थीरबम मल्ल

राजाका छोरा ‘थीरबम मल्ल’कसरी बने २००७ सालको क्रान्तिको पहिलो सहीद ?

राजाका छोरा ‘थीरबम मल्ल’कसरी बने २००७ सालको क्रान्तिको पहिलो सहीद ?

थीरबमले पूर्वी कमाण्ड सम्हाले । उनको कमाण्डको टोली वीरगञ्ज विजय गर्ने लक्ष्य सहित युद्ध मोर्चाका खटियो । अरु दुई टोली भैरहवा र विराटनगर प्रस्थान ग-यो ।
  • माघ १६, २०७८ आइतवार
  • १८:२२:५० बजे
  • 6.1K
    SHARES
  • राजाका छोरा ‘थीरबम मल्ल’कसरी बने २००७ सालको क्रान्तिको पहिलो सहीद ?

    बागलुङ : त्यो बेला पर्वत राज्य चौबिसे राज्यहरुमा सबैभन्दा शक्तिशाली राज्य थियो । विक्रम संवत १६३१ मा नारायण मल्लको जेठो छोरा जितारी बम मल्लले अंशको रुपमा गलकोट राज्य पाए ।

    नारायण मल्लका तीन छोरामध्ये महिलाले लमजुङ र कान्छाले पर्वत राज्य अंश पाएका थिए । पृथ्वीनारायण शाहको राज्य विस्तारको क्रममा बहादुर शाहले विक्रम संवत १८४२/४३ तिर गलकोट राज्यलाई गाभेका थिए । शाह वंशले आफुलाई बडा महाराजधिराज लेख्नका लागि जितेका राज्यहरुमा पनि राजा कायमै राखे । त्यसपछि गलकोटे मल्ल राजाको सन्तानहरुको राणा परिवारसंग हिमचिम बढ्नुका साथै विहेवारी समेत भए ।

    पर्वत राज्यबाट अंश लिएर गलकोट पुगेका उनै जितारी मल्लका सन्तानमध्ये गलकोटका १५ औं राजा थिए, भरत बम मल्ल ।

    भरत बम मल्लका माहिलो सन्तानको रुप्मा सहीद थीरबम मल्लको विक्रम संवत १९८१ भदौ ३१ जन्म भयो । उनी गलकोटमा जन्मे पनि काठमाडौंमा हुर्किएका थिए । राजा भरत बमले राणाको छोरीसंग बिहे गरेका थिए । राणाहरुसंग पारिवारिक सम्बन्ध भएका कारण थीरबम मल्लले काठमाडौंको त्रिचन्द्र कलेजमा अध्ययन गर्ने मौका पाए । त्रिचन्द्र कलेजबाट आईएस्सीसम्मको अध्ययन गरेपछि उनी सैन्य शिक्षाका लागि भारतको देहरादुन पुगे ।

    त्यो बेला राणाका छोराहरुसंगै सरकारले रोजेका व्यक्तिहरुलाई  सैन्य अधिकृतको तालिमका लागि भारत पठाउने चलन थियो । सानैदेखि निर्भिक निडर र न्यायप्रेमी थीरमब आफ्नै खर्चमा सैन्य शिक्षा लिन भारतको शैनिक शिक्षालय देहरादुन पुगे । 

    नेपालमा जंगबहादुर राणाले सुरु गरेको राणा शासनको अत्याचार चरम सिमामा पुग्दै थियो । राणा शासनको विरोधमा विद्रोह गर्नेहरु क्याप्टेन लखन थापादेखि गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दरशथ चन्द, शुक्रराज शास्त्री लगायतले देशको लागि ज्यानको आहुति दिईसकेका थिए । देशलाई राणा शासनबाट मुक्ति दिलाउन वीपी कोईराला, सुवर्ण शमसेर, मातृका कोईराला लगायतले भारतमा बसेर राजनीतिक मोर्चाबन्दी कस्दै अगाडि बढे । सुवर्ण शमसेर थीरबम मल्लको आफ्नै सहोदर मामा थिए । राणा शासन विरुद्धको युद्ध जित्नका लागि आर्थिक जोहो गर्ने जिम्मा उनै सुवर्णको थियो । 

