ढोरपाटन : गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर संचालनमा आएको छ । भारी वर्षाका कारण सडक माथिदेखि खसेको पहिरोले कोरिडोर बगाउँदा सडक अवरुद्ध भएको थियो । कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै पहिरोले भासिएपछि दक्षिण बागलुङ जिल्ला सदरमुकामसँग सिधा यातायात बिच्छेद भएपछि १४ दिनपछि संचालनमा आएको हो ।
वर्षा रोकिएपछि कोरिडोर कार्यालयले भासिएको सडकमा ग्याविनसहितको पर्खाल उठाएर संचालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । दुई सातादेखि कोरिडोर अवरुद्ध हुँदा दक्षिण बागलुङसँग बुटवल, भैरवाह र मुक्तिनाथ जाने सवारी साधान ठप्प भएका थिए ।
उनले भने – “वर्षाको कारण लामो समय कोरिडोर अवरुद्ध भयो, धेरै प्रयास गरेपछि बल्ल संचालनमा आएको छ, अब ठूलो वर्षा भएन भने केही दिन संचालन हुने छ, त्यहाँको भूगोल कच्ची रहेछ, वर्षा हुँदा बित्तिकै सडक माथिदेखि पहिरो खसिहाल्छ ।”रासस