बागलुङ : धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा नवआगन्तुक विद्यार्थीलाई सोमबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पस बागलुङाको आयोजनामा स्थानतक र स्नातकोत्तर तह प्रथम वर्षमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको हो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले नेपालीहरुमा केवल नकारात्मकतालाई देखाएर पन्छिने बानीले समस्या भैरहेको बताए ।
‘हामीले नकारात्मकताको बारेमा धेरै चर्चा गर्न सकौंला, दुःखको महाकाव्य लेख्न सकौंला तर औंसीको अध्याँरोमा कतै जुनकिरीको उज्यालो रहन्छ भने हामीले त्यो जुनकिरीको उज्यालो आफुलाई बनाउनुपर्छ,’उनले भने,‘केही पनि नभएको होईन आधा गिलास पानीलाई हामीले आधा भरिएको देख्ने कि आधा खाली देख्ने हाम्रो आँखामा भर पर्छ ।’ सुवेदीले कसै न कसैले प्रयास नगरी यो देश नबन्ने उल्लेख गरे । ‘यो देश बन्नका लागि कसै न कसैले योगदान गर्नुपर्छ सबैलाई समस्या देखाएर पन्छिएर देश बन्दैन,’उनले भने ।
कार्यक्रममा धवलागिरि क्याम्पसका सञ्चालक समिति अध्यक्ष प्रा.डा.दिनबहादुर थापा, क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याय, पूर्व स्ववियु सभापतिहरु हिराबहादुर केसी, कमल अधिकारी, चिरञ्जीवी गौतम, निवर्तमान स्ववियु सभापति मनबहादुर थापा मनिष थापा, त्रिवि प्राध्यापक संघ धवलागिरि क्याम्पस इकाई सभापति भक्तिराम न्यौपाने, त्रिवि कर्मचारी संघ धवलागिरि क्याम्पस इकाई सभापति शिव पन्त, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य दिनेश पन्त, अखिल क्रान्तिकारी विप्लवका सुजन विक, विद्यार्थीहरु नारायण खरेल, बिमला रिजाल, एल्ड्रिन थापा नव आगन्तुक विद्यार्थी समिर सेन्चुरी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि क्याम्पसका स्ववियु अध्यक्ष सुदिप सागर कँडेलको अध्यक्षता, उपाध्यक्ष दिपक सुवेदीको स्वागत र सचिव अनिल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।