    तिक्ष्ण दिमागका थीरबम भारतमा सैन्य अधिकृतको तालिम सकेर नेपाल फर्कने तयारीमा थिए ।

    उनको अलौकिक सैन्य क्षमता देखेर भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले आफ्नो एडिसी (व्यक्तिगत सुरक्षा अधिकारी) राख्न चाहेका थिए । यता राजा भरत बमले जे गर्नुछ देशमै गर्नु भनेर पत्र लेखेपछि उनी भारतीय सैनिकमा भर्ती नभएर नेपाल फर्कन तयारीमा लागे । त्यही मौकामा नेपाली काँग्रेसले जहानियाँ राणा शासन विरुद्ध सशस्त्र क्रान्तिको घोषणा ग¥यो । यही समयमा उनी मामा सुवर्ण शमसेरको सम्पर्कबाट नेपाल नफर्किइ कलकत्ता पुगे । 

    भारतीय सैनिक शिक्षालयमा रहेर सेकेन्ड लेफ्टिनेन्टको तालिम पुरा गरेका थीरबम नेपाली काँग्रेसको मुक्ति सेनामा सामेल भए ।

    नेपाली काँग्रेसको मुक्ति सेनाले विक्रम संवत २००७ साल कात्तिक २१ गतेबाट सशस्त्र क्रान्ति थाल्यो । थीरबमका मामा सुवर्ण शमसेर काँग्रेसको शिर्ष तीन नेतामध्ये एक थिए । सैन्य अधिकृतको तालिम लिएका थीरबम मुक्ति सेनाको मुख्य कमाण्डरमध्ये एक बने । भारतमै बसेर काँग्रेसले क्रान्तिको घोषणा र तयारी गरेका थियो । थीरबम मल्ल सशस्त्र क्रान्तिका लागि देहरादुनबाट कोलकता पुगे । हातहतियारको बन्दोबस्ती र युद्धको तयारीपछि नेपालको तीन ठूला शहरमा मुक्ति सेनाले एकै पटक आक्रमण गर्ने तयारी ग-यो । 

    थीरबमले पूर्वी कमाण्ड सम्हाले । उनको कमाण्डको टोली वीरगञ्ज विजय गर्ने लक्ष्य सहित युद्ध मोर्चाका खटियो । अरु दुई टोली भैरहवा र विराटनगर प्रस्थान ग-यो ।

    मुक्ति सेनाले यी तीन वटै शहरमा रहेका सरकारी अड्डामा २००७ साल कात्तिक २६ गते भाईटिकाको दिन मुक्ति सेनाले वीरजञ्ज कब्जा ग-यो । थीरबम कमाण्डको मुक्ति सेनाको टोलीले वीरगञ्ज कब्जा गर्दा बिराटनगर र भैरहवामा भने मुक्ति सेनाले हार व्यहो-यो । राणा विरुद्धको सशस्त्र संघर्षमा उत्रिएपछि काँग्रेस विरुद्ध राणाहरुले आम जनमानसमा अफवाह फैलाएका थिए । काँग्रेसले जनता मार्छ भन्ने भ्रम फैलाईएको थियो । 

    राणाहरुले काँग्रेसका विरुद्ध छरेको भ्रम चिर्न विजयी मोर्चालाई सम्बोधन गर्ने क्रममा राणा शासनका जासुसहरुले गोली थीरबमको हत्या गरे ।

    विजयी मोर्चालाई सम्बोधन गर्दै गर्दा उनको छातिमा गोली प्रहार भयो । छातिमा गोली लागेका उनलाई भारतको डङ्कन अस्पताल पु¥याउँन नपाउँदै बाटोमै थीरबमले सहादत प्राप्त गरे । विजयी मोर्चालाई सम्बोधन गर्ने क्रममा युद्ध अपराध गरेर राणाहरुले थीरबमको हत्या गरेको इतिहाँसका जानकारहरु बताउँछन् । राणा शासनविरुद्ध सशस्त्र क्रान्तिमा युद्ध मोर्चाको नेतृत्व गरेर वीरगति प्राप्त गरेका उनी पहिलो सहीद पनि हुन् । 

