जाजरकोट : गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ ।भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए ।
उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् । भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । उनका अनुसार भूकम्पमा परी सयौँ मानिस घाइते भएका विवरण प्राप्त भएका छन् ।
भूकम्पमा २७ महिला र १० पुरुषको मृत्यु भएको छ । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षति पुर्याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताए ।
जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेको छ ।
रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको बताइएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो ।