बागलुङ : बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ मालारानीका दिलबहादुर थापाको कुखुरा फर्ममा विहिबार झिस्मिसेमा एक पोथी चितुवा पस्यो । चितुवाले खोरमा भएका एक सय बोइलर कुखुरामध्ये कोही खायो, कोहीलाई मार्यो । कुखुरा नष्ट गरेपछि स्थानीयले चितुवालाई समातेर वनमा छाडेका छन् । खोरको जाली च्यातेर भित्र छिरेको चितुवा विहान अबेरसम्म पनि बाहिर नगएपछि
स्थानीयले सवडिभिजन कार्यालयको प्राविधिक टोलीलाई खबर गरे । प्रहरी, वन कर्मचारी र स्थानीयको जमघट हुँदासम्म पनि चितुवा खोरभित्रै रह्यो । खोर अगाडिको फाँटका बारीमा अग्ला पाक्दैगरेको कोदो छ । खोरको ढोका खुल्ला गर्दासमेत चितुवा नभागेपछि स्थानीय, प्रहरी र वन कर्मचारीले टिन ठटाउने, ताल बनाउनेजस्ता गतिविधि गरेपछि चितुवा बाहिर निस्केर बाख्राको खोरतर्फ लागेको थियो । बाख्रा बचाउन
स्थानीयले चितुवा धमाउँदै जाँदैगर्दा चितुवा फेरि फर्कियो, स्थानीयको अगुवाईमा बडिगाड गाउँपालिका वडा नम्बर ८ निवासी राजन पाईजा थिए ।चितुवा फर्केर मान्छेतिर आएपछि राजन र चितुवाको जम्का भेटभयो । कराते खेलाडी पाईजाले भाग्यवस चितुवाको घाँटी र गर्धन समाते। चितुवाले आक्रमण गर्नुअघि नै पाइजाले त्यसलाई नियन्त्रण गर्न सफल भएपछि नजिकमा भएका सबैले चितुवालाई समाते ।
चितुवा नियन्त्रणमा लिनेबेला पाईजाको खुट्टामा सामान्य चोप लागेको छ । पछिल्लो खुट्टाको भागले कोतर्न भ्याए पनि अन्य कुनै ठाउँमा चोट नलागेको पाइजाले बताए । ‘भाग्यले ठूलो क्षति हुन पाएन’ उनले भने– ‘जीवनको अविस्मरणीय क्षण बन्यो ।’ गर्घनमा समात्ने अवसर नपाएको भए ठूलो क्षति हुने पाईजाको भनाई छ ।
‘मैले झ्याप्प समात्ने मेसो नपाएको भए त्यसले मलाई झम्टन्थ्यो’ पाइजाले भने–‘समातेर लडाएपछि सबैजना आएर कक्र्रक्कै बनायौँ । नियन्त्रणमा लिए पछि चार खुट्टा बाँधेर तुरतुरेस्थित देवीस्थान सामुदायिक वनमा लगेर छोडेको सव डिभिजन वन कार्यालयका रेन्जर दिपक श्रीसको भनाई छ ।