बागलुङ : ढोरपाटनमा भालुको पित्तसहित एक जना पक्राउ परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ४ बाट भालुको पित्तसहित एक जना पक्राउ परेका हुन् ।
ढोरपाटन नगरपालिका वडा नम्बर ४ को हुन्द्रफेदीमा बस्दै आएका ४२ वर्षीय चित्र बहादुर शेरवुर्जालाई भालुको पित्तसहित प्रहरीले रंगेहात पक्राउ गरेको हो । सुराकीको आधारमा खानतलासी गर्दा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक विजय भण्डारीले बताए ।
दुर्लभ वन्यजन्तु भालुको पित्तको अवैध कारोबार भई रहेको भन्ने विशेष सुचना प्रहरीलाई प्राप्त भएको थियो । बुधबार साँझ ५ बजे प्रहरी हुन्द्रफेदी पुगेको र लुकाई राखेको भालुको पित्तसहित शेरवुर्जालाई पक्राउ गरिएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।
दुर्लभ वन्यजन्तु भालुको पित्त (करिव २५० ग्राम) सहित पक्राउ परेका शेरवुर्जालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको छ । आवश्यक अनुसन्धानका लागि जिल्ला ल्याइँदै गरेको भण्डारीको भनाई छ ।
याे पनि पढ्नुहाेस्
बागलुङ बजारमा ठाउँको ठाउँ सडकमै कोरोना परीक्षण
बागलुङमा सडकमै कोरोना परीक्षण गर्न थालिएको छ । बागलुङ नगरपालिका स्वास्थ्य शाखाले बागलुङ बजारको विभीन्न चोकहरुमा सडमकै कोरोनाको परीक्षण थालेको हो । निशेधाज्ञाको समयमा पनि मानिसहरु जथाभावी सडकमा निस्किने गरेको कारण सडकमै कोरोनाको
एन्टीजेन परीक्षण गर्न थालिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । बागलुङ नगरपालिकाले सोमबारबाट सडकमै कोरोना परीक्षण गर्न थालेको हो । ‘हामीले तीन दिनदेखि सडकमै कोरोनाको एन्टीजेन परीक्षण गर्न थालेका छौं,’ खनालले भने,‘पहिलो दिन ५० जनाको परीक्षण गर्दा
नारायणचोकमा एक जनामा पोजेटिभ देखिएको थियो । मंगलबार आर्मीक्याम्पस अगाडी उपल्लाचौर एटिएमचोकमा २५ जनामा परीक्षण गर्दा सबै नेगेटिभ देखियो ।’ बुधबार बागलुङ बजारको मुख्य चोक लोकतान्त्रिक चोकमा ९३ जनाको एन्टीजने परीक्षण गरिएको उनले बताए ।
‘९३ जनाको परीक्षण गर्दा सबैको नेगेटिभ देखियो, यसबाट बागलुङ बजार भित्रको कोरोना संक्रमणको स्टाटस पनि थाहा भयो,’ खनालले भने । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बागलुङको अनुरोध र नगरपालिका स्वास्थ्य शाखाको व्यवस्थापनमा प्रहरी प्रशासन र जनप्रतिनिधिको सहयोग लिएर एन्टीजेन
परीक्षण गराउने गरिएको उनले जानकारी दिए । ‘निशेधाज्ञाको समयमा पनि बाहिर हिँड्नेहरुको संख्यामा कमी आएन,’ उनले भने,‘सडकमै प्रहरी प्रशासनको सहयोग लिएर एन्टीजेन परीक्षण गरेपछि बजारको कोरोनाको समस्या बारेमा पनि थाहा भयो ।यसल अनावश्यक बाहिर नहिँड्नका लागि सचेत पनि गराएको छ ।’
मुख्य रुपमा कोरोनाबारे सचेतना जगाउनकै लागि सडकमै कोरोनाको एन्टीजेन परीक्षण थालिएको उनी बताउँछन् । ‘जथाभावी हिँड्नु हुँदैन भन्ने सन्देश प्रवाह गर्न र कोरोना बारेमा सचेतना जगाउनका लागि हामीले यो गरेका हौं,’ खनालले भने । अहिले दैनिक रुपमा विभीन्न चोकमा कोरोनाको एन्टीजेन
परीक्षण गर्ने कार्य भैरहेको उनले बताए । अनावश्यक रुपमा सडकमा हिँडिरहेकाहरुलाई प्रहरीको सहायताले रोकेर परीक्षण गर्ने गरिएको बागलुङ नगरपालिका—२ का वडा सदस्य अर्जुन घिमिरेले बताए । ‘यो चोकमा यतिबेला परीक्षण गर्ने भनेर हामीले सार्वजनिक गर्दैनौं,’ उनले भने,‘प्रहरीको सहायताबाट
जथाभावी हिँडेकालाई कुनै एउटा चोकमा रोकेर परीक्षण गर्ने गरेका छौं ।’ बागलुङ बजारमा अहिले पनि कोरोना लुकाउने समस्या रहेका कारण सडकमै परीक्षण गर्न थालिएको उनी बताउँछन् । ‘मलाई ठिक छ केही भएको छैन भन्ने लक्षणहरु देखिँदा पनि जथाभावी हिँड्ने समस्या छ,’ उनले भने,
‘अन्तिम समयमा आउने र निकै गम्भीर भएपछि परीक्षण गराउँदा मृत्यु हुने गरेको बढि छ । त्यसले गर्दा पनि छड्के परीक्षण गर्नु परेको छ ।’ कोरोना संक्रमण देखियो भने छिमेकीले हेयको दृष्टिले हेर्छन् भन्ने मानिसकताले गर्दा पनि परीक्षण नगराउने गरेको पाईएको उनले बताए ।
‘केही गरी पोजेटिभ देखियो भने वरीपरीका छिमेकीले के भन्लान भनेर भनेर पनि परीक्षण गराउँदैनन् । पोजेटिभ देखियो भने पसल बन्द गर्नुपर्छ भन्ने खालको सोचाईले पनि परीक्षण गराउँदैनन,’ उनले भने ।