गण्डकी सभ्यताबारे युवाको चासो, नदि दोहनप्रति बुलन्द हुँदैछ आवाज !

गण्डकी सभ्यताबारे युवाको चासो, नदि दोहनप्रति बुलन्द हुँदैछ आवाज !

  • आषाढ १४, २०७८ सोमवार
  • १८:५२:४० बजे
  • 4.9K
    SHARES
  • गण्डकी सभ्यताबारे युवाको चासो, नदि दोहनप्रति बुलन्द हुँदैछ आवाज !

    बागलुङ : कालिगण्डकी एउटा नदी मात्र होईन । यहाँको सभ्यतासंग जोडिएको क्षेत्र हो । कालिगण्डकी नदीको धार्मिक सांस्कृतिक र प्राकृतिक रुपमा आफ्नै महत्व छ ।

    विश्वमै दुर्लभ शालिग्राम शिला पाईने एक मात्रै नदी पनि कालिगण्डकी हो । शालिग्राम शिलाको धार्मिक मात्रै होईन वैज्ञानिक रुपमा पनि महत्व रहेको बताईन्छ । तर यही प्राकृतिक, धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्व बोकेको कालिगण्की नदीमाथि चरम दोहन भैरहेको छ । कालिगण्की नदीमाथिको गैरकानुननी दोहनले गर्दा नदीको स्वरुपमा मात्रै बिग्रीएको छैन । यही कालिगण्डकीले प्राकृतिक विपत्ती निम्त्याउन थालेको छ । विश्वका हिन्दु धर्मावलम्बीहरुले भगवान विष्णुको रुपमा पूजा गर्ने शालिग्राम शिला लोप हुन थालेको छ । 

    कालिगण्डकी दोहनको विषयमा आमनागरिकको क्षेत्रबाट चासो र चिन्ता व्यक्त नगरिएको पनि होईन । तर पछिल्लो एक दशकमा नदीमाथिको दोहन रोकिने भन्दा झन् बढ्दै गएको स्पष्ट देखिन्छ ।

    Kali 1.jpg

    यो विषयमा संसद देखि अदालतसम्म प्रश्न उठे पनि त्यसले पनि कालिगण्डकी नदिमाथीको दोहन थामिएको छैन । बरु एल्टै बढेको छ । कालिगण्डकी माथिको चरम दोहन बढ्दै जाँदा पछिल्लो दिनमा भने यसविरुद्धको अभियान सामाजिक सञ्जालमा जबरजस्त बढेको छ । सामाजिक सञ्जालमा कालिगण्डकी नद बचाउ अभियान निकै तीब्र गतिमा फैलिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले ह्यास ट्याग कालिगण्डकी बचाउ अभियानलाई निकै तिव्रता दिएका हुन् । केही सचेत युवाहरुले स्वतः स्फुर्त रुपमा सामाजिक सञ्जालमा सुरु गरेको यो अभियान अहिले व्यापक भन्दै गएको छ । 

    कालिगण्डकी माथि भैरहेको दोहनको विषयमा चिन्तित युवापंक्तीले सामाजिक सञ्जाल मार्फत खबरदारी गर्न थालेका छन् । केही व्यक्तिको मुनाफाका लागि कालिगण्डकीको जिउँदो जाग्दो सभ्यतालाई नास गर्न दिन नहुने समाजिक सञ्जालमा कालिगण्डकी बआउ अभियान सञ्चालन गर्दै आईरहेका युवा आरके अदिप्त गिरी बताउँछन् ।

    “कालिगण्डकी नदी कसैको पेवा होईन यो त हामी सबैको साझा सम्पत्ती हो,’ उनले भने,‘यो यहाँका पहिचान, आस्था र सभ्यतासंग पनि जोडिएको कुरा हो । यो भावी सन्ततीका लागि हामीले हस्तान्तरण गर्नुपर्छ । त्यसका लागि अहिले आवाज उठाउनुपर्ने आवश्यकता देखियो ।’ नदी दोहन नियन्त्रणका लागि लाग्नुपर्ने सरोकारवाला मुक दर्शक बनेपछि यहाँको नागरिक तहबाट आन्दोलन छेडिनुपर्ने अवस्था आएको उनी बताउँछन् ।

     ‘गिटी बालुवा निकालेर निर्माण सामग्रीको रुपमा प्रयोग गर्ने बहानामा अहिले जसरी कालिगण्डकीमाथि चरम दोहन भैरहेको छ त्यसले भोलीको दिनमा ठूलो समस्या सिर्जना गर्छ,’ उनले भने,‘कालिगण्डकीलाई आफ्ने लय र रफ्तारमा बग्न दिनुपर्छ । प्रकृति माथि दोहन गरेर विकास हुँदैन, विकासका लागि त्यसको संरक्षण गर्नुपर्छ । यहाँ गतल भैरहेको छ भन्ने जान्दा जान्दै पनि प्रहरी प्रशासन तैचुप मैचुपको अवस्थामा देखिन्छन् । नागरिकस्तरबाट यसको संरक्षणमा ध्यान जानुपर्छ ।’ प्रकृति माथिको नाङ्गो हस्तक्षेपको नागरिक स्तरबाट पैरवी सामाजिक सञ्जालमा अभियान थालिएको उनी बताउँछन् ।

     ‘प्रकृतिमाथि दोहन भएको छ, कालिगण्डकी माथि दोहन भएको छ,’ उनी भन्छन्,‘नदीमाथि दोहन गर्ने अनि बर्खामा कालिगण्डकीले बस्ती बगायो भनेर भन्नुको के अर्थ ? त्यसलाई संरक्षण र जोगाउने काम गरेको भए कालिगण्डकी बस्तीमा पस्ने अवस्था आउँदैन ।’ कालिगण्डकी दोहनका विषयमा लामो समयदेखि आवाज उठाउँदै आएका सामाजिक अभियन्ता अधिवक्ता राम शर्मा अहिले सामाजिक सञ्जालमा स्वतः स्फुर्त रुपमा मौलाएको अभियानप्रति खुसी छन् । 

    ‘हामीले यो विषयमा लामो समयदेखि कुरा उठाउँदै आएको हो, अहिले सामाजिक सञ्जालमा स्वतः स्फुर्त रुपमा जसरी एउटा क्याम्पेनिङ नै देखिएको छ यसले केही प्रभाव राख्छ भन्ने देखिएको छ,’ शर्मा भन्छन्,‘कालिगण्डकी नदीको सभ्यता र महिमा बुझेकाहरुसंग अन्तरक्रिया गर्दै यसको गरिमा र महिमा बचाउनका लागि लाग्नुपर्छ ।’ कालिगण्की माथिको दोहन कानुन सम्मत छैन भन्ने सबैलाई थाहा हुँदा हुँदै पनि नियामक निकायहरु मुकदर्शक बनेको उनको भनाई छ । 

    ‘कालिगण्डकीबाट गिट्टी बालुवा निकाल्दै ननिकालौं भन्ने हाम्रो कुरा होईन, त्यसको पनि मापदण्ड र विधि छन् त्यस अनुसार निकालौं भन्ने हो,’ उनले भने,‘अहिले जसरी डोजर प्रयोग गरेर कालिगण्डकीको धार नै परिवर्तन गर्नेगरी दोहन भएको छ । त्यो राम्रो होईन ।’ प्राकृतिक, धार्मिक सांस्कृतिक र वैज्ञानिकै महत्वको कालिगण्की नदी संरक्षि क्षेत्रको सूचीमा हुनुपर्नेमा नदीाको सतह नै खलबल्याउने गरी दोहन भएको उनको भनाई छ । पछिल्लो १० वर्षमा १० वर्षमा कालिगण्की नदि १० मिटर भन्दा तल भासिएको उनी बताउँछन् ।

