रामशरण पोख्रेल
बागलुङ : श्री कृष्ण आधारभूत विद्यालय बानपा—५ मालिका, बान्द्रेको ६० औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
बार्सिकोत्सव कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका—५ का अध्यक्ष शिवप्रसाद सापकोटाले एक जना विद्यार्थी बराबर ५० हजार भन्दा बढी रकम राज्यले सरकारी विद्यालयमा लगानी गरेकाले त्यस अनुसारको प्रतिफल आउने गरी पठन पाठन हुनुपर्ने बताए ।
सामुदायिक विद्यालयका शिक्षकहरु तालिमप्राप्त भएकाले विद्यार्थी पनि सोही अनुसार उत्कृष्ट नतिजा ल्याउने बनाउनुपर्ने बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले आर्थिक वर्ष २०७६/०७७ को ३५ लाख ४४ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै प्रअ सापकोटाले विद्यालयले प्रविधिमुलक शिक्षा सञ्चालन गरी शैक्षिक गुणस्तरमा उल्लेखनीय प्रगति गरेको बताए ।
कार्यक्रममा बागलुङ नगर शिक्षा शाखाका गोकुल सापकोटा, विद्यालयका जग्गादाता प्रेम प्रसाद सपकोटा, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद सापकोटा, विद्यालय व्यवस्थापन समिती सदस्य कालिका सापकोटा, शिक्षाप्रेमी गोविन्द सापकोटा लगायतले बोलेका थिए ।
विद्यालयका शिक्षक घनश्याम रिजाल ले विद्यालयको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगतको तुलनामा सिकाई उपलब्धिमा वृद्धि भएको जानकारी गराए ।
सो अवसरमा विद्यालयमा रहेको अक्षय कोषको ब्याजबाट जेहेन्दार र गरिब गरी ३२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयमा नयाँ भर्ना हुन आउने २२ जना विद्यार्थीलाई स्पोर्ट्स ड्रेस वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षक खडानन्द सापकोटा र संचालन शिक्षक रेशम बहादुर केसीले गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिले विद्यालयका ११ जना शिक्षकलाई सम्मान समेत गरेको छ ।