बागलुङ : अभाव दबाब र प्रभावका कारण विभीन्न हिंसाका घटनामा उजुरी नपर्ने गरेको बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक बागलुङले आईतबार आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०२१ को पूर्व समीक्षा कार्यक्रममा सहभागीले अझै पनि समाजमा हुने हिंसाको ठूलो हिस्सा न्यायिक निकायसम्म आई नपुग्ने गरेको बताए ।
गरिबी अशिक्षा र प्रलोभनका कारण यस खालको समस्या हुने गरेको उनीहरुको भनाई थियो ।
‘हाम्रो समाजमा हिंसाका घटनाहरु प्रसस्त हुने गरेका छन्,’ कार्यक्रममा सहभागीले भने,‘तर ती सबै घटनाहरु सार्वजनिक रुपमा आउँदैनन् । विभीन्न कारणले गर्दा हिंसालाई सहेर बस्ने चलन अझै पनि छ ।’
गतवर्षको तुलनामा यो वर्ष बागलुङमा विभीन्न मानव अधिकार उल्लङ्घनका घटनाहरु घटेको देखिएको छ । सन् २०१९ मा १११ वटा विभीन्न मानव अधिकार उल्लङ्घनका घटना भएको देखिएकोमा यो वर्ष जम्मा ६६ वटा मात्रै घटना दर्ता भएको ईन्सेक बागलुङ प्रतिनिधि सिर्जना पन्तले बताईन् ।
‘गतवर्षको तुलनामा यो वर्ष निकै कम घटनाहरु दर्ता भएका छन्,’ उनले भनिन्,‘यो वर्ष घटना कम भएको त होईन दर्ता हुन कम आएका हुन् भन्ने लागेको छ । कोरोना महामारीका कारण लक डाउन भएका कतिपय महिनामा कुनै पनि घटना दर्ता भएका छैनन् ।’
उनले लक डाउनको समयमा सबै भन्दा बढि घटनाहरु भएको अनुमान गरिए पनि आधिकारिक निकायसम्म दर्ता नहुँदा यसै भन्न नसकिने बताईन् । यो वर्ष जिल्ला प्रहरी कार्यालय बागलुङमा दर्ता भएका ६६ मुद्दामध्ये ६ वटा बालअधिकार सम्बन्धी रहेका छन् ।
बालअधिकार सम्बन्धी पनि चार वटा बलत्कार तथा यौन दुव्यवहार एउटा बालविवाह र एउटा अपहरण तथा शरिर बन्धक सम्बन्धी मुद्दा दर्ता भएको उल्लेख गरिएको छ । महिला विरुद्ध हुने हिंसाका ४३ घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
तीनीहरुमध्ये २६ घटना मिलापत्र भएका छन् । ९ वटा मुद्दा अदालतमा पुगेको छ भने ८ मुद्दा प्रक्रियामा रहेको छ । यी कुनै पनि मुद्दामा फैसला भैनसकेको ईन्सेक बागलुङले जनाएको छ ।
यो वर्ष चार वटा बलत्कारका मुद्दा दर्ता भएकोमा एउटा मुद्दा वैवाहिक बलत्कार पनि रहेको छ । दुई वटा बलत्कार प्रयासका मुद्दा र चार वटा बहुविवाहका घटना दर्ता भएका छन् ।
श्रीमतीबाट श्रीमानको हत्या भएको एक, विद्यालयत तोडफोडको १, राजनीतिक अधिकार सम्बन्धी ४ मुद्दा र एउटा मुद्दा साईवर अपराध सम्बन्धी गाली बेईज्जतीको मुद्दा परेको ईन्सेकको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमाथि छलफल कार्यक्रममा बोल्दै संघीय सांसद मनकुमारी केसीले ईन्सेकले तयार पार्ने प्रतिवेदन र पुस्तकहरु निकै उपयोगी हुने गरेको बताईन् । ‘हामी निर्वाचित भएर गएपछि निकै धेरै कानुनहरु बनाउनुपर्ने थियो,’ केसीले भनिन्,‘ईन्सेकले निकालेको प्रतिवेदन र पुस्तकले पनि हामीलाई कस्तो खालको कानुन बनाउनुपर्छ भन्ने विषयमा अध्ययनको सहयोगी सामग्री बन्यो ।’
उनले अधिकारका लागि विभीन्न कानुनहरु निर्माण भएर आए पनि त्यसको कार्यान्वयनका लागि सरोकारवाला सबै निकाय सजग र सचेत बन्नुपर्ने बताईन् ।
‘जनताको प्रतिनिधिको रुपमा हामीले कानुन निर्माण गरेका छौं,’ उनले भनिन्,‘त्यसको सही कार्यान्वयन हुन सके यस खालका अपराधिक र हिंसाका घटनाहरुमा कमी आउनेछन् । त्यसका लागि सबै पक्षले चनाखो साथ काम गर्नुपर्ने हुन्छ ।’ प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले मानव अधिकार बृहत विषय भएको बताए ।
‘मानव अधिकार भनेको बहृत विषय हो, यसको रक्षाका लागि धेरै कानुनहरु बनेका छन्,’ उनले भने,‘कतिपय कानुनहरुको दुरुपयोगले पनि समस्या सिर्जना गरेको छ । त्यसको विषयमा समीक्षा हुन जरुरी छ ।’
पछिल्लो समयमा आत्महत्या दुरुत्साहनको मुद्दामा कतिपय निर्दोषहरु पनि फस्ने गरेको उनको भनाई छ । ‘कसैले कागजको पानामा लेखेर आत्महत्या गर्दा वित्तिकै नाम उल्लेखमा पर्ने व्यक्तिले दुरुत्साहनको मुद्दा खेप्नुपर्ने बाध्यता छ,’ उनले भने,‘यो विषयलाई गम्भीरता पूर्वक लिएर संशोधन गर्नुपर्ने देखिन्छ ।’
उनले पीडितमैत्र कानुनको आवश्यकता समेत औंल्याए । ‘पीडकलाई जेल सजाय दिएर मात्रै पीडितलाई न्याय हुँदैन, पीडितलाई क्षतिपूर्ति पाउनेगरी पीडितमैत्री कानुनको खाँचो छ,’ न्यौपानेले भने ।
नेपाल कम्युनिष्ट पार्टी बागलुङका सचिव ज्ञामनाथ गैरे अनिलले अझै पनि भनसुनको आधारमा धेरै मुद्दाहरु दबाउने गरिएको बताए । ‘पावर र पहुँचका आधारमा धेरै घटनाहरु दबाउने काम अहिले पनि हुन्छ,’ उनले भने,‘यो विषयमा राज्यका निकायहरु बढि जिम्मेवार र जवाफदेही बन्नुपर्छ ।’ उनले स्थानीय तहहरुको न्यायिक समितिबाट पनि यस खालको तथ्याङ्क संकलन गरेर सही तथ्याङ प्रस्तुत गर्न ईन्सेकलाई आग्रह गरे ।
नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले पछिल्लो समय एउटा गरेका काम अर्को अस्वीकार गर्ने गलत चलन बसेको भन्दै सबैले सर्वस्वीकार्य हुनेगरी तथ्याङ्क प्रस्तुत गर्न आग्रह गरे ।
‘अहिले एक गरेको काम अर्को अस्वीकार गर्ने चलन छ, विभीन्न संघ संस्थाले ल्याएका प्रतिवेदन सरकारले अस्वीकार गरेको भनेर आउँछन्,’ उनले भने,‘यस खालका कामहरुलाई सबैले सर्वस्वीकार्य बनाउनका लागि बढि निस्पक्ष ढंगबाट काम हुनुपर्छ ।’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले शिक्षा र चेतनाको अभावले विभीन्न हिंसा र पीडामा परेकाहरुले आफ्ना कुरा बाहिर ल्याउन नसक्ने गरेको बताए ।
‘हामी सबै पीडितमैत्री बन्न सक्यौ भने मात्रै यस खालका घटनाहरु बाहिर आउँछन्,’ श्रेष्ठले भने,‘शिक्षा र चेतनाका अभावले गर्दा बाहिर ल्याउन डराउँछन् । जति समाजमा यी घटनाहरु दबिएर बस्छन् त्यति यसले समस्या निम्त्याउँछ ।’
अभाव, दबाब र प्रभावका कारण घटनाहरु प्रहरीसम्म नआउने गरेको उनको बुझाई छ । अन्तरपार्टी महिला सञ्जाल बागलुङकी अध्यक्ष कुशुम बुढाले अझै पनि ठूलो समूहले आफुमाथि परेको थिचोमिचोको बारेमा आवाज उठाउन नसक्ने अवस्थामा रहेकाले घटनाको जरैसम्म पुगेर खोज अनुसन्धान हुन जरुरी रहेको बताईन् ।
कार्यक्रममा सहकारी महासंघका केन्द्रीय सञ्चालक हुमाकुमारी जिसी अञ्जु, जिल्ला बाल संगठन बागलुङका सभापति रामबहादुर जिसी, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य भीमा अधिकारी, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरल, महिला अधिकारकर्मी लक्ष्मी जिसी कार्की, पत्रकार तारानाथ आचार्य लगायतले सुझा र आफ्नो धारणा राखेका थिए ।
उनीहरुले यस विषयमा छलफल चलाउँदा सम्बन्धित पीडितहरुसंगै छलफल गर्ने वाताबरण मिलाउन समेत आग्रह गरे । समाजमा महिलाहरुमा आर्थिक अधिकार स्थापित नभई सकेका कारण अहिले पनि महिलाहरु हिंसा र पीडा खेपेर बस्न बाध्य भएको उनीहरुको भनाई थियो ।
कार्यक्रमको सञ्चालन ईन्सेक बागलुङ प्रतिनिधि सिर्जना पन्तले गरेकी थिईन् ।