बागलुङ : मंसिर ४ मा हुन प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा होमिएका उम्मेदवार र दलले प्रचार प्रसारको अन्तिम समयमा आफ्नो पक्षमा मतदाता तान्नका लागि अन्तिम शक्ति लगाउँदैछन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन संगसंगै भएकाले प्रदेश सभा निर्वाचन केही ओझेलमा परेको जस्तो देखिन्छ ।
सञ्चारमाध्यम प्रचार प्रसार लगायतमा पनि प्रतिनिधि सभा उम्मेदवारहरु हाबी भएका छन् । नेपाल संघीय संरचनामा गैसकेपछि दोस्रो निर्वाचन हुँदैछ । यो निर्वाचनमा निर्वाचित भएर जाने प्रदेश सभा सदस्यहरुका लागि प्रदेश संरचनाका औचित्य साबित गर्नुपर्ने ठूलो चूनौती छ । पछिल्लो समय आम जनमानसमा प्रदेश संरचनाप्रति फैल्याईएको भ्रम चिर्दै प्रदेश सरकार र यसका कार्यलाई संघीयताको मर्म अनुसार अगाडि बढाउनुपर्ने चूनौती उनीहरुलाई छ । दुई वटा प्रतिनिधि सभा क्षेत्र र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको बागलुङमा प्रदेश सभा अन्तर्गत बागलुङ क्षेत्र नम्बर १ को प्रदेश सभा क को निर्वाचन निकै रोचक हुने देखिएको छ ।
पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेस बागलुङका निवर्तमान सभापति दीपेन्द्रबहादुर थापा र नेकपा एमालेको तर्फबाट जिल्ला अध्यक्ष हिराबहादुर केसी चुनावी प्रतिस्र्धामा छन् । यी दुई बीच नै निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
यद्यपी उनीहरुलाई चूनौती दिँदै राप्रपाका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर विक र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमाल पनि चुनावी मैदानमा छन् । यो प्रतिस्पर्धामा गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने विश्वास गरिए पनि स्वतन्त्र उम्मेदवार हमालको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनकी उनी एमाले उम्मेदवार हिराबहादुर केसीको आफ्नै काठेखोला—३ धम्जाका हुन् । उडिरहेको चील निर्वाचन चिन्ह प्राप्त गरेका उनले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी अभियानमा होमिएको बताएका छन् ।
मंसिर ४ को निर्वाचनबाट प्रदेश सभा सदस्यको रुपमा गण्डकी प्रदेश सभा पुग्न तम्सिएका हिरा केसीलाई उनकै गाउँबाट दीपेन्द्रले चूनौती पेश गरेका छन् । दलीय उम्मेदवार बनेर गएकाले जनताको पक्षमा काम गर्न नसकेकाले आफुले उम्मेदवारी दिएको उनी बताउँछन् । ‘दलबाट गएका व्यक्तिहरुले जनताको पक्षमा काम गर्न सकेको देखिएन,’ उनले भने,‘स्वतन्त्र व्यक्तिको रुपमा म आफु गएर जनताको पक्षमा काम गर्छु भनेर निर्वाचनमा होमिएको हुँ ।’ निर्वाचनमा होमिदै गर्दा जनताले आफुलाई विश्वास गरेको पनि बताए । ‘मैले यहाँको विकास र समृद्धिको नारा अगाडि सारेको छु,’उनले भने,‘कसैलाई असक्षम त म भन्दिन । तर स्वतन्त्र रुपमा म निर्वाचित भएँ भने यहाँ धेरै राम्रो काम गर्न सक्छु भन्ने मलाई लाग्छ ।’
धम्जा एमाले उम्मेदवार हिरा केसीको घर र एमालेको राम्रो पकड भएको ठाउँ हो । हिरा केसीलाई आफ्नै गाउँबाट निर्वाचनमा चूनौती हुँदा मत बाँडिएर त्यसको फाईदा विपक्षी उम्मेदवारलाई हुनसक्ने विश्लेषकहरु बताउँछन् ।