कोपन हेगन : संसारभर छरिएका बागलुङेहरुको साझा संस्था अन्तर्राष्ट्रिय बागलुङ समाजको अध्यक्षमा बेलायत बस्ने कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न समाजको दोश्रो अधिवेशनले शर्माको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो । संसारका झण्डै २ दर्जन देशमा समाजका शाखा सक्रिय छन् । ११ डिसेम्वरमा दोश्रो अधिवेशनको उद्घाटन भएपनि अध्यक्षका प्रत्याशीद्वय कÞतारमा बस्ने रमेश भट्ट र बेल्जियमका गंगा शर्माले उम्मेदवारी फिर्ता लिएपछि आइतबार सर्वसम्मतिमा समिति चयन भएको निर्वाचन समितिका सदस्य महेन्द्र के.सीले जानकारी दिए ।
समाजको ५ उपाध्यक्षहरुमा क्यानडा बस्ने दीपक गौतम, अष्ट्रेलिया बस्ने सुमन विष्ट, कÞतार बस्ने चन्द्रकान्त शर्मा, दक्षिण कोरियाका सुवास लामिछाने र पोर्तुगलका भीम के.सी निर्वाचित भएका छन् । महासचिवमा दक्षिण कोरियामा रहेका प्रेमसागर पौडेल चुनिएका छन् । सचिवहरुमा डेनमार्कमा रहेका अशोक शर्मा, अमेरिकाका नवराज पन्त र पोर्तुगलका यामेन्द्र घर्ती चयन भए । कोषाध्यक्षमा पोर्तुगलका दीपेन्द्र आचार्य चुनिएका छन् ।
क्षेत्रीय संयोजकहरुमा जयलाल न्यौपाने (डेनमार्क), कृष्ण बहादुर खड्का (मलेशिया), याम खत्री (क्यानडा) र हेमराज शर्मा (माल्टा), त्यस्तै सदस्यहरुमा गम बहादुर वि.क गगन (युएइ), खिम खड्का (मलेशिया), लक्ष्मी सापकोटा (अष्ट्रेलिया), आनन्द अर्गेजा (क्यानडा) तथा विष्णु सापकोटा (अष्ट्रेलिया) चयन भएका छन् । बाँकी सदस्य र क्षेत्रीय संयोजकहरु बागलुङको भूगोल र समावेशी तवरले चयन गरिने नव निर्वाचित अध्यक्ष शर्माले बताए ।
‘हामिले समग्र बागलुङको हितको लागि अलि फरक र नमुना कार्य गर्ने छौं’ नव निर्वाचित अध्यक्ष शर्माले सेतोपाटीसंग भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा केही दिर्घकालिन परियोजना सन्चालन गर्ने ठोस योजना रहेको छ, सबैको सहयोगको अपेक्षा छ ।’ संसारभर रहेका बागलुङेहरुलाई एकताबद्ध गरेर बागलुङको सामाजिक र आर्थिक विकास गर्न सहयोग पुर्याउने उद्देश्यले गठन भएको समाजले जिल्लामा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
समाजले कोरोना महामारी ताका परदेशबाट लाखौं सहयोग संकलन गरेर जिल्लामा स्वास्थ्य सामाग्री वितरण गरेको थियो भने डेढ़ वर्षअघि ढोरपाटनमा गएको बाढीबाट प्रभावितलाई झण्डै ४० लाख रुपैया संकलन गरेर ढोरपाटन नगरपालिकामा पठाएको थियो । बागलुङ कारागारमा पुस्तकालय स्थापना, दृष्टिविहिन विद्यार्थीलाई संगीत सामग्री प्रदान, बागलुङमा टेली मेडिसिन स्थापना, निःशुल्क स्वास्थ्य क्याम्प लगायतका कार्य गरेको निवर्तमान अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
कÞतार बस्ने होमनाथ शर्माको अगुवाईमा केही वर्ष अघि गठन भएको समाजमा विश्वभरका हजारौं बागलुङेहरु जोडिएर जिल्लाको हितको लागि विभिन्न अभियान संचालन गर्दै आएका छन् ।