बागलुङ : “म त सात वर्षदेखिनै गाईभैँसीको गोठालो गर्न थालेको हुँ, हाम्रो जमानामा पढ्ने लेख्ने चलनै थिएन, अहिले त, जन्मेको चार वर्ष नहुँदै पढ्न जान्छन्, पढ्ने, लेख्ने केटाकेटीले के गाई, भैँसी, भेडाबाख्राको गोठोले गर्थे ?, अब पछि–पछि त यो गाई भैँसी भन्ने चिज पनि पाइँदैन होला ।”
निसीखोला गाउँपालिका–६ भल्कोटका भाजवीर घर्ती मगर अहिले ७७ वर्ष हुनु भयो । दुर्गम गाउँमा निकै संघर्ष गर्नु प¥यो । आजभन्दा १५ वर्ष अगाडि निसीखोला क्षेत्र बागलुङ जिल्लाकै सभैबन्दा दुर्गम ठाउँ मानिन्थ्यो । उहाँले दशक अगाडि र अहिलेको अवस्थामा निकै परिवर्तन भएको अनुभूति गर्नु भएको छ । दूर गाउँमा परम्परागत शैलीमा पशुपालन गर्दै आउनु भएका घर्ती अहिले भएको विकास देखेर निकै दंग हुनुहुन्छ । तर पनि उहाँलाई अहिले पनि बैस जवानीका सम्झनाले झस्काइ रहन्छ । उति बेलाको चालचलन, अवस्था र जवानीमा लेकबेसी, मेलापात गरेको सम्झना अझै पनि उहाँको मन मस्तिस्कमा ताजै छ ।
“उ बेला ६ महिना लेक, ६ महिना बसी बस्ने गरिन्थ्यो, ३÷४ सय भेँडाबाख्रा हुन्थे, गोठभरी गाईभैँसी हुन्थे, भेँडाको बथानले पहाडै ढाक्थ्यो, अहिले ति भेँडाबाख्रा ढुल्ने लेक, सुनसान छन्, गाईभैँसी बाध्ने गोठ खाली छन्” घर्तीले विगतलाई स्मरण गर्दै भन्नुभयो “हामी लेकबेसी गर्ने गोरेटोमा अहिले घाँस पलायो, गीत गाउँने रमाइलो गर्ने उमेर पनि गयो, अहिले त बुढेसकाल लागेछ, पहिलेको जस्तो काम गर्ने आँट त आउँछ तर ज्यानले सक्दैन, ज्यानले नसकेपछि के लाग्दो रैछ र ?”
उमेरले बुढ्याउली लागे पनि गाउँले खानपानले गर्दा उहाँ अझै हट्टाकट्टानै हुनुहुन्छ । सामान्य रहनसहन बाँच्न रमाउने र आफ्नै समुदायको भाषा बोल्ने भाजवीर निकै हँसिलो हुनुहुन्छ । उहाँले जीवनका अधिकांश समय गाईभैसी र भेडाबाख्राको गोठालो गरेरै बिताउनुभयो । अहिले पनि उहाँ भेँडाबाख्रासँगै दिन बिताउने गर्नु हुन्छ तर पहिलेका जति पशुचौपाया अहिले छैनन् । रंग रमाईलो र खानपान गर्न निकै सोखिन उहाँ अहिले पनि पुराना गीतहरु गुनगुनाई रहनुहुन्छ । उहाँसँग जीवनमा भोगेका अनेकौँ अनुवभहरु छन् । उति बेला ताका भाजवीरले भोगेका कयौँ अनुभव अहिले आफैलाई नौलो लाग्छ ।
“१५ दिन पैदल हिँडेर खसौली बटौली (बुटवल) पुग्थ्यौँ, गाउँबाट घ्यु, सिमी बोकेर लान्थ्यौँ, उताबाट नुन चावल लिएर आउँथिउँ, अहिलेको जस्तो मोटर गाडी चल्दैनथे, गाडी देख्न पनि बटौली पुग्नु पथ्र्यो,” उहाँले विगत सम्झनु भयो “अहिलेत गाउँमा बिजुली बत्ति छ, उ बेला न बत्ति थ्यो, न यस्तो चिल्ला बाटा थे, अँध्यारोमा झाँङ (सुकेको निगाले), दियालो बालेर उज्यालो बनाउँथ्यौँ, र पनि त्यसबेला रमाइलै थियो, अहिले त सबै थोक आयो यसै पनि रमाइलो हुनेनै भयो ।”
