बुर्तिबाङ : तमानखोला गाउँपालिका वडा नम्बर ३ तमानमा रहेको तमान स्वास्थ्य चौकीमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्त्रणसँगै स्वास्थ्य सेवा थप गरिएको छ । फेयरमेड फाउन्डेशन नेपाल तथा बिवाईसी बागलुङको साझेदारीमा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजना र तमानखोला गाउँपालिकाको
लगानीमा स्वास्थ्य सेवा थप गरिएको हो । स्वास्थ्य संस्थामा ग्रामीण स्वास्थ्य सुधार परियोजनाले करिब ९ लाख रुपैयाँ लागतमा विभिन्न स्वास्थ्य सेवा थप गराएको छ । तमानखोला गाउँपालिका सँगको साझेदारीमा सञ्चालित कार्यक्रम अन्र्तगत वर्थिङ सेन्टर स्तरान्नतीको लागि वेवी वार्मर मशिन उपलब्ध गराइएको छ । त्यस्तै सुत्केरी हुन स्वास्थ्य संस्था आउने महिलाहरुका लागि आराम गर्ने र खाना पकाएर खान बस्न मिल्ने
सुविधासहितको प्रसुति प्रतिक्षा घर समेत निर्माण गरिएको छ । स्वास्थ्य सूचना दर्साउने वाल पेन्ट, फोहोर जलाउन मिल्ने डस्टविन निर्माण, बिरामी चेकजाँच कोठा, खानेपानी व्यवस्थापन समेत गरिएको परियोजनाका सुपर भाइजर रामेश्वर शाहले बताए । परियोजनाद्धारा किरी टोलमा गाउँघर खोप क्लीनिक पनि निर्माण गरिएको छ ।
दुर्गम गाउँका जनतालाई स्वास्थ्य क्षेत्रको पहुँचमा जोड्नका
लागि ग्रामीण स्वास्थ्य सुधार परियोजनाले निरन्तर काम गर्दै आइरहेको छ । परियोजनाले आमा तथा नवजात शिशुको स्वास्थ्य, अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य उपचार तथा सीपमुलक तालिम, आर्थिक उर्पाजन मुलक कार्यक्रम, सरसफाई तथा खानेपानी र उष्ण प्रदेशिक उपेक्षित रोगहरुको विषयमा कार्यक्रम गर्दै आइरहेको छ । स्थानीय तहसँगको सहकार्यमा सञ्चालित कार्यक्रम प्रभावकारी
हुनुका साथै ग्रामीण क्षेत्रका नागरिकले आफ्नै घर नजिकैको स्वास्थ्य संस्थाबाट सहजरुपमा स्वास्थ्य सेवा पाइरहेको तमानखोला वडा नम्बर ३ का अध्यक्ष गिरीबहादुर घर्तीले बताए । परियोजनाले ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपाकिला, गलकोट नगरपालिका, बरेङ गाउँपालिका अन्र्तगत रहेका स्वास्थ्य संस्थामा निरन्तर काम गर्दै आइरहेको छ ।
तमान स्वास्थ्य चौकीमा आइतबार आयोजित कार्यक्रम वडा अध्यक्ष गिरीबहादुर घर्तीको अध्यक्षता, ग्रामीण स्वास्थ्य सुधार परियोजनाका सुपर भाइजर रामेश्वर शाहको प्रमुख आतिथ्यता, शान्ती मगरको स्वागत, स्वास्थ्य चौकी इन्चार्ज मिन बहादुर पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।