दुर्गमकाे पीडा

चुहिने छानामुनी पढ्छन् कुँडेढोरका विद्यार्थी

चुहिने छानामुनी पढ्छन् कुँडेढोरका विद्यार्थी

  • जेठ २४, २०८१ बिहिवार
  • ०७:२६:३३ बजे
  • 2.4K
    SHARES
  • चुहिने छानामुनी पढ्छन् कुँडेढोरका विद्यार्थी

    गलकोट : उप्किएका भित्ता । जीर्ण बनेका झ्याल ढोका । मक्किएका काठले छाएको छानो । घामपानी र हावाहुरी राम्ररी नछेक्ने टहरो । हेर्दै दयनीय रहेको भवनमा ओत लागेर पढ्छन्, निसेलढोरका बालबालिका । बागलुङको निसीखोला गाउँपालिका–६ निसेलढोर स्थित कुँडेढोर प्राथमिक विद्यालयका विद्यार्थीलाई चुइने छानो र बतास नछेक्ने भवनमा पढ्न निकै असहज भइरहेको छ । 

    २०६४ सालमा विद्यालय स्थापना भएपनि अहिलेसम्म विद्यालयको गतिलो भवन बनेको छैन । ५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत सेवाको अभाव छ । आधुनिक प्रविधिको प्रयोग गरे पठनपाठनको जोडतोड चलिरहेको बेला कुँडेढोरका विद्यार्थी चुहिने छानोमा बर्खाको बेला ओेत लागेर पढ्न बाध्य भएका हुन् । 

    तीन वटा विद्यालय भवन मध्ये दुई वटा भवन कच्ची छन् । हावाहुरी चल्दा र वर्षा हुँदा कक्षा कोठामा बस्नै मिल्दैन । बागलुङ जिल्लाको सबैभन्दा विकटको विद्यालय हो निसेलढोरको कुँडेढोर प्राथमिक विद्यालय । विद्यालयमा अहिले ५२ जना विद्यार्थी अध्ययनरत छन् ।

    School.jpg

    बर्खा लागेपछि घुम्ती बसाई मार्फत २५ जना विद्यार्थी थपिन्छन् । विद्यार्थी घट्दै गएका विद्यालयमा सुविधा सम्पन्न भवनहरु खाली हुँदै गइरहेको सन्र्दभमा यहाँको कुँडेढोर प्राथमिक चुहिने फलेकको छानोमुनि विद्यार्थी पढ्न बाध्य रहेका छन् । 

    तीन वटा ब्लकमा रहेको विद्यालय भवन मध्ये एउटा भवन जीर्ण भएको छ । जीर्ण भवन भित्र बसेर पढ्न बाध्य छन् कक्षा पाँचका विद्यार्थी । पढाउने क्रममै छानोको रुपमा रहेको फलेक कुहिएर झर्ने गरेको र वर्खामा विद्यार्थीलाई पढाउने क्रममा पानी चुहिने समस्या रहेको कुँडेढोर प्राथमिक विद्यालयका निमित्त प्रधानध्यापक रुद्र विकले जानकारी दिए ।

    “विकटको विद्यालयमा राज्यको नजर कम पर्दो रहेछ, बालविकास र कक्षा ४ सम्मका विद्यार्थीलाई राम्रै कक्षा कोठामा अध्ययन गराउदै आएका छौ तर कक्षा पाँचका विद्यार्थीलाई कक्षाकोठाको अभावले समस्या भएको छ” विकले भने “गाउँपालिकामा भवन निर्माणका लागि बजेट माग गरिरहेका छौं, यस पटकको बजेटमा भवन पर्ला ।”

    Niseldhor copy.jpg

    कक्षाकोठा उपयुक्त नहुँदा पठन पाठनमा असहजता भएको कक्षा पाँचमा अध्ययनरत सृष्टी मगरले बताइन्। मगरले दुर्गमको विद्यालयमा भौतिक पूर्वधारको खाँचो रहेको गुनासो गरे। २०६४ सालअघि काठका फलेकले छाएर निर्माण गरिएको भवनको काठको फलेक कुहिएर पानी चुहिने भएको छ । उक्त भवनमा तत्कालै कुहिएका काठ हटाएर जस्ताले छाउन सकेमा विद्यार्थीलाई अध्ययनमा राहत हुने विद्यालयले जनाएकाे छ । 

    “कक्षामा पानी पर्दा चुहिन्छ भने हिउँ पग्लेर कक्षा कोठा भरिन्छ”  मगरले भनिन् “पाँच कक्षा सम्म मात्रै अध्ययन गर्न सकिने विकट गाउँमा यसपछिको अध्ययनका लागि आवसीय रुपमा बसेर पढ्न बाध्य छन् ।”

    निसेलढोरमा अस्थायी र स्थायी गरी दुई थरी बस्ती रहेको छ । निसीखोला गाउँपालिकाको विभिन्न स्थानबाट गर्मीको समयमा यहाँ आउने खेतीपाती गर्ने र चिसोमा वेसी छर्ने गर्दछन् भने ५० घर स्थायी रुपमा भने निसेलढोरमै बस्ने गरेका छन् ।Niseldhor0.jpg

    निसीखोला–५ निसीको ज्ञानेन्द्र माध्यामिक विद्यालयलाई २०६४ साल अघि सम्म घुम्ति विद्यालयको रुपमा निसेलढोरमा विद्यालय चलाइएपनि २०६४ सालमा सोही विद्यालयको पूर्वाधारमा कुँडेढोर प्राथमिक विद्यालय स्थापना गरिएको थियो । निसीखोला–५ निसी बाट सोही वडाको निसेलढोरमा आउनका लागि पाँच घण्टा पैदल हिड्नु पर्ने बाध्यता रहेको छ । 

    निसेलढोरमा अहिले ढोरपाटन नगरपालिका–९ ढोरपाटन उपत्यकाबाट सडक पुगेपनि निसीखोलाबाट सोझै सडक पु¥याउन सकिएको छैन । पाँच महिना अघिमात्रै निसेलढोर सञ्चार दुनियामा जोडिएपनि अहिले सम्म बिद्युतको पहुँच पुग्न नसकेको विकट गाउँ हो । घुम्ती बसाई रहेको निसीखोला गाउँपालिका–५ निसेलढोर प्राकृतिक रुपमा मनोरम भएपनि भौगोलिक रुपमा निकै विकट रहेको छ । रासस

  • सम्बन्धित विषय:

  • # कुँडेढोर
  • # निसेलढाेर

  • राष्ट्रिय समाचार समिति (रासस)

    राष्ट्रिय समाचार समिति (रासस) नेपालको सरकारी समाचार संस्था हो ।

    सम्बन्धित समाचार