थपिदै सुविधा

बुर्तिबाङमा ५० शैयाको अस्पताल संचालन गर्दै गण्डकी प्रदेश 

बुर्तिबाङमा ५० शैयाको अस्पताल संचालन गर्दै गण्डकी प्रदेश 

  • श्रावण १५, २०८१ मंगलवार
  • १६:३३:४५ बजे
  • 2.7K
    SHARES
  • बुर्तिबाङमा ५० शैयाको अस्पताल संचालन गर्दै गण्डकी प्रदेश 
    बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र

    ढाेरपाटन : बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरि ५० शैयाको प्रदेश स्तरीय अस्पतालका रुपमा संचालन गरिने भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेश स्तरीय अस्पताल संचालन गर्न थालिएको हो । दूर दराजका नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउनका लागि प्रदेश सरकारले तदारुकता देखाएको छ । बागलुङ बजारदेखि करिब सय किलोमिटर पश्चिममा रहेको बुर्तिबाङमा अहिलेसम्म सुविधायुक्त अस्पताल नहुँदा निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका हजारौँ नागरिकले सास्ती खेप्नु परेको छ । 

    केही वर्ष यता बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि विशेषज्ञ सेवा प्रदान हुँदै आए पनि जटिल किसिमको रोग लाग्दा पोखरा, काठमाडौँ धाउनु पर्ने अवस्था छ । बुर्तिबाङमा वि.सं. २०६४ साउन १५ गते स्वास्थ्य मन्त्रलायले जिल्ला अस्पताल संचालन गर्ने निर्णय गरे पनि हालसम्म कार्यान्वन हुन सकेको थिएन । गण्डकी प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले अघिल्लो वर्षनै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश स्तरीय ५० शैयाको अस्पताल बनाउने निर्णय गरेको थियो । वि.सं. २०८० फागुन ६ गते मन्त्री परिषद्को बैठकको निर्णय गरेपछि प्रदेश स्तरीय अस्पताल संचालन हुने भएको हो ।

    १६ वर्ष अगाडि स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल बनाउने निर्णय गरि ३२ करोड लागतमा संरचना निर्माण गरे पनि हालसम्म प्राथमिक स्वास्थ्य केन्द्रकै रुपमा संचालन हुँदै आएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा हाल २५ शैयाको सेवा भने प्रवाह भइरहेको छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर नविन्द्र ढकालले हाल संचालनको भवनबाटै ५० शैयाको अस्पताल संचालन गर्न सकिने बताए । सरकारले जनशक्ति र आवश्यक उपकरण थपे प्रदेश स्तरीय अस्पताल संचालनमा कुनै समस्या नभएको उनको भनाइ छ । 

    ५० शैयाको अस्पतालमा १४८ कर्मचारीको आवश्यक पर्ने भन्दै हाल करिब ५० जना स्थायी र अस्थायी जनशक्ति रहेको उनको भनाइ छ । सरकारले अबथ प १०० जना कर्मचारी थपे सेवा प्रवाहमा समस्या नहुने ढकाल बताए । हाल ढोरपाटन नगरपालिकाले करार सेवामा २२ जना, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिबाट सात जना र निकसाइमन इनिस्टिच्युड संस्थाबाट छ जना कर्मचारी कार्यरत रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश स्तरीय अस्पतालका रुपमा संचालन गर्न आठ जना विशेषज्ञ चिकित्सक, १४ जना मेडिकल अधिकृत, ४० जना स्टाफ नर्स, १२ जना कार्यालय सहयोगीसहित लेखा र प्रशासन शाखाका लागि कर्मचारी आवश्यक रहेको उनले बताए ।

    “प्रदेश सरकारले चाह्यो भने तत्कालै प्रदेश स्तरीय अस्पताल संचालन गर्न सकिन्छ, संरचना पनि छ, आवश्यक संरचना थप्दै जान सकिन्छ, सरकारले आवश्यक जनशक्ति र उपकरण मात्रैको व्यवस्थापन ग¥यो भने काम अगाडि बढ्न सक्छ” डाक्टर ढकालले भने – “अहिले पनि हामीहरुले जसोतसो २५ शैयाको अस्पताल संचालन गरेका छौँ, ५० शैयाको अस्पतालका लागि अब करिब १०० जना जनशक्ति आवश्यक छ ।”

    गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुँवर यस वर्ष जसरी पनि बुर्तिबाङमा ५० शैयाको अस्पताल संचालनमा आउने बताए । धेरै वर्ष अगाडिदेखि नै यहाँमा विशेषज्ञ स्वास्थ्य सेवा दिनका लागि जिल्ला अस्पताल बनाउनु पर्ने माग गरे पनि पूरा हुन नसकेको भन्दै अब प्रदेशस्तरीय सुविधा युक्त अस्पताल संचालन हुनेमा समस्या नभएको कुँवर बताउँछन् । अस्पताल संचालनका लागि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ । आगामी वर्षदेखि उपचारका लागि हजारौँ रुपैयाँ खर्च गरेर टाढा जानु पर्ने बाध्यता हट्ने सांसद कुँवरले बताए । 

    सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका प्रवक्ता सुरज गुरौले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश स्तरीय अस्पतालका रुपका विकास गरि संचालन गर्ने प्रक्रिया मन्त्रालयले अगाडि बढाएको बताए । यस वर्ष बागलुङ बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँप पीपल अस्पताललाई प्रदेश स्तरीय अस्पतालका रुपमा संचालन गर्न सरकारले १२ करोड विनियोजन गरेको र अध्ययनका लागि समिति बनाएर काम थालेको उनको भनाइ छ । अहिलेसम्म प्राथमिक स्वास्थ्य केन्द्र र कर्मचारी स्थानीय तह मातहत रहेको हुँदा व्यवस्थापनमा समस्या भएको गुरौले बताए । 

    उनले भने – “बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र त्यहाँ काम गर्ने कर्मचारी स्थानीय तह मातहतमा छन्, अब कर्मचारी समायोजन गर्नु पर्ने छ, यसलाई मिलाउनका लागि समिति गठन भएको छ, व्यवस्थापन गर्न केही, प्रक्रिया सुरु भएको हुँदा छिटै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र प्रदेश स्तरीय अस्पतालका रुपमा संचालनमा आउने छ ।”

    बुर्तिबाङ स्वास्थ्य केन्द्रमा वार्षिक करिब ६०० महिला प्रसुति हुने गरेका छन् । दैनिक ३०० जनलाई बहिरङ्ग र ३० जनालाई आकस्मिक सेवा दिँदै आएइएको छ । अस्पताल व्यवस्थापनका अनुसार १४ रोपनी ९ आना जग्गामा तीन ब्लगसहित ४८ कोठासहितका भवन र एक आवासीय भवन रहेका छन् । जुन संरचना अस्पताल संचालनको लागि पर्याप्त हो । ५० शैयाको अस्पताल संचालन गर्न १५० जना जनशक्ति आवश्यक पर्ने गर्छ । रासस


    राष्ट्रिय समाचार समिति (रासस)

    राष्ट्रिय समाचार समिति (रासस) नेपालको सरकारी समाचार संस्था हो ।

    सम्बन्धित समाचार