लखन थापाको शालिक स्थापना माग गर्दै नगरपालिकामा ज्ञापनपत्र

लखन थापाको शालिक स्थापना माग गर्दै नगरपालिकामा ज्ञापनपत्र

  • फाल्गुण ३, २०७८ मंगलवार
  • १७:३२:२३ बजे
  • 2.7K
    SHARES
  • लखन थापाको शालिक स्थापना माग गर्दै नगरपालिकामा ज्ञापनपत्र

    बागलुङ : नेपालका प्रथम सहिद लखन थापामगरको शालिक स्थापना गर्न माग गर्दै बागलुङ नगरपालिकामा ज्ञापनपत्र बुझाइएको छ ।

    नेपाल मगर संघ बागलुङ र यसका भातृ संस्थाहरुले १४५ औं लखन स्मृति दिवसको असवरमा बागलुङमा सहिद क्याप्टेन लखन थापामगरको शालिक स्थापना गर्न माग गर्दै बागलुङ नगरपालिका नगरप्रमुख जनकराज पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । तत्कालीन राणा शासनको विरुद्धमा जनस्तरबाट आवाज उठाएवापत जीवनको आहुति दिएका पहिलो सहिद लखन थापालाई चौतर्फी दबाबपछि सरकारले सहिद घोषणा गरे पनि सहिदको रुपमा सम्मान दिन नसकेको भन्दै बागलुङ नगरपालिकाले बागलुङमा उनको शालिक स्थापना गरेर सम्मान गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

     जंगबहादुर राणाको जहानियाँ शासन विरुद्ध विद्रोहको विगुल फुकेका लखन थापालाई विक्रम संवत १९३३ फाल्गुण २ गते गोरखाको बुङ्कोटमा राणा शासक जंगबहादुरको आदेशमा क्रूरतापूर्वक झुण्डाएर उनलाई मृत्युदण्ड दिइएको थियो ।

    उनी नेपालको प्रथम सहिद भए पनि विक्रम संवत २०५६ फाल्गुण ११ गते १२३ वर्षपछि जनस्तरबाट प्रथम सहिदको रुपमा घोषणा गरिएको थियो । त्यसपछि आदिवासी जनजाति र मगर संघ लगायतका जातीय संघ संस्थाहरुको निरन्तरको आन्दोलन र दबावपछि मात्र विक्रम संवत २०७२ असोज ३ गते नेपाल सरकारले आधिकारिक रुपमा सहिद घोषणा गरे पनि उनलाई त्यो खालको सम्मान हुन सकेको छैन ।

     नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेशबहादुर थापाले हस्ताक्षर गरी बुझाएको ज्ञापनपत्रमा नेपालको राजनीतिक परिवर्तन र प्रजातन्त्रको प्राप्तीका लागि पहिलो पटक विद्रोहको आवाज उठाएर नेपाली नागरिकलाई सचेत गराउँदै गर्दा आफ्नो जीवनको बलिदानी दिएर सहिद बनेका लखन थापामगरलाई राज्यले प्रथम सहिदको रुपमा गर्नुपर्ने सम्मान अहिलेसम्म पनि गर्न नसकेको उल्लेख छ ।

    हिजो एउटै परिवर्तनका लागि योगदान गर्दा आफ्नो आँखै अगाडि सहिद बनेकाहरुलाई भुलेर बेग्लै धुनमा राज्य सञ्चालकहरु रमाउनु दुर्भाग्यपूर्ण अवस्था रहेको भन्दै सहिद कुनै वर्ग, समुदाय वा जातिको नभई सिंगो राष्ट्रको भएको र राष्ट्रको समुन्नति र परिवर्तनका लागि जीवन बलिदान गरेका सहिदहरुलाई अहिले पनि राज्यले बेवास्ता गरेर कुनै जात, समुह वा क्षेत्र वर्गले स्मरण गर्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य होस् भन्ने आफूहरुको चाहाना रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

    सहिद घोषणा गरेर मात्र राज्यको दायित्व पूरा नहुने र सहिदको रुपमा दिनुपर्ने सम्मान पनि दिनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ । ‘बागलुङ नगरपालिका मगर समुदायको बढी जनघनत्व भएको ठाउँ हो । यो ठाउँमा प्रथम सहिद क्याप्टेन लखन थापामगरको शालिक राख्दा उनको पनि सम्मान हुने र यहाँको जनसमुदायले पनि अपनत्व लिने अवस्था हुन्छ,’ज्ञापनपत्रमा उल्लेख छ,‘बागलुङ बजारको लोकतान्त्रिक चोक वा सहिद स्मृतिपार्कमा प्रथम सहिद लखन थापामगरको शालिक स्थापना गरी उनलाई प्रथम सहिदको सम्मान दिन नगर प्रमुखज्यू र बागलुङ नगरपालिकालाई हार्दिक अनुरोध गर्दछौं ।’

     ज्ञापनपत्र बुझ्दै बागलुङ नगरप्रमुख जनकराज पौडेलले आफू यो विषयमा सकारात्मक भएको भन्दै आफुले सक्दो प्रयास गर्ने बताए । ‘केही प्रयासहरु हामीले विगतमा ग¥यौं तर ती प्रयासहरु विवादित भए,’ उनले भने,‘यो विषयलाई मैले गम्भीरतापूर्वक लिएर अगाडि बढाउने प्रयास गर्छु । सबैको सहयोगबाट अगाडि बढाउने हो ।’

    मगर संघ बागलुङका अध्यक्ष गणेशबहादुर थापा मगरले हस्तान्तरण गरेको ज्ञापनपत्र हस्तान्तरण कार्यक्रमको सञ्चालन नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सचिव मनिष थापाले गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # लखन थापा
  • # शालिक
  • # ज्ञापनपत्र

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार