बागलुङ : विगत एक दशक यता कालीगण्डकी नदिमाथि चरम दोहन भैरहेको छ । सरकारको नियम कानुन अनुसार क्रसर उद्योग दर्ता भएका छन् ।
तर सरकारी मापदण्डलाई ख्यालै नगरी मनपरी ढंगले गिटी बालुवा निकाल्ने काम भैरहेको छ । त्यति मात्रै होईन बर्खाको तीन महिनामा नदीबाट कुनै पनि नदीजन्य वस्तुहरुको उत्खनन् गर्न नमिल्ने कानुन हुँदा हुँदा पनि मध्येरातमा कालीगण्डकी नदीमाथि डोजर नचाउने काम चलिरहन्छ । कालीगण्डकी नदीमा भैरहेको अवैध दोहनका विषयमा सामाजिक सञ्जालमा विगतदेखि नै आवाज उठ्ने पनि गरेको छ ।
तर यसले दोहनकर्तालाई खासै असर परेको देखिन्न । कतिपयले सामाजिक सञ्जालमा लेखेको भरमै व्यक्तिगत लाभ लिएको भन्ने टिप्पणीहरु पनि आउने गरेका छन् ।
तर पछिल्लो समय भने कालीगण्डकी दोहन विरुद्ध युवाहरुको पंक्ती सिर्जनात्मक रुपमा लाग्न थालेका छन् ।
केही समयदेखि सामाजिक सञ्जालबाट रचनात्मक रुपमा कालीगण्डकी दोहन विरुद्ध खबरदारी गरिरहेका युवाहरुले यसलाई थप रचनात्मक र सिर्जना बनाउँदै लगेका छन् । पछिल्लो पटक ‘कालीगण्डकी बचाओं अभियान’ले कालीगण्डकी नदी संरक्षण अभियानलाई टेवा पुग्नेगरी कविता रचना गरी पठाउन स्रष्टाहरुलाई आह्वान गरेको छ ।
कालीगण्डकी नदीमाथि भैरहेको अवैध दोहन र यसले पारेको नकरात्मक प्रभावका विषयलाई लिएर सकरात्मक सन्देश प्रवाह गर्ने सिर्जनाहरु आह्वान गरिएको अभियानले जनाएको छ ।
कुनै वैज्ञानिक अध्ययन/अनुसन्धान बिना नै सुरु गरिएको प्रलयकारी कालीगण्डकी डाइभर्सन योजना र विगत केही दशकदेखि कालीगण्डकीको आँत र गर्वमा नै असर गर्ने गरी गरिएको गैरकानुनी दोहनले पारेको नकरात्मक प्रभावलाई नियन्त्रणका लागि कविता तथा सिर्जनाहरुको आह्वान गरिएको अभियन्ता आरके अदिप्त गिरीले बताए ।
काली नदीको अवैध दोहन भएको तथा नदी सभ्यता नै नामेट पार्न खोजिएको विरोधमा अहिले देशैभरिका कविहरुले कविता लेखेको अभियन्ता गिरीले बताए ।
‘कालगण्डकी बचाऔं अभियानलाई साझा अभियानको रुपमा अगाडि बढाउनका लागि हामीले सबै क्षेत्रलाई जोड्नका लागि हामीले कतिवा आह्वान गरेका छौं,’ उलने भने,‘कालीगण्डकी नदीको नखुलेका ऐतिहासिक र धार्मिक पाटोहरुको विषयमा रहेर नदी संरक्षण सम्बन्धी कविताहरुको माग गरेका हौं ।
अहिलेसम्म पाँच दर्जन बढि स्रष्टाहरुको कविता आईपुगेको छ ।’ संकलित कविताहरु नदी सप्तक नामक कविता संग्रह बनाएर प्रकाशन गर्ने लक्ष्य राखिएको उनको भनाई छ । यसलाई कालिगण्डकी बचाऔं अभियानको सामाजिक सञ्जालको अभियानमा पनि प्रयोग गरिनेछ ।
‘कालिगण्डकीको मर्म, आस्था र सभ्यतालाई जोगाउन, प्राकृतिक प्रणाली रक्षा गर्न र नदीलाई आफ्नै बाटोमा बग्न दिन अब कवि÷लेखकले आफ्नो कलममार्फत शासकलाई झक्झकाउनुपर्ने बेला आएको छ ।
