बागलुङ : सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधिस कल्याण श्रेष्ठले विद्यालय भवन राम्रो बनेर मात्र नहुने बताएका छन् ।
विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङले शुक्रबार उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले गुणस्तरीय शिक्षामा जोड दिए ।
शिक्षा प्रणाली उत्पादकत्व बढाउने खालको हुनुपर्ने उनको भनाई छ ।
‘सबैको सहयोगबाट अहिले यो विद्यालयको भवन निकै सुन्दर भएको छ,’ उनले भने,‘अब यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धामा उत्रन सक्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ । प्रणालीगत सुधार यहाँको प्रयासबाट सम्भव नहोला । तर बहस थाल्नुपर्छ ।’
विगतमा सामुदायिक विद्यालयहरुको सरकारीकरण भएसंगै स्थानीय र विद्यालयबीचको दुरी बढेको उनको भनाई छ ।
‘पहिले समुदायले विद्यालयको रेखदेख गर्थे, पछि सरकारीकरण गर्दा समुदायसंगको सम्बन्ध छुट्न पुग्यो,’ उनले भने,‘अहिले फेरि समुदायमा विद्यालय हस्तान्तरण गर्ने समुदायसंग विद्यालय जोड्ने काम भएको छ । समुदायसंग जोडिएका कारण नै विद्यामन्दिरको करोडौंको भवन निर्माण सम्पन्न हुन सक्यो ।’
उनले विद्यालयलाई राजनीतिक केन्द्र हुनबाट जोगाउनुपर्ने बताए ।
‘समुदाय र विद्यालयबीच अन्तर निर्भरता हुन्छ तर विद्यालयलाई राजनीतिक केन्द्र बनाउनु हुँदैन,’ उनले भने,‘उत्पादकत्व बढाउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विद्यालय नै पहिलो प्रयास गर्नुपर्छ ।’
नेपालमा शिक्षामा असार जति नेपालको र मंसिर जति अर्कैको हुने समस्या देखिएको उल्लेख गरे ।
‘नेपालको शिक्षाले यहाँको अर्थतन्त्रको विकास गर्न सकेको देखिन्न,’ उनी भन्छन्,‘हामीले लगानी गरेर पढेको शिक्षाले अर्कैलाई फाईदा गरेको छ । दुःख गर्ने असार जति हाम्रो र फल स्याहार्ने मंसिर अर्कैको हुने अवस्था छ ।’
उनले नेपालको घोकन्ते शिक्षाका कारण रचनात्मक क्षमता भएको जनशक्ति विकासमा बाधा सिर्जना गरेको समेत बताए ।
श्रेष्ठले धेरै पेसा मेसिन नियन्त्रीत हुने अवस्था आएको र मेसिन माथि राज गर्न सक्ने जनशक्ति नै अहिले विश्व बजारका लागि आवश्यक भएको उल्लेख गरे ।