‘पुन मगर जाति भित्रैकै थर हो, जनणनामा सबैले मगर जात र धर्म स्पष्ट लेखौं’

‘पुन मगर जाति भित्रैकै थर हो, जनणनामा सबैले मगर जात र धर्म स्पष्ट लेखौं’

  • आश्विन २३, २०७८ शनिवार
  • २१:०५:१९ बजे
  • 12.5K
    SHARES
  • ‘पुन मगर जाति भित्रैकै थर हो, जनणनामा सबैले मगर जात र धर्म स्पष्ट लेखौं’

    बागलुङ : नेपाल मगर संघले जनणना २०७८ मा आफ्नो मगर लेखाउन सबै मगर सम्बद्ध व्यक्तिहरुलाई आग्रह गरेको छ ।

    पुन समाजले केही समय अगाडि आफुहरु मगर भित्र नपर्ने भन्दै आफुहरुको जात नै पुन भएको भन्ने भ्रमहरु फैल्याएको भन्दै पुनहरु मगर भित्रकै थर भएकोले कोही पनि भ्रममा नपर्न आग्रह गरेको हो । नेपाल मगर संघले शनिबार बागलुङमा आयोजना गरेको छलफल कार्यक्रममा राज्यको नीति निर्माणमा जनगणनाले महत्वपूर्ण भूमिका राख्ने हुनाले मगर समुदायले कुनै भ्रममा नपरी आफ्नो जात धर्म स्पष्ट लेखाउने आग्रह गरेको हो ।

    कार्यक्रममा सहभागीले जनगणनामा जात मगर र धर्ममा बौद्ध वा प्रकृतिपूजक लेखाउन आग्रह गरेका छन् ।

    मगर समुदाय हिन्दु वर्णाश्रम बाहिर पर्ने भएकाले आफ्नो जातिय पहिचान झल्किने गरी जनगणनामा लेखाउन आग्रह गरे । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ननिव रोका मगरले जनगणनाले आगामी १० वर्षका लागि राज्यको नीति नियम बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाल मगर समुदायले आफ्नो जनसंख्या, धर्म र भाषालाई स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने बताए ।

    २०६८ को जनगणनामा नेपालका मगर समुदायको स्पष्ट तथ्याङ्क नआएको भन्दै नेपाल मगर संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र  पुन मगरले तथ्याङ्क स्पष्ट आओस् भन्नका लागि मगर समुदायमा सचेतना जगाउन आग्रह गरे ।

    कार्यक्रममा नेपाल मगर संघका गण्डकी प्रदेश इन्चार्ज खेम पुन, पुन समाजका केन्द्रीय सचिव लगायतले पुन मगर भित्रकै एक थर र उपथर भित्र पर्ने भएकाले पुनहरु पनि मगर नै भएको बताए । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार केवि रानामगर, बौद्ध सेवा समाजका अध्यक्ष सुबेदार श्यामबहादुर राना, पुन समाज बागलुङका अध्यष गमबहादुर पुन मगर, नेपाल मगर संघ बागलुङ नगर अध्यक्ष हिराबहादुर थापा मगर लगायतले बोलेका थिए ।

    नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापामगरको अध्यक्षतामा भएको कार्यक्रम स्वागत कुशुम बुढा र सञ्चालन सचिव श्यामबहादुर पुनले गरेका थिए ।

    छलफल कार्यक्रमबाट बागलुङमा पुन मगर र अन्य सबै मगरहरुले जनगणनामा जात मगर र धर्ममा बौद्ध वा प्रकृतिपुजक लेखाउने निश्कर्ष निकालेको छ । मगर एकतालाई खलबल्याउनका लागि अदृश्य शक्तिबाट केही मगरहरु परिचालित भएको भन्दै त्यस खालको भ्रममको पछि नलाग्ने र जनगणनामा मगरको स्पष्ट जात र धर्म उल्लेख गर्ने निर्णय भएको छ ।

    बाह्य तत्वको बहकावमा लागेर फैल्याईएको भ्रम चिर्ने निर्णय समेत गरिएको नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापामगरले बताए । 

     

  • सम्बन्धित विषय:

  • # पुन मगर
  • # जनणना
  • # मगर जात
  • # धर्म

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार