बागलुङ : काठेखोला गाउँपालिका–४ तंग्राम स्थित धारा माध्यमिक विद्यालयमा एक दिने शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यशालालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले शिक्षा मानिसको नैसर्गिक अधिकार भएको भन्दै हरेक व्यक्तिले पढ्न पाउनु अधिकार भएको बताए ।
हरेक व्यक्तिलाई शिक्षा दिलाउनु राज्यको कर्तव्य रहेको बताउदै विद्यालय युग बदल्ने ज्ञानको केन्द्र भएको बताए । विद्यालय कला, सिप र सिकाईको उत्प्रेरक र युगको नेतृत्व जन्माउने जननी भएको उनको भनाइ छ ।
कार्यक्रममा काठेखोला गाउँपालिका–४ तंग्रामका वडा अध्यक्ष लक्ष्मण पुन, कार्यपालिका सदस्य एवं काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम विक, वडा सदस्य सम्झना थापा, अभिभावक शिक्षक दल बहादुर पुन लगायतका मन्तव्य राखेका थिए ।
शैक्षिक कार्यशाला गोष्ठीमा विद्यालयका प्रधानाध्यापक कमला थापाले विद्यालय सुधार योजनाका लागि गत शैक्षिक बर्षको समिक्षात्मक प्रतिवेदनसहित चालु शैक्षिक शत्रको प्रस्तावित कार्यक्रम प्रस्तुत गरेकी थिइन् । 
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष विष्णु कँडेलको अध्यक्षता, प्रधानाध्यापक कमला थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक नर बहादुर पच्याले गरेका थिए । शैक्षिक कार्यशालामा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका कक्षा शिक्षकहरुले कक्षागत प्रतिवेदन प्रस्तुत गरेका थिए ।