प्राप्त कविता हाललाई डिजिटल कन्टेन(पोस्टर कविता)का रुपमा फेसबुकमा पोस्ट गरिने छ,’ अभियानले कविता आह्वान गर्दै लेखेको छ । कालीगण्डकीमाथि विभत्स दोहन चलाइएको र नदीको सभ्यता, पर्यावरण तथा जीविकामाथि गम्भीर संकट पर्ने काम गरिएकोमा अभियन्ताहरूले विगत केही महिनादेखि विरोधका विविध क्रार्यक्रम गरिरहेका छन् ।
savekaligandakiriver@gmail.com मा आफ्ना कविता पठाउन आह्वान गरिएको छ ।

मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, स्याङ्जा, पाल्पा, तनहूँ आदि हुँदै बग्ने कालीगण्डकी नदी नेपालको पुराना सभ्यता मध्येको एक सभ्यता बोकेको नदी भएको र कालीगण्डकी हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक, ज्ञान, भाषा, मूल्य, चलन, एकता, जिविका, सांस्कृतिक विस्तार, मनोरन्जन, सुखदुःखको साझेदार भएकाले यसलाई जोगाउनु सबैको दायित्व भएको अभियानल जानएको छ ।
कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र नभई आफैमा जागरण पनि भएकाले अभियानमा कवि स्रष्टाहरुलाई जोड्ने प्रयास गरिएको गिरीले बताए ।
‘कविता फगत कोरा शब्दहरूको सङ्गालो मात्रै होईन, कविता आफैंमा जागरण पनि हो । कविता आफैंमा विद्रोह पनि हो,’ उनले भने,‘कविता आफैंमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी, यी दुई नदीलाई जोड्ने प्रयत्न हामीले गरेका छौं ।’ कालीगण्डकीको महिमा सम्बन्धी गित पनि तयार हुँदै गरेको उनी बताउँछन् ।
कविहरु आफैमा प्रकृतिप्रेमी पनि हुने भएका कारण उनीहरुलाई पनि अभियानमा जोड्ने प्रयास थालिएको अर्का अभियन्ता भरत बागलुङे पौडेलले बताए ।
‘कविहरु आफैमा प्रकृतिप्रेमी हुन्छन्, उनीहरुको समाजमा छुट्टै खालको विशिष्ट पहिचान पनि हुन्छ,’ पौडेलले भने,‘यो हाम्रो अभियानमा कविहरुलाई जोड्दा अझ अभियान ओझिलो हुन्छ भन्ने पनि हो । यो साझा अभियान भएका कारण सबैलाई सहभागी बनाउनुपर्छ भन्ने पनि हो ।’ कोरोना कहर केही मत्थर भएपछि मुक्तिनाथदेखि नवलपुरसम्म पदयात्रा गर्ने ठाउँ ठाउँमा कार्यक्रम गर्दै कविताहरु वाचन गर्ने योजना रहेको समेत उनले बताए ।
अभियन्ता अभिवक्ता राम शर्माले शालिन र सिर्जनशील तवरले अभियानलाई अझ वजनदार बनाउनका लागि यो तरिका अपनाएको बताए ।
‘हामीले सामाजिक सञ्जालमा हामीले सिधै लेखेर त्यसको प्रभावकारीता अलि कम हुने रहेछ,’ उनले भने,‘त्यसलाई अझ सिर्जनात्मक बनाउन सकियो भने धेरैको साथ पाईन्छ भन्ने पछिल्लो समयमा देखिएको छ । त्यसैलाई अगाडि बढाउन यो कार्यक्रम ल्याईएको हो ।’ कालीगण्डकी दोहन नियन्त्रणका लागि वौद्धिक बहस चलाउने र लिगल्ली च्यालेञ्ज उनले बताए । ‘यो अभियानलाई अब राष्ट्रिय अभियानमा बनाउनुपर्छ भनेर हामीले रचनात्मक र कानुनी अभियान चलाउने निधो गरेका छौं, डाईभर्सनको विषयलाई पनि संगै
लिएर यो अभियानलाई पनि राष्ट्रिय अभियान बनाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ शर्माले भने ।
