बागलुङ : महिला पुरष बीचको असमानताको अन्त्यका लागि अझै पनि संघर्ष जरुरी रहेको बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् ।
११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिले बागलुङमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताले बोलीमा समान भए पनि व्यवहारमा समानता अझै नभएको बताए । मागेर अधिकार प्राप्त नहुने भएकाले त्यसको लागि संघष गर्न जरुरी रहेको उनीहरुको भनाई छ । गरिबी पनि महिला केन्द्रित भएकाले महिलाको आर्थिक स्थीति माथि नउठ्दासम्म विभेद नरोकिने कार्यक्रममा सहभागीको तर्क छ ।
‘नेपाल गरिब त यसै छ, त्यसैमाथि पनि महिला झन् गरिब छन्,’ उनीहरुले भने,‘महिलाहरुलाई आत्मनिर्भर बनाउन नसकेको खण्डमा जति धेरै समानताको कुरा भए पनि व्यवहारमा लागू हुन गाह्रो छ ।’
कार्यक्रममा बोल्दै संघीय सांसद मनकुमारी केसीले महिलाको अधिकारको रक्षा गर्न पुरुष पनि सचेत हुनुपर्ने बताईन् । ‘हाम्रो समाजको संस्कार संस्कृति र चालचलनले महिलाहरुलाई पछि पारेको छ,’ उनले भने,‘यसबाट महिलाहरुलाई समानताको आभास दिलाउनका लागि पुरुषहरु पनि साथ दिनुपर्छ ।’
उनले संविधान महिला अधिकार क्षेत्रमा प्रसस्त व्यवस्था भएको र त्यसको कार्यान्व्यनमा ध्यान दिनुपर्ने बताईन । ‘पूर्ण छ त भन्दिन तर पनि संविधानमा महिलाका धेरै अधिकारहरु लेखिएका छन्,’ उनी भन्छिन्,‘लेखिएर मात्रै हुँदैन त्यसको कार्यान्वयनका लागि सबैले भूमिका खेल्नुपर्छ ।’ कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य सावित्रा रानाले महिलालाई सक्षम बनाउका लागि सम्पत्ती माथिको स्वामित्व स्थापित हुनुपर्ने बताईन् ।
‘महिलाको सम्पत्ती माथिको स्वामित्व नहुँदासम्म उत्पीडन खेपिरहनुपर्छ,’ रानाले भनिन्,‘सम्पत्तीमा पहुँच बढाउनका लागि महिलाहरुलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिनुपर्छ ।’ कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले हरेक क्षेत्रमा महिलाको उपस्थीति बढे पनि पर्याप्त नभएको बताए । बागलुङ नगर प्रमुख जनकराज पौडेलले महिला आन्दोलनका उपलब्धीहरु संस्थागत गर्दै अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका सामाजिक विकास शाखा संयोजक गणेश थापा, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुसोत्तम सापकोटा, नेपाल महिला संघ बागलुङकी सचिव उषा पौडेल, अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सदस्य टिकाकुमारी विश्वकर्मा, अखिल नेपाल प्रगतिशील महिला संघकी मञ्जु क्षेत्री, एकिकृत समाजवादी महिला संघकी अध्यक्ष सिता थापा छन्त्याल, अनेमसंघ समाजवादीकी निमा गुरुङ, अनेमसंघकी केन्द्रीय सदस्य रुद्रा केसीले शुभकामना मन्तव्य राखेका थिए ।
अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समिति संयोजक लक्ष्मी बास्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङकी अध्यक्ष हुमाकुमारी जिसी अन्जु, मानव अधिकार संगठन बागलुङकी अध्यक्ष लक्ष्मी जिसी कार्की, महिला हित सहकारी संस्थाका अध्यक्ष लिलादेवी खड्का, पत्रकार कोपिला कँडेल लगायतले बोलेका थिए ।
सामाजिक विकास कार्यालय बागलुङका प्रमुख डम्बर जिसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन अन्तरपार्टी महिला समितिका अध्यक्ष कुशुम बुढाले गरेकी थिईन् । कार्यक्रममा सामी परियोजना संयोजक मिनबहादु केसीले परियोजनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रमपूर्व बालमन्दिर पसिरबाट निस्केका ¥यालीले बागलुङ बजार परिक्रमा गरेको थियो ।