बागलुङ : बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ५ की दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छिन् । पाँच दलीय गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाको दलित महिला सदस्यको उम्मेदवार मोतिकला विक निर्विरोध निर्वाचित भएको निसीखोला गाउँपालिकाका निर्वाचन अधिकृत गोविन्द गिरीले जानकारी दिए।
उहाँका अनुसार एमालेको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवार दिएकी रेनुमाया विकले उम्मेदवारी फिर्ता लिएपछि मोतिकला निर्विरोध निर्वाचित भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयलले उनलाई निर्वाचित घोषणा गरि सकेको छ । प्रमाण निर्वाचित भएको प्रमाण पत्र मत गणनापछि मात्रै प्रदान गरिने गिरीले बताए । निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धन, नेपाल कम्युनिस्ट पाटी
एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच चुनाव हुने भएको छ । गाउँपालिका अध्यक्षका लागि एक स्वतन्त्र उम्मेदवार समेत रहेका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सूर्यबहादुर घर्ती मगर, नेकपा माओवादी केन्द्रका प्रेम घर्ती मगर, राप्रपाबाट कृष्णबहादुर मल्ल र स्वतन्त्रबाट अञ्चल शाहीले उम्मेदवारी दिएका छन् ।