बागलुङ : ४० औं मगर स्थापना दिवसको अवसर पारेर नेपाल मगर युवा संघ बागलुङले लखन कप भलिबल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताको बिहीबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले उद्घाटन गरेका छन् । १५ समुहको सहभागिता रहेको पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै खड्काले खेलकुदले स्वास्थ्यसंगै राष्ट्रको आर्थिक विकासमा पनि टेवा पुग्ने बताए ।
कोरोनका कारण लामो समय अवरुद्ध भएका खेल गतिविधिहरु अव विस्तारै बढ्न थालेको भन्दै उनले यसले खलाडि र समग्र खेल क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रममा नेपाल मगर संघ बागलुङ नगर समितिका अध्यक्ष हिराबहादुर थापाले पनि शुभकामना मन्तव्य राखेका थिए । नेपाल मगर युवा संघ बागलुङका अध्यक्ष गोपाल रोका मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत खेलकुद संयोजक किशोर थापा र सञ्चालन कार्यक्रम संयोजक मनहादुर पुनले गरेका थिए । प्रतियोगितामा १५ समुहको सहभागिता रहेको र प्रतियोगितात्मक कार्यक्रमहरु शुक्रबारदेखि सञ्चालन हुने कार्यक्रम संयोजक मनबहादुर पुनले बताए ।
उद्घाटन खेलमा मैत्रीपूर्ण रुपमा तरुणदल लेखानी र भिमापोखराबीच प्रतिस्पर्धा भएको छ । महिला समुहको भने नाम दर्ता जारी रहेको आयोजकले जनाएको छ । चार दिनसम्म चल्ने कार्यक्रममा भलिबल, सामूहिक लोकनृत्य, घैँटोफोर, छेलो, कूर्ची दौड लगायतका प्रतियोगितात्मक कार्यक्रम हुनेछन् । खुला वडास्तरीय भलिबलका विजेतालाई रु ८१ हजार १८१ र उपविजेतालाई रु। ४१ हजार १४१ पुरस्कार राशि राखिएको छ । खुला महिला भलिबल प्रतियोगिताका विजेताले तीस हजार र उपविजेताले रु १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।
विजयी समूहलाई नगदसहित कप, मेडल र प्रमाणपत्र उपलब्ध गराइने खेल संयोजक किशोर थापाले बताए । माध्यमिक विद्यालय स्तरीय सामूहिक लोकनृत्य प्रतियोगितामा पहिलो हुनेलाई दश हजार, दोस्रोलाई पाँच हजार र तेस्रोलाई २५ सय पुरस्कारको प्रबन्ध गरिएको छ । छेलो फाल्ने प्रतियोगिताका विजेतालाई पाँच हजार पुरस्कार दिइनेछ । प्रतियोगिता,कार्यक्रम सम्पन्न गर्न साढे पाँच लाखको खर्च अनुमान गरिएको आर्थिक संयोजक प्रकाश थापाले जानकारी दिए । देशविदेशमा रहेका शुभेच्छुक, व्यवसायी, सङ्घसंस्थालगायतबाट
सहयोग जुटाउने कार्य भैरहेको उनले जानकारी दिए । नेपालमा पहिलो पटक मगरहरु संगठित भएर आफ्नो हक अधिकारका लागि आवाज उठाएको दिन हरेक वर्ष फागुन १५ लाई मगर दिवसको रुपमा मनाउने गरिन्छ । विगतमा मगर दिवसको दिनमा मात्रै कार्यक्रम गर्दै आएकोमा यस वर्ष मगर युवा संघले दिवसलाई विशेष बनाउने चार दिने कार्यक्रम तय गरेको हो ।