बागलुङ : गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले मध्यपहाडी लोकमार्ग र सालझण्डी ढोरपाटन सडकको कामलाई तीव्र बनाउन आग्रह गर्नु भएको छ । बिहीबार बागलुङमा कार्यलय प्रमुखहरुसँगको भेटघाटमा सांसद कुँवरले सम्बन्धित कार्यालयहरु आफ्नो काम र कर्तव्य प्रति जिम्मावार हुनु पर्नेमा जोड दिनुभयो ।
सांसद कुँवरले भन्नुभयो– ‘राष्ट्रिय गौरवको आयोजनाको हालत यस्तो छ, दुई वटा गाडीसमेत छिर्न सक्दैन, आयोजना कार्यालयले कडा रुपमा एक्सन लिनु प¥यो, अटेरी गर्ने ठेकेदारलाई कारवाही गरि नयाँ ठेक्का सम्झौता गर्नु प¥यो, सो सडकका कारण हजारौँ नागरिकले वर्षौँदेसख दुःख पाएका छन्, तपाईहरुले आफ्नो अधिकार र कानुनको प्रयोग गर्नुस् ।’
कुँवरले ढोरपाटन नेपालको एक मात्रै शिकार आरक्ष पुग्ने सडकको अवस्था खराब हुँदा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन नसकिएको भन्दै स्थानीयको दैनिकीसमेत कष्टकर बनेको बताउनुभयो । पश्मिच बागलुङमा विद्युतीकरण, धौलागिरी अस्पतालमा गुणस्तरीय सेवा, सालझण्डी–ढोरपाटन सडक स्तरोन्नतीका लागि परेको समस्यालाई समाधान गर्न तत्पर रहेको बताउनुभयो ।

पश्चिम बागलुङमा खानेपानीको समस्या, तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान लगायतका क्षेत्रमा नेपाल टेलिकमको फोर जि सेवा विस्तारका लागि सम्बन्धित कार्यालयका प्रमुखहरुलाई आग्रह कुँवरले गर्नुभयो । उहाँले अस्तु–अधिकारीचारी मोटरेवल पुल निर्माण लागि तत्काल नयाँ ठेक्का सम्झौताका लागि सडक डिभिजन कार्यालयलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘तपाईहरु जनतालाई सहज र गुणस्तरीय सेवा दिनलाई कत्ति पनि कन्जुस्याइँ नगर्नुस्, तपाईहरुलाई पर्ने नीतिगत समस्या, प्रदेश तथा केन्द्र सरकारले गर्नु पर्ने सहयोग के हो भन्नुस्, मैले सकेको तपाईहरुलाई सहयोग हुन्छ, तर जनताले पाउने सेवामा ढिला सुस्ती हुनु भएन ।’

उहाँले जिल्ला स्थित सडक, पूर्वाधार, सिंचाइ, खानेपानी, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, वन, मालपोत कार्यालय, मध्यपहाडी लोकमार्ग कार्यालय पर्वत, सालझण्डी–ढोरपाटन सडक कार्यालय सन्धिखर्कका कार्यालय प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गर्नु भएको थियो ।