बागलुङ : गण्डकी प्रदेश सभाका सदस्य खिमविक्रम शाहीले सत्ताकब्जाको नियतले गर्दा देशमा समस्या सिर्जना भएको बताएका छन् ।
जिल्लाको निसीखोला गाउँपालिका—३ याङम्याङमा रहेको सूर्य प्राथमिक विद्यालयको ४१ औँ वाषिकोत्सव उद्घाटन गर्दै शाहीले प्रधानमन्त्रीले सत्ताकब्जा गर्ने नियत राखेर संसद विघटन गरेको आरोप लगाए ।
‘प्रधानमन्त्रीको कदम प्रतिगमनतर्फ उन्मुख छ,’ शाहीले भने,‘आफ्नो सत्ता ढल्ने भएपछि सत्ता कब्जाका लागि संसद विघटन गरिएको छ ।’
अहिलेको राजनितिक घटनाक्रमले विभिन्न विकास निमार्णका कामहरु प्रभावित बन्न सक्ने बताउँदै समग्र विकासको निम्ति सबै मिलेर लाग्नुको विकल्प रहेको बताए ।
कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौलेलले गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासको निम्ति हरदम प्रयासरत रहेको बताए ।
‘हामी पालिका भित्रको शैक्षिक तथा अन्य क्षेत्रको विकासका लागि हरदम लागिरहेका छौं,’ उनले भने,‘जनताको सबैभन्दा नजिकको सरकार भएका कारण नागरिकको अपेक्षा हामीसंग सबैभन्दा धेरै छ । हामी सकेसम्मको प्रयासमा छौं ।’
कार्यक्रम विद्यालय ब्यावस्थापन समिति अध्यक्ष भुमीराज खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालयका प्रधानाध्यापक निरज शाहीले आर्थिक वर्ष २०७६/७७ को प्रगति प्रतिवेदन प्रस्तुत गरे ।