     मामा सुवर्ण शमसेर मार्फत वीपी कोईरालाको नजिक पुगेका थीरबम वीपीका व्रिश्वासपात्र थिए । राजपरिवारको सदस्य भएर पनि ऐस आरामपूर्ण जिन्दगी छाडेर उनले प्रजातन्त्र प्राप्तीका लागि आफ्नो जीवन बलिदान गरे । बालापनदेखि नै राजा भरत बम र मामा सुवर्ण शमसेरको प्रभावका कारण थीरबम मल्ल राणा शासनको विरुद्धमा विद्रोही बनेको उनका नाति मन्जेशबम मल्ल बताउँछन् ।

    ‘राजा नै भए पनि भरत बममा सामन्ती स्वभाव थिएन, मामा सुवर्ण शमसेरको प्रभाव पनि उहाँमा प-यो,’ उनी भन्छन्,‘मामा मार्फत काँग्रेसका शिर्ष नेताहरुको सम्पर्कमा पुगेपछि उहाँले आफुलाई जनक्रान्तिमा होम्नुभयो ।’

    मामा सुवर्ण शमसेरको मुख्य प्रभावले नै थीरबमलाई जनक्रान्तिमा होमिन प्रेरित गरेको इतिहासका अध्येता काजी गाउँले श्रेष्ठ बताउँछन् । ‘थीरबम जनताका छोरा थिएनन्, उनले जनताले पाएको जस्तो दुःख पनि पाएका थिएनन्,’श्रेष्ठ भन्छन्,‘मामा सुवर्ण शमसेरको राजनीतिक चेतले उनलाई पनि क्रान्तिमा होम्यो ।’ सहीत थीरबम मल्ल मेमोरियल फाउण्डेसनका अध्यक्ष समेत रहेका मञ्जेश बम मल्लका अनुसार राजा भरत बमका जेठा छोरा लक्ष्मण बमसमेत के.आई. सिंहको नेतृत्वमा भैरहवामा भएको युद्धमा सहभागी थिए । राजा भरत बम र उनको परिवारको प्रजातान्त्रिक आन्दोलनमा उल्लेख्य योगदान देखिन्छ । 

    सहीद थीरबमका पिता पनि प्रजातन्त्रप्रेमी थिए । राजा भरत बम मल्ल २०१५ सालको आम निर्वाचनमा ८६ नम्बर क्षेत्रबाट पहिलो जननिर्वाचित सांसद भएका थिए ।

    पहिलो जननिर्वाचित सरकारले राजा रजौटा उन्मुलन गर्ने निर्णय गर्दा त्यसको प्रस्वात राजा भरत बम मल्ले पेश गरेर आफुले खाईपाई आएको सुविधा त्यागेका थिए । प्रजातान्त्रिक आन्दोलनका मुख्य चार सहीदसंगै थीरबम मल्ललाई पनि पाँचौं सहीदको रुपमा विगतमा सम्मान गरिदै आईएको थियो । बहुदलको पुनस्थापनापछि सहीदको सम्मान घट्दै गएको छ । पछिल्लो समय राज्यस्तरबाट थीरबमको सम्झनामा कुनै पनि कार्य नभएको फाण्डेशनका अध्यक्ष मञ्जेशबम मल्ल बताउँछन् । 

    थीरबम मल्ललाई जीवन्त राख्नको लागि परिवारको तर्फबाट २०५३ सालमा फाउण्डेसन स्थापना गरिएको थियो । फाउण्डेसनले शिक्षा र खेलकुदको क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए ।

    ‘हामीले फाउण्डेसन मार्फत गलकोट नगरपालिका—५ हरिचौरको पृथ्वी माध्यमिक विद्यालय र वडा नम्बर ३ हटियाको गलकोट माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदानका लागि सहयोग गर्दै आएका छौं,’ उनले भने,‘हरेक वर्ष नेपाल ब्याडमिन्टन संघले ‘शहीद थीरबम मल्ल कप’ ब्याडमिन्टन प्रतियोगिता चलाउँदै आएको छ । त्यसका लागि पनि सहयोग गर्ने गरेका छौं तर अहिले कोभिडका कारण ती कार्यक्रमहरु हुन सकेका छैनन् ।’ 

