सम्पदा संरक्षण

१० लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार

१० लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार

  • श्रावण २४, २०८१ बिहिवार
  • ०८:३७:१८ बजे
  • 3.8K
    SHARES
  • १० लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार

    ढाेरपाटन : बागलुङको तमानखोला गाउँपालिकाले ऐतिहासिक पञ्चायत घरको जीर्णोद्वार गरेको छ । लामो समयदेखि जीर्ण बनेको घरलाई गाउँपालिकाले १० लाख रुपैयाँमा जीर्णोद्वार गरि चिटिक्क बनाएको हो । स्थानीय स्रोत साधानको प्रयोग गरि कलात्मक शैलीमा जीर्णोद्वार गरेको पञ्चायत घरलाई संग्राहलय र पुस्तकालयका रुपमा विकास गरिने भएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन गरेको दश लाख र स्थानीयको जनश्रमदानबाट घरको पुनर्निर्माण गरिएको हो ।

    तमानखोला गाउँपालिका–३ तमान गाउँमा रहेको उक्त भवनमा अहिले वडा कार्यालय संचालन गरिएको छ । वडा कार्यालयको भवन निर्माण भइरहेको हुँदा केही समयसम्मका लागि वडाको कामकाज यहीँ घरबाट संचालन गर्न थालेको वडाध्यक्ष झकबहादुर बुढा मगरले बताए । वडा कार्यालय निर्माण सम्पन्नपछि पञ्चायत घरलाई संग्राहलयका रुपमा विकास गरिने उनको भनाइ छ । वि.सं. २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भएपछि जीर्ण बन्दै गएको भवनलाई मौलिक रुपमा संरक्षण गरिएको अध्यक्ष बुढा मगरले बताए।

    अध्यक्ष बुढा मगरले भने – “पञ्चायती व्यवस्था ढलेको धेरै वर्ष भयो, अहिलेसम्म पञ्चायत घर जीवितै छ, यसलाई थप आकर्षिक बनाउनका लागि हामीहरुले पुनर्निर्माण गरेका छौँ, अहिले हाम्रो वडा कार्यालय निर्माणाधिन अवस्थामा रहेको हुँदा तल्लो तलमा वडाको प्रशासनिक कामकाज गर्न थालेका छौँ भने माथिल्लो तलमा पुस्तकालय निर्माण गर्दै छौँ, वडा कार्यालय आफ्नै भवनमा सरेपछि यहाँ संग्राहलय निर्माण गर्ने योजना बनाएका छौँ ।”

    पञ्चायती व्यवस्थाको झलकको रुपमा रहेको भवनलाई संरक्षण गरेर पर्यटकहरुलाई चिनाउने योजना गाउँपालिकाको रहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । पञ्चायत कालमा प्रधान, उप–प्रधान पञ्चहरुले भवनबाट कार्यालय संचालन गरेको उनको भनाइ छ । तमान गाउँमा रहेको पञ्चायत कार्यालयबाट तमानखोला गाउँपालिका वडा नम्बर ५ खुङ्खानी, वडा नम्बर ६ नर्जाखानी, वडा नम्बर ४ लाम्मेला, वडा नम्बर २ बोङ्गादोभान लगायतका स्थानका जनतालाई सेवा दिने गरेको अध्यक्ष बुढा मगरले जानकारी दिए । 

    तमान पञ्चायत क्षेत्रमा तत्कालीन अवस्थामा खप्रसाद बुढा मगर लगायतले शासन गरेको स्थानीयको उनी बताए । गाउँपालिकाले यसको इतिहास र को–को पञ्चायतले शासन गरे भन्ने बारे खोजी गरिरहेको बुढा मगरको भनाइ छ । पञ्चायत भवन साबिक लुकुरबन, खुङ्गा, नर्जा, खुङ्खानी, तमान, लाम्मेलाका स्थानीयले मिलेर निर्माण गरेका थिए । गाउँपालिकाले यसलाई थप व्यवस्थित बनाउँदै जाने उहाँले बताए ।रासस

  • सम्बन्धित विषय:

  • # पञ्चायत घर

  • राष्ट्रिय समाचार समिति (रासस)

    राष्ट्रिय समाचार समिति (रासस) नेपालको सरकारी समाचार संस्था हो ।

    सम्बन्धित समाचार