बागलुङ : बागलुङको बडिगाडमा सुख्खा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ मा सडक खन्ने क्रममा माथिदेखि खसेको सुख्खा पहिरोले पुरिँदा स्थानीय ६० वर्षीय गोपीराम विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट पौडेलले जानकारी दिए । विक इदिखोला–गोठान मोटरबाटो उपभोक्त समितिका पूर्व अध्यक्ष समेत रहेको बताइएको छ । मंगलबार बिहान बडिगाड गाउँपालिका वडा नम्बर ७ को
इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो डोजरले खन्दै गइरहेको स्थलमा पुगेका विकको अचानाक माथिदेखि खसेको सुख्खा पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । पहिरोमा परि उक्त मोटरबाटो उपभोक्त समितिका अध्यक्ष ३४ वर्षीय दुर्गाबहादुर विक र स्थानीय ४० वर्षीय दिलबहादुर विक गम्भीर घाइते भएको वडा अध्यक्ष गुरुङले बताए । घाइते दुवै जनाको स्थानीय मेडिकलमा उपचार हुँदै गरेको उहाँको भनाई छ । उहाँले सडक माथिबाट अचानाक सुख्खा पहिरो खस्दा दुःखद घटना भएको बताए ।‘डोजरले अगाडी–अगाडीमोटरबाटो खनिरहेको रहेछ, उहाँहरु पछाडी उभिर हेरिराख्नु भएको रैछ, एक्कासी माथिदेखि
सुख्खा पहिरो एक जनालाई पुरेछ,’ अध्यक्ष गुरुङले भने ‘अन्य दुई जनलाई हात लगायतको शरीरको विभिन्न अंगहरुमा ठूलो चोट लागेको छ, अप्रत्यसित घटना भयो, पहिरो जाने जस्तो देखिदैन थियो, विहान यस्तो भयो ।’ इदिखोलादेखि गोठान जोड्ने मोटरबाटोसम्म निर्माणका लागि चालु आर्थिक वर्ष २०७८/०७९ मा बडिगाड गाउँपालिकाले विनियोजन गरेको १५ लाख रुपैयाँमा यस सडकको ट्रयाक खोल्न थालिएको गुरुङले बताए । उहाँले गोठान अन्तिम बस्ती भएको र त्यहाँसम्म सडक पु¥याउने योजना अनुरुप सडक निर्माणको काम थालिएको बताए ।
‘केही वर्ष अगाडीदेखिनै त्यहाँ सडक पु¥याउने गरि योजना अगाडी बढेको थियो, यो सडक निर्माणको काम केही वर्ष अगाडीदेखिनै सुरु भएको हो, यस वर्ष गोठानसम्म पु¥याएर सक्ने भन्ने थियो,’ अध्यक्ष गुरुङले भने ‘केही दिनमा सकिने गरि काम अगाडी बढेको थियो, गाउँमा सहज रुपमा यातायातको पहुँच पु¥याउने उद्देश्यले सडक निर्माण थालिएको थियो, आजको अप्रत्यासित घटनाले दुःखी बनायो ।’