ढाेरपाटान : पाँच वर्ष अगाडि काठेखोला गाउँपालिका–७ रेशमा बसाइँसराइका कारण पाखोबारी र खेतयोग्य जमिन बनमाराले ढोकेका थियो । तर अहिले ति पाखाबारीहरु चिया बगानमा परिणत भएका छन् । त्यहाँ पुग्ने जोकोहीलाई चिया बगानले आकर्षित गर्छ । चिया खेतीले पाखोबारी ढाकिपछि कृषकसमेत निकै उत्साहित भएका छन् । स्थानीयले चार वर्ष अगाडि परीक्षणका लागि ताराखोलाको सिरुबारीबाट थोरै विरुवा लिएर लगाएका थिए ।
चियाको विरुवा हुर्किदै गयो र परीक्षणसमेत सफल भएपछि कृषक हर्षित भएका छन् । चियाको विरुवा राम्रो हुँदै गएपछि स्थानीयले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा यसको खेती विस्तार गर्न थालेका छन् । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँको रुपमा यस गाउँ छनौट भएपछि रेशको साना किसान सहकारी संस्थाले बौर र तिङरिङको ७२ रोपनी खाली जग्गामा चिया खेती विस्तार गरेको साना किसान सहकारी संस्थाका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए ।
उनले सुरुमा परीक्षणका थोरै क्षेत्रफलमा करिब १५ हजार विरुवा लगाएकोभन्दै परीक्षण सफल भएपछि खेती विस्तार गरेको बताए । हाल तिङरिङ र बौर गरि तीन स्थानमा ५६ हजार विरुवा लगाएको उनको भनाई छ । आफूहरुले गाउँलाई चिया बारीको गाउँ बनाउने उद्देश्यले अहिले तीन लाख विरुवा नर्खरीमा उत्पादन गरि रहेको बताए । कार्की भन्छन्–“सुरुमा के हुन्छ, कसो हुन्छ भन्ने थियो, परीक्षणका लागि सिरुबारीबाट थोरै विरुवा लिएर लगायौँ, निकै राम्रो भयो, हामीहरु पनि उत्साहित भएका छौँ, गाउँ भरी चिया खेती गर्ने उद्देश्यले अहिले तीन लाख विरुवा नर्सरीमा उत्पादन गरि रहेका छौँ ।”
कार्कीले हालसम्म करिब ४२ लाख रुपैयाँ खर्च भएको बताए । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ परियोजना र स्थानीयको जनश्रमदानबाट चिया खेती विस्तार भएको उनको भनाई छ । कार्कीले यो ठाउँ चिया खेतीका लागि निकै उपयुक्त रहेको र अब रहेक नागरिकलाई यस तर्फ लाग्न प्रेरित गर्ने बताए । चार वर्ष अगाडि लगाएको विरुवाले उत्पादन दिने समय आएको उनको भनाई छ ।
“सुरुमा लगाएको विरुवाले उत्पादन दिने समय आएको छ, अब बैशाख जेठ महिना तिर यसलाई टिप्ने छौँ, चिया खेती राम्रो हुँदै जाँदा गाउँका कृषकहरुलाई पनि हर्षित बनाएको छ, गाउँका हरेक नागरिकलाई चिया खेतीमा जोड्न योजना बनाएका छौँ” कार्कीले भने–“सुरुवाति चरणमा छौँ, यसलाई हामीलाई थप हौसला बढाएको छ, गाउँका उत्पादन हुन लागेका तीन लाख विरुवा गाउँ भरी लगाउँछौँ ।”
स्थानीय भीमबहादुर थापाले सुरुमा विरुवा हुर्काउन समस्या भए पनि अहिले सहज बन्दै गएको बताए । उनले हावापानी राम्रो भएको हुँदा अहिले विरुवा सप्रिँदै गएको भन्दै एक÷डेढ वर्षमै आफूहरुले प्रतिफल प्राप्त गर्न सक्ने बताए । थापाले भने–“सुरुमा विरुवा हुर्काउन कलिकति समस्या भयो, अहिले राम्रो हुँदै गएपछि हामीहरु खुसी भएका छौँ, यहाँको हावापानीमा चिया खेती राम्रो हुने रैछ, अब जताततै विस्तार गर्ने योजना छ ।”
थापाले चिया प्रशोधन गर्नका लागि मेसिन समेत गाउँमा ल्याएको बताए । उनले खुल्ला पाखोबारीमा चियाका विरुवा लगाएको हुँदा पशुचौपायाबाट जोगाउन गाह्रो भएको बताए । थापाले यसको संरक्षणका लागि बारबन्देज गर्नु पर्ने देखिएको बताए । सुरुमा धेरैले चासो नदिएपछि अहिले गाउँका कृषकहरु चिया खेती तर्फ चासो देखाउन थालेको उन बताए ।
समुन्द्री सतहबाट १८ सय मिटरदेखि २३ सय मिटर सम्मको उचाइमा चिया खेती राम्रो हुने हुन्छ । यहाँ खेती गरिएको क्षेत्र भन्ने २१ सय मिटरको उचाइमा छन् । काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले बसाइँसराइ रोक्न र रोजगार सिर्जनाका लागि यहाँ चिया खेती सुरु गरिएको बताए । अध्यक्ष लामिछानेले गाउँको पाखोबारीको उपयोग गरि आयआर्जन माध्यम बनाई गाउँलाई आत्मनिर्भर बनाउने बताए ।
अध्यक्ष लामिछाने भन्छन्–“गाउँबाट मानिसहरु धमाधम बसाइँसराइ गरि बजार झर्न थालेका छन्, गाउँमा भएको खेतीयोग्य जमिन बाँझिन थालेका छन्, युवाहरु विदेश पलायन भइरहेका छ, उनीहरुलाई गाउँमै रोक्नका लागि हामीहरुले रोजगार सिर्जना गर्नै पर्छ, त्यही हिसाबले गाउँमा स्वरोजगारमुकल काम गरौँ भनेर सुरुवात गरेका छौँ, सुरुमा ‘ट्रालयल’का रुपमा केही विरुवा लगायौँ, तर पछि निकै राम्रो भयो, अहिले व्यवसायिक रुपमै खेती गर्न थालेका छौँ, अबको केही समयपछि उत्पादन पनि सुरु हुने छ ।”
अध्यक्ष लामिछानेले चार वर्ष अगाडि परीक्षणका लागि रोपेका विरुवाले उत्पादख दिन थालेको भन्दै बजारका लागि विभिन्न ठाउँ र व्यक्तिसँग छलफल भइरहेको बताए । “परीक्षणका रुपमा लगाएको विरुवा निकै राम्रो भयो, यसले कृषकलाई थप उर्जा मिलेको छ, धेरैले यो खेती गर्न तर्फ चासो देखाउनुभयो, अब उत्पादन हुने समय भएको हुँदा बजारका लागि पनि हामीले छलफल गरेका छौँ, अबको पाँच वर्षमा यहाँबाट जिल्लामै धेरै चिया उत्पादन गर्न सक्छौँ भन्ने लागेको छ” उनले भने । रासस