बुर्तिबाङ : निसीखोला गाउँपालिका वडा नम्बर २ अर्नाकोट देउरालीका स्थानीयले निरन्तर खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँका करिब दुई सय पचास घरधुरी स्थानीयलाई सहज रुपमा खानेपानीको पहुँच नपुगेको अर्नाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक बेग बहादुर कुवँरले बताए । गाउँमा नजिकै प्रसस्त पानिको मुहान नहुँदा स्थानीयले वर्षौँदेखि खानेपानीको समस्या झल्दै आएको उनको भनाई छ ।
गाउँ नजिकै एउटा मात्र सानो मुहान थानीयले घण्टौँ लगाएर पानी भर्नु पर्ने अवस्था रहेको कुँवरले बताए । सिंगो गाउँनै खानेपानीको चरम अभावमा रहेको बताइएको छ । वर्षौँदेखिको स्थानीयको यो समस्या जहाँको त्यहीँ रहेको छ । ‘एक गाग्रोभन्दा बढि पानी भर्न पाइँदैन, खानेपानीको लागि नेवा संस्थाको सहयोगमा लामो समयसम्म आकासे पानी जम्मा पारेर घैँटे ट्याङकी मार्फत वर्षातको पानी संकलन आपूर्ति हुँदै आएको छ’ उनले भने ‘अर्नाकोटवासी अझै पनी खानेपानी सहज पहुँचभन्दा वाहिर रहेका छन् ।’
लामो समय घैँटे ट्याङ्कीको पानी प्रयोग गरेर वर्षातमा संकलन गरिएको पानी वर्षभरी नपुग्ने हुँदा घण्टौँ लगाएर टाढा पानी बोक्न जानु पर्ने अवस्था रहेको उनको भनाई छ । मानिस तथा पशुचौपाँयाका लागि निकै समस्या भएपछि निसीखोला गाउँपालिका र कर्मफलाईट्स फाउन्डेशनले सहजिकरण गरेर गत वर्ष लिफ्टिङ प्रणाली मार्फत गाउँदेखि करिब ७ किलोमिटर तल हाँडीचौर मुहनाबाट गाउँमा खानेपानी पुगेको थियो ।
‘एक वर्ष राम्रै चल्यो तर पछिल्लो समय लिफ्टिङले निकै सताउन थालेको छ, गत वर्षसम्म एक सय नब्बे घरधुरीले खानेपानी प्रयोग गरे पनि यस वर्ष झण्डै दुई सय पचास घरधुरी जनताले उक्त पानी प्रयोग गर्छन्’ कुँवरले भने ‘एकातिर उपभोत्ता बद्दै जानु अर्का तर्फ मेशिनरी सामग्रीको क्षमता कम हुन थालेको छ, मेशिनरी सामग्री निरन्तर बिग्रनु र विद्युतको नियमित आपुर्ति नहुने जस्ता समस्याका कारण स्थानीयले दैनिक एक गाग्रो भन्दा बढि
पानी भर्ननै पाउँदैनन् ।’ लिफ्टिङ प्रणालीमा लगानी राम्रै भए पनि लामो समय सम्म खानेपानी आपुर्ति गर्न धेरै झण्जटिलो हुने भएका कारण स्थानीय खानेपानीको समस्यामा परेको बताइएको छ । मेशिनरी सामग्री निरन्तर बिग्रिरहँदा मर्मत गर्ने कर्मचारीको अभाव छ । मेशिनको पानी तान्ने क्षमता कमजोर हुँदै गएको उनको भनाई छ । ‘हाम्रो गाउँमा पहिल्यैदेखि खानेपानीको समस्या छ, धेरै संघसंस्थाले सहयोग त गर्नुभयो
तर दीर्घकालीन भएन विहानभरी पानी बोक्दैमा बित्छ घरको काम पनी गर्ने प¥यो पानीकै समस्याले पशुचौपाया पाल्न समेत हम्मे हम्मे पर्न थालेको छ’ ७५ वर्षीया छलविरा रसाईलीले भनिन् ‘पानी नभए नत सरसफाई हुँदो रहेछ नत कृषि, पशुपालन हामीलाई अरु विकासका सुविधा थपिँदै गएपनी खानेपानीमा निकै सास्ती छ ।’