    राजा भरतबम र रानी चैतन्य राजेश्वरीले आफ्नो छोरा थीरबमको स्मृतिमा २००९ सालमा स्थापना गरेको पुस्तकालय पनि हरिचौरमा छ ।

    द्वन्द्वकालको समयमा पुस्तकालय चल्न सकेन । ‘सहीत थीरबम पुस्तकालय’ अहिले जिर्णोद्वार गरेर राखिए पनि सञ्चालनमा नरहेको गलकोट नगरपालिका—५ का वडाध्यक्ष नारायणध्वज मल्लले बताए । काठमाडौंमा रहेको फाउण्डेसनले केही गतिविधि गरे पनि प्रजातान्त्रिक योद्धाको उचित सम्मान हुन नसक्ने दुःखद पक्ष रहेको छ । 

    सहीदहरुको सपना र बलिदानको उचित मुल्याङ्कन हुन नसकेको नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ बताउँछन् ।

    ‘थीरबम मल्लको बारेमा त बरु केही जानकारीहरु पढ्न पाईन्छ, सामान्य कहिलेकाँही भए पनि केही गतिविधिहरु हुन्छन्,’श्रेष्ठ भन्छन्,‘अन्य धेरै सहीदहरुको बारेमा त सुन्न पढ्न पनि पाइँदैन । यो सबैभन्दा दुःखद पक्ष हो ।’ राजनीतिक नेतृत्वमा अरु भए पनि जनक्रान्तिको सैन्य नेतृत्व गरेका थीरबमको योगदान उचित मुल्याङ्कन हुनुपर्ने उनको भनाई छ । ‘क्रान्ति नरोजी राणाहरुको पक्षमा लागेको भए थीरबमले राम्रै हैसियत पाउँथे, तर प्रजातन्त्रका लागि उनले आफुलाई कुर्वान गरे,’उनले भने । 

    वीरगञ्जमा राणा शासनको सबै अड्डा नियन्त्रणमा लिईसकेपछि राणाहरुको जासुसले युद्ध अपराध गरेर थीरबमको हत्या गरेको इतिहासका अध्येता तेजेन्द्र थापा बताउँछन् ।

    ‘लडाइँ सबै सकिएको थियो, थीरबमलाई युद्ध अपराध गरेर मारिएको हो,’उनी भन्छन् । मुक्ति सेनाले अन्य दुई ठाउँको युद्ध हार्दा पनि वीरगञ्जको जीतले २००७ साल फागुन ७ गने नेपालमा प्रजातन्त्र स्थापना गर्नमा ठूलो भूमिका खेलेको उनको भनाई छ । उनी भन्छन्,‘अहिले सहीदको कुनै मूल्य नै छैन, इतिहास प्रजातन्त्रप्रेमीले भने उनलाई प्रेरणाको रुमा लिईरहनेछन् ।’

     बागलुङ नगरपालिका—१ को सहीद पार्कमा थीरबम मल्लको पनि शालिक अन्य चार सहीदसंगै राखिएको छ । तर त्यसको उचित रेखदेख र मर्मत सम्भार हुन सकेको छैन ।

    गलकोट नगरपालिकाले पनि सहीद थीरबमको अर्धकदको शालिक निर्माण गर्ने तयारीमा रहेको गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरे बताउँछन् । ‘थीरबमको अर्थकदको शालिक बनाउन ६ लाख रुपैयाँ बजेट नगरसभााबाट विनीयोजन भएको छ,’ उनले भने,‘प्राविधिक विषयमा जानकारी लिने काम भैरहेको छ । हामीले यसैवर्ष अर्धकदको शालिक वडा नम्बर ३ मा स्थापना गर्छौं ।’

    उनले कुनै एउटा सडकको नाम सहीद थीरबमको नामबाट राख्ने योजना रहेको समेत सुनाए । 

  • सम्बन्धित विषय:

  • # थीरबम मल्ल
  • # २००७ साल
  • # क्रान्ति
  • # सहीद

  • संगम घर्तीमगर

    उहाँ बागलुङ पोस्ट डटकमका कार्यकारी सम्पादक हुनुहुन्छ ।

    सम्बन्धित समाचार