ढाेरपाटन : बागलुङको बडिगाडमा १५ शैयाको पालिका स्तरीय अस्पताल निर्माण गरिएको छ । संघीय सरकारको १८ करोड लगानीमा अस्पताल निर्माण गरिएको हो । बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा निर्माण भएको अस्पताल आगामी कार्तिक महिनादेखि संचालन गर्ने गाउँपालिकाले तयारी गरेको छ । अहिलेसम्म सुविधा युक्त अस्पताल नहुँदा यहाँका हजारौँ नागरिक बुर्तिबाङ, पोखरा, काठमाडौँ, पाल्पा लगायतका ठाउँमा उपचारका लागि पुग्नु पर्ने बाध्यता छ ।
बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले वर्षौँदेखि यहाँका नागरिक उपचारका लागि टाढा पुग्नु पर्ने बाध्यता रहेको हुँदा यसै वर्ष पालिका स्तरीय अस्पताल संचालन गर्ने तयारी गरको बताइन् । गाउँपालिकाले सबै वडामा स्वास्थ्य स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर सामान्य उचार गर्दै आए पनि जटिल किसिमको बिरामीलाई टाढा पठाउनु पर्ने बाध्यता रहेको उनको भनाइ छ । अहिले पनि धेरै बिरामीहरु बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गलकोट स्थित गलकोट नगर अस्पतालमा आउने गरेको अध्यक्ष अधिकारी बताउँछिन् ।
अस्पताल निर्माणका लागि वि.सं. २०७८ असार १५ गते सम्झौता गरेर काम सुरु भएको भन्दै अहिले सम्पन्न भएको हो । निर्माण कम्पनी कालीगण्डकी/प्रदीप/जुम्ली जेभीले १७ करोड, ३२ लाख १४ हजार ३६१ रुपैयाँमा अस्पताल निर्माणको जिम्मा लिएको अध्यक्ष अधिकारीले बताइन् । अस्पतालको सबै काम सकिएको भन्दै केही भुक्तानी बाँकी रहेको उनको भनाइ छ । १५ शैयाको अस्पताल संचालनमा आएपछि कोही पनि नागरिक उपचारका लागि हजारौँ खर्च गरे टाढा जान नपर्ने उनले बताइन् ।
अध्यक्ष अधिकारीले भनिन् – “हामीहरुले अहिले पनि हाम्रा पालिका भित्र रहरेका सबै स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित बनाई गुणस्तरीय सेवा दिइ रहेका छौँ, तर जटिल किसिमका रोग लागेका बिरामीलाई बाहिर पठाउन बाध्य छौँ, यसै वर्ष अस्पताल सम्पन्न भएको हुँदा केही महिनामै संचालन गर्ने योजनामा छौँ, अस्पताल संचालनमा आयो भने नागरिकले आफ्नै गाउँ, ठाउँबाट गुणस्तरीय स्वास्थ्य सेवा लिन सक्नु हुने छ, पहिलेको जस्तो हजारौँ खर्च गरेर टाढा पुग्ने स्थितीको अन्त्य हुनेछ ।”
गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण भएपछि स्थानीय पनि खुसी भएका छन् । बडिगाड गाउँपालिका–४ का प्रेमबहादुर थापाले नजिकमा राम्रो अस्पताल नहुँदा आफूहरुले दुःख आएको सुनाए । यस क्षेत्रबाट धेरैजसो स्थानीयहरु बिरामी परे पाल्लाको मिसन अस्पताल र पोखरा जाने गरेको उनको भनाइ छ । पालिकाले अस्पताल संचालन गरे गरिब, दुःखी जनताले सहज रुपमा सेवा लिन पाउने अपेक्षा गरेको थापा बताए ।
“बडिगाडमा एउटा गतिलो अस्पतालको खाँचो थियो, भवन त बनेको देखिन्छ, सुचारु भएको छैन भन्छन्, सुचारु भयो भने बिरामी पर