बागलुङ : काठेखोला गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र पूर्वाधारलाई प्रथामिकता दिइएको छ । गाउँपालिकाका अध्यक्ष राजु थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय श्रोत साधनको उच्चतम परिचालन र न्यायोचित वितरणद्वारा नागरिकहरुले आर्थिक, सामाजिक स्तरमा वृद्धि गर्दै समृद्ध, समातामूलक र सुशासनयुक्त काठेखोला गाउँपालिका निर्माण गर्ने लक्ष्य राखिएको छ ।
आर्थिक विकासको लागि कृषि पकेट पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ । तरकारी मिनिकिट अनुदान, कृषि तथा पशु उद्यमशीलता विकास परियोजना, तरकारी मिनिकिट अनुदान लगायतका कार्यक्रमलाई निरन्तरदा दिइएको छ । गाउँपालिकाले गोरु पाल्ने कृषकलाई प्रात्साहन गर्ने भएको छ । नीति तथा कार्यक्रममा गोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ कार्यक्रम लिएको छ ।
उक्त कार्यक्रम अन्तरगत स्थान्नीय गोरु संरक्षणको लागि अनुदान दिइने भएको हो । हरेक वडामा वडा स्तरीय भेटरीेनरी माइनर ल्याब स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पालिकाले नीति तथा कार्यक्रममा पालिकामा काठेखोला कोसेली घर सञ्चालनमा ल्याउने उल्लेख गरेको छ । पालिका भित्र उत्पादन हुने सिन्की, भाँगो, हँसिया, कोदाली, हस्तकलाका सामाग्रीका साथै नाङ्लो, डाली, मकैको भुत्लाबाट निर्माण हुने फूलजन्य सामाग्रीहरु संकलन गरि बजारीकरण गर्ने उद्धेश्यले काठेखोला कोशेली घर सञ्चालन गरिने उल्लेख गरिएको छ ।
त्यस्तै पालिका भित्र रहेका खानि उत्खननका लागि अनुसन्धान गर्न संघ तथा प्रदेश सरकारसँग समन्वय गरि श्रोत जुटाउन आवश्यक पहल गरिने उल्लेख गरिएको छ । काठेखोला गाउँपालिका–१ मा हाट बजार स्थापना गरने उल्लेख गरिएको छ ।
पालिकामा उत्पादन हुने दुग्ध पदार्थ, मासुजन्य उत्पादन, सुन्तला र आलुको परिकारहरुलाई थप व्यवस्थित गरि गाउँपालिकाकै पहिचानको रुपमा स्थापित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । गाउँपालिकाले नगर प्रहरी राख्ने समेत तयारी गरेको छ । त्यसको लागि काठेखोला गाउँपालिका नगर प्रहरी सञ्चालन तथा व्यवस्था गर्न बनेको बिधेयक गाउँसभामा पेश गरिएको छ ।
विधेयकमा पालिका भित्रको निजी तथा सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षणको लागि नगर प्रहरी राख्ने उल्लेख गरिएको छ । सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक वृहस्पति शर्माले टेबल गरेको विधेयकमा उल्लेख भए बमोजिम सुरुमा एक जना नगर प्रहरी सहायक निरीक्षक, नगर प्रहरी हवल्दार र नगर प्रहरी सिपाई (जवान) रहनेछन् ।
आर्थिक विकास समितिका सयोजक लक्ष्मण पुनले काठेखोला गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक टेबल गरे । सामाजिक विकास समितिका संयोजक खडक थापाले खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल गरे । गाउँ सभा यही असार १० गतेसम्मलाई स्थगित गरिएको छ ।
विभिन्न व्यक्तिहरु सम्मानितगाउँसभामा पालिकाको विकासमा महत्वपूर्ण योगदान पुर्यानेहरुलाई सम्मान गरिएको छ । पालिकाले सेवा निवृत चन्द्रदत्त कँडेललाई सम्मान गरेको छ । आर्युवेद औषधालयमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई १० हजार रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
त्यस्तै सम्मानित हुनेहरुमा कोदोको बिस्कुट बनाउने युवा उद्धमी चानसिँह श्रीष, बाख्रा पालक कृषक प्रेम कँडेल, स्थानीय स्काउटका अध्यक्ष होमनाथ गौतम, खेल तर्फ बादल कार्की, मौरी पालक कृषक जीवलाल शर्मा रहेका छन् । उनीहरुलाई पनि १० हजार हजार रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।