बागलुङ : बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको जनकल्या माध्यमिक विद्यालयले राखेको शिक्षकले नै पढाउन छोडेर विद्यार्थी संगठन विस्तार गरेको पाइएको छ । विद्यालयले स्वएंमसेवक शिक्षकका रुपमा राखेका कमल पौडेलले विद्यालयमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु गठन गरेका हुन् । अनेरास्ववियुका जिल्ला सदस्यसमेत रहेका पौडेललाई विद्यालय व्यवस्थापनका अध्यक्षले जवरजस्त मापदण्ड विपरित शिक्षक नियुक्त गरेको बुझिएको छ ।
लामो समयदेखि माध्यमिक तहमा विज्ञान विषय अध्यापन गराउँदै आएका शिक्षकले गत पौष ११ राजीनामा दिएपछि सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम शर्माले आफ्ना छोरा कमल पौडेललाई ‘भोलिन्टर’ शिक्षकका रुपमा राख्नु भएको हो । स्वएंमसेवक शिक्षक कमलले केही समय अगाडि मात्रै कक्षा १२ उत्तिर्ण गर्नु भएको छ । कक्षा १२ उत्तिर्ण गरेको कसैले पनि माध्यमिक तहमा पढाउन पाने व्यवस्था शिक्षा ऐनमा छैन । माध्यमिक तहसम्म पढाउने शिक्षकको योग्यता स्नातक तह पास गरेको हुनु पर्छ ।

स्वएंमसेवक शिक्षक भएर पढाउनका लागि विद्यालय आउनु भएका कमलले पढाउनुको सट्टा कक्षाकोठामै विद्यार्थीलाई जम्मा गरेर अनेरास्ववियुको संगठन विस्तार गर्नु भएको छ । विद्यालयका प्रधानाध्यापक लिलाराम सापकोटाले आफू माघ ३ गतेदेखि बिदामा भएको भन्दै जवाफ दिनबाट भाग्न खोज्नु भयो । विद्यालयमा राजनीतिक गतिविधि भएको बारेमा उहाँले आफूलाई जानकारी नभएको बताउनुहुन्छ । विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अनुमति नलिई कसैले कुनै पनि क्रियाकलाप गर्न पाउँदैन । विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापककै मिलेमतोमा पढाई रोकेर कक्षाकोठामा राजनीतिक संगठन विस्तार भएको देखिन्छ ।
प्रधानाध्यापक सापकोटाले भन्नुभयो – “मलाई केही थाहा छैन, म ३ गतेबाट विद्यालयमा गएको छैन, बिरामी भएर काठमाडौँ गएको थिए, मैले बुझ्नु पर्छ, मलाई सोधेका पनि हैनन्, यतिकै राखेर यस्तो गलत क्रियाकला भएको छ, केही दिन पढाउन आए पनि अहिले पढाउन आउँदैनन् ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम शर्माले लामो समयदेखि शिक्षक खाली हुँदा अर्को शिक्षक नआउँदासम्मका लागि स्वएंमसेवक शिक्षकका रुपमा आफ्नो छोरालाई राखेको बताउनुभयो । नेकपा एमाले काठेखोला गाउँपालिका–२ का सचिवसमेत रहनु भएका विव्यस अध्यक्ष शर्माले विद्यालयमा पढाउनुको सट्टा राजनीति गर्न विद्यालय प्रशासनले नै दिएर संगठन निर्माण गरेको हुन सक्ने बताउनुहुनछ ।
“यो राम्रो होइन, विद्यालयले कसरी संगठन गर्न दियो, विद्यालयले दिएरै होला, गलत भएको छ, लामो समय विज्ञान विषयको पढाई नभएपछि खाली हुनुभन्दा भोलिन्टर हिसाबले दिउँ भनेर दिएको हो, उसले (कमल)ले २१ दिन पढाएर छोडेको छ, अबदेखि यस्ता गल्ती दोहोरिने छैनन्” अध्यक्ष शर्माले भन्नुभयो ।

काठेखोला गाउँपालिकाका शिक्षा अधिकृत रमा उचैले यो विषयमा आफू जानकार नभएको भन्दै तत्काल बुझेर कानुनी कारबाही गर्ने बताउनुभयो । माध्यमिक तह पढाउने शिक्षकको योग्यता स्नातह पास हुनु पर्ने भन्दै विद्यालयले गलत गरेको बताउनुभयो । विद्यालयमा राजनीतिक क्रियाकलाप गर्नु गैरकानुनी काम भएको उहाँको भनाइ छ । माध्यमिक तहको विज्ञान विषयको शिक्षकले राजीनामा दिएपछि रिक्त पौष ११ मा राजीनामा दिएपछि रक्ति पद पूर्तिका केही दिन अगाडि विज्ञापन आह्वान गरेको र बिहीबार परीक्षा दिन थालिएको उहाँ बताउनुहुन्छ ।
उचैले भन्नुभयो – “कुनै पनि व्यक्ति वा पार्टीले विद्यालयमा गएर राजनीतिक गतिविधि गर्न पाउँदैन, यदि यो सही हो भने सरसर गलत भएको छ, अहिलेसम्म हामीलाई जानकारी दिएन, त्यहाँ एउटा शिक्षकको कोटा खाली थियो, कानुन विपरित केके भए, त्यो दरबन्दीमा परिपूर्ति गर्न निमय अनुसार परीक्षा गराउँदै छौँ, आज तीन जनाले परीक्षा दिँदैछन् ।”