बुर्तिबाङ : ढोरपाटन नगरपालिका वडा नम्बर ५ मस्तिका एक परिवारलाई युवाहरुको सक्रियतामा ४ लाख ७२ हजार रुपैयाँ सहयोग रकम हस्तान्त्रण गरिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्ष पहिले कतार पुगेका मस्तिका विर बहादुर कुवँर विरामी परेसँगै गत एक वर्षदेखि अस्पतालको
आइसियुमा उपचाररत रहेका छन् । घरमा कमाउने व्यक्ति अस्पतालमा वर्ष दिनदेखि मृत्युसँग लडिरहे छन् । यस उनकी श्रीमती लाली कुवँर समेत लामो समयदेखि बिरामी छिन् । दुवै मृगौलामा पत्थरी परेपछि निरन्तर उपचार गराइरहेकी कुवँरलाई दुई बालबच्चा र सासु आमाको रेखदेख, हेरचाह र आर्थिक व्यवस्थापनमा समस्या
भएको थियो । कुँवर परिवारमा त्यस्तो समस्या देखिएपछि सामाजिक अभियान्ता हाल कोरीयामा रहेका खडक कुवँर र कमल कुवँरको सक्रियतामा संकलित ३ लाख ५६ हजार २ सय ९ रुपैयाँ र डिएक्सन राइजिङ सनज बचतद्धारा १ लाख १६ हजार ८० रुपैयाँ गरी ४ लाख ७२ हजार २८९ रुपैयाँ
परिवारलाई उपलब्ध गराइएको हो । उक्त रकम मध्ये १ लाख १६ हजार ८० रुपैयाँ नगद हस्तान्त्रण गरिएको र बाँकी रकम बालबालिकाको पढाइका लागि उनीहरुको नाममा नेपाल बैँकमा खाता सञ्चालन गरी बचत गरी दिने निर्णय गरिएको बताइएको छ । रकम हस्तान्त्रण गर्दै सामाजिक अभियान्ता एवम नेपाली
काँग्रेस क्षेत्र नम्बर २ बागलुङका सभापती दोर्णकुमार कुवँरले पीडित परिवारलाई उपलब्ध गराइएको राहतले औषधी उपचारदेखि बालबच्चाको पढाइमा खर्च गर्ने गरी व्यवस्थापनको जिम्मा दिइएको बताए । कार्यक्रममा इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँरले दुःखमा परेको
परिवारलाई वैदेशिक रोजगारीको सिलसिलामा रहँदा पनि आर्थिक संकलन गरेर सहयोग पठाउने दाताहरुलाई धन्यबाद दिँदै वीरको स्वास्थ्य लाभको कामना गरे । कार्यक्रममा स्थानीय सोनु कुवँर, समाजसेवी केशव थापा ,दिपक गौतम लगाएतको उपश्थिती रहेको थियो ।