१६ वर्षको उमेरमा बुटवल नुन लिन जाने क्रममा गाडी गुडेको र बिजुली बलेको देख्नु भएका घर्तीको अहिले घर अगाडि गाडीहरु गुड्छन् भने बिजुली बत्तिले गाउँनै उज्यालो बनाउँदा उहाँ निकै खुसी हुनुहुन्छ । “हाम्रो पालामा यस्तो सुविस्ता थिएन, मैले त बटौली नुन लिन जाँदाखेरी गाडी देखेको थिएँ, बिजुली बत्ती पनि उतिबेलै हो देखेको, अहिले बच्चाले जन्मिदा बित्तिकै बिजुली बलेको देख्न पाउँछ, अहिलेका पुस्ता साह्रै भाग्यमानी छन्, हाम्ले त आधा उमेर ढल्किँदा बल्ला देख्न पायौँ ।”
घर्तीले आफूले गाई गोठ, भैँसी गोठमा धेरै समय बिताएको भन्दै अबका पुस्ताले आफूहरुको पिडो नथाम्ने चिन्ता व्यक्त गर्नु हुन्छ । “गाइँभैँसी पाल्न त अहिलेबाटै छोडे, पछिल्लो पुस्ताले त झन् केको पाल्थे र, उनीहरुलाई गोठ गन्हाउँछ, गोबर गन्हाउँछ, हामी त यही गोबर गहुँतमै हुकिएको हो, म त मेरो शरिरमा तागत हुँदासम्म १२/१५ वटा भैँसी त पाल्छु” घर्तीले भन्नुभयो ।
उहाँले आफ्नो जवानीको रमाइलो कुरा समेत सुनाउनुभयो । “हाम्रो बैसमा त गोठमा बस्ने, धेरै गाईभैसी पाल्ने, ठूला–ठूला बठेकीमा मही बार्ने, साँझ परेपछि भाँङ बालेर तरुनीहरुसँग गीत गाउँन जान्थ्यौँ, रोधी बसिन्थ्यो, अब ती दिन त कहिले आउलान् र ?, अहिले त त्यो सबै हराउँदै गयो,” उहाँले विगतलाई स्मरण गर्दै भन्नुभयो “कस्ता थिए ति दिन, अहिले त आफू पनि बुढो भैयो, उतिबेलाका दाँवली पनि अहिले कता–कता छन् ?, कही बिती सके, अहिले त त्यही पुरानो कुरा सम्झेर चित्त बुझाउन बाहेक केही गर्न सकिदैँन ।”
उहाँले जिल्ला सदरमुकाम बागलुङ बजार आउजाउ गर्न दुई साता लागेको सुनाउँदै तत्कालीन समयमा पश्चिम बागलुङका जनताले निकै दुख पाएको सुनाउनुहुन्छ । “कागज पत्रको काम गर्न बागलुङ जानुपथ्र्यो, उतिबेला गाडीको बाटो आएकै थिएन, हिड्दै जानु पथ्र्यो, यहाँबाट हिँडेर बागलुङ पुग्दा ७ दिन, फर्किँदा सात दिन लाग्थ्यो, बाटोमा चोर लाग्ने गर्ने, निकै डर पनि हुन्थ्यो, आमाइमाई केटाकेटीलाई झन् धेरै समस्या हुन्थ्यो,” घर्तीले भन्नुभयो “अहिले त विहान सररर गाडीमा गइन्छ उस्तै पर्ने हो भने साझँ आँटो खान घरै आइन्छ, यस्तो सुविस्ता होला भन्ने त कस्ले सोचेको थियो होला र ?”
करिब ढेड दशक अगाडिसम्म निसीखोलामा मोटरबाटोले जोडिएको थिएन । जब राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडियो, त्यसपछि निसी क्षेत्रमा विकासका ढोकाहरु खुलेका थिए । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पर्न १४२ किलोमिटर सडक करिब ४५ किलोमिटर निसीखोलामै पर्छ । त्यसले गर्दा पनि निसीखोलााई यस सडकले विकाससँग जोडेको छ । रासस