     ‘पहिले कालिगण्डकी सलल बग्थ्यो, अहिले खहरेखोला जस्तो उर्लेर बग्न थालेको छ । यसप्रति कसको ध्यान जाने ?,’ उनी भन्छन् । गिटी बालुवा झिक्दा वाताबरणीय अध्ययन आईईई गर्नुपर्ने भए पनि त्यो भन्दा विपरीत कार्य भैरहेको उनी बताउँछन् । नागरिक स्तरबाट स्वतः स्फुर्त रुपमा युवाहरु नजागेसम्म कालिगण्डकी नदी दोहन नरोकिने देखिएको अर्का अभियन्ता भरत बागलुङे पौडेल बताउँछन् ।

    kali.jpg

     ‘मुक्तिनाथदेखि त्रिवेणीधामसम्म, मुस्ताङदेखि नवलपरासीसम्मका युवाहरु आफै जागेर नदि दोहनको विरुद्ध लाग्न सकिएन भने हाम्रो सभ्यता सकिनेवाला छ,’ उनले भने,‘शालिग्राम शिला पाईने विश्वकै एक मात्र नदीको अस्तीत्व अहिले संकटमा छ ।’ केही व्यक्तिहर रातारात करोडपति बन्नका लागि प्राकृतिक सम्पदामाथि गैरकानुनी दोहन गर्ने कार्य स्वीकार्य हुन नसक्ने उनी बताउँछन् । ‘हामीले कालिगण्डकी नदी भावी पुस्तालाई हस्तान्तरण गर्नुछ, केही व्यक्तिको लागि यसको अस्तीत्व मेटिने अवस्था आउन दिनुहुन्न,’ उनले थपे । अहिले यो अभियान स्वतः स्फुर्त रुपमा अगाडि बढेको र पछि आवश्यकता अनुसार यसलाई संगठित रुप दिन सकिने उनी बताउँछन् ।

     सृष्टिको सुरुवात नै गण्डकी तपोभूमिबाट भएका कारण यसको संरक्षण हुनु जरुरी रहेको स्वामी ऋषि प्रपन्नाचार्य बताउँछन् ।  ‘कालिगण्डकी नदी विश्वै शालिग्राम पाईने एउटा मात्रै नदी हो, मुक्तिनाथ, दामोदर कुण्ड, रिडी, मोदीवेणी, सेतीवेणी, देवघाट, त्रिवेणीधाम जस्ता पवित्र तिर्थस्थल छन्, यो कालिगण्की नदीमा मात्रै छन् अन्य नदीहरुमा यति धेरै तिर्थस्थल छैनन्,’ उनले भने,‘यो गण्डकी प्रदेशको सभ्यता पनि हो, सात वटा गण्डकीमध्ये कालिगण्की मुख्य नदी हो । पुलत्स्य पुलह ऋषिहरुले तपस्या गरेको तपोभूमी र सृष्टिको सुरुवात नै यहीबाट भएको हो । ब्रह्मा विष्णुले यही भूमीमा तपस्या गरेर सृष्टिको सुरुवात गरेको ठाउँ हो ।’ 

    शालिग्राम शिला धार्मिक मात्रै नभई वैज्ञानिक कारणले पनि महत्वपूर्ण रहेको पुष्टी भएको र त्यो बन्नका लागि लाखौं वर्ष लाग्ने भएकाले संरक्षण जरुरी रहेको उनको भनाई छ । कालिगण्डकीमा गिटी बालुवा झिकेर मात्र होईन त्यहाँ फोहोर गरेर पनि यसको सभ्यता नास गर्ने काम भैरहेको उनको भनाई छ । ‘सरकारले कालिगण्डकीमा गिटी बालुवा झिक्न दिएको छ, यो क्रसर व्यवसायी भन्दा पनि सरकारको गल्ती हो,’ उनी भन्छन्,‘गिटी बालुवाका कारण मात्रै होईन, फोहोर फाल्न ढल नालीको पानी मिसाउने गरेका कारण पनि कालिगण्डकी माथि दोहन भैरहेको छ ।’

    कालिगण्डकीको सभ्यता र संस्कृतिको संरक्षणका लागि सबैले भूमिका खेल्नुपर्ने उनको बुझाई छ । 

  • सम्बन्धित विषय:

  • # गण्डकी सभ्यता
  • # नदि दोहन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार