नवराज परियार, बागलुङ : निसीखोला गाउँपालिका भित्रका सम्पूर्ण जनसमुदाको जीवन रक्षाको लागि शनिबार एक कार्यक्रमको बीच निशुल्क स्वास्थ बीमा कार्यक्रमको शुरूवात गरिएको छ । गाउँपालिका भित्र रहेका २३ हजार ३०० सयभन्दा बढि नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउने गरि नेपाल सरकारले ल्याएको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई गाउँपालिकाले थप सहजिकरण गरि अगाडी बढाइएको गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले बताए ।
गाउँपालिका भित्रका आम नागरिकले आर्थिक अभाव, गरीबी र कम चेतनाका कारण रोग पालेर बस्ने र रोगकै कारण सामान्य उपचारसमेत पाउन नसकेर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि पालिकाले निशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि ल्याइएको अध्यक्ष घर्तीले बताए । शनिबार निसीखोला गाउँपालिका–१ देविस्थानकी तुल्सी मल्ललाई गाउँपालिका उपाध्यक्ष प्रेम घर्तीले स्वास्थ्य बीमा कार्ड हस्तान्त्रण गरेर उक्त सेवाको सुभारम्भ गरिएको थियोे ।
पौष महिनाभर सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरि सक्ने गरी अभियानको सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ । आइतबार देखि ७ वटा वडामा नै एक/एक जना स्वास्थ्य बीमा कर्मचारी खटाइ वडा र स्वास्थ्यकर्मीसँगको समन्वयमा कार्यक्रम संचालन हुने छ । यस कार्यक्रमको लागि गाउँपालिकाले यस आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीले बताए ।
यस्तो खालको कार्यक्रमले आम पालिका भित्रका नागरिकको जीवन रक्षा हुने र पौष मसान्तसम्म वडामा आवश्यक कागजात पेश गरि स्वास्थ बीमा कार्ड बनाउने र कुनै पनि व्यक्तिले नछुटाउन पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिृकत दिलिप कुमार चन्दल आग्रह गरे ।