काठमाडौं : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ ।
त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ उनले भनिन्, ‘ निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’ बैठकले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।
सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक
सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो । ‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत
लेखी पठाउन सिफारिस गर्ने’ बैठकको निर्णयमा भनिएको छ । बैठकले सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ । नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ । आइतबार नै सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।
होटल र सिनेमा हल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । उनका अनुसार सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि प्रवेश गर्दा
अनिवार्य रुपमा कोभिडविरुद्धको क्याक्सिन कार्ड ९मोबाइलमा फोटो भए पनि हुने साथमा राख्ने र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्णय भएको छ ।