरोना महामारीको समयमा अग्रपंक्तीमा खटिएर नागरिकलाई सुसूचित गराउने दायित्व बोकेका पत्रकारहरु सुरक्षित रहनु जरुरी रहेकाले सहयोग गरिएको प्रेस संगठन बागलुङका संयोजक थम्मन थापाले बताए ।
पत्रकारलाई मास्क र सेनिटाईजर प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेलले पत्रकार सञ्चारकर्मीको स्वास्थ्यप्रति गम्भीर चासो देखाएर स्वास्थ्य सामग्री सहयोग गरेकोमा प्रेस संगठन बागलुङलाई धन्यवाद दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष दिल शिरीष, पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, पूर्व सचिव राम थापा अविरल, पूर्व उपाध्यक्ष हिमाल शर्मा लगायतले जनतालाई जागरुक र सचेत बनाउने सञ्चारकर्मीहरु पहिले आफै कोभिडबाट जोगिनु जरुरी रहेको बताए ।
प्रेस संगठन नेपाल बागलुङका संयोजक थम्मन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्ण सापकोटा र स्वागत सज्जन कुमार सिंहले गरेका थिए । सोही अवसरमा नेपाल टेलिकमको तर्फबाट नेपाल पत्रकार महासंघलाई कप र डायरी सहयोग गरिएको छ ।
कार्यालयका वरिष्ठ ईन्जिनियर केशव शर्माले नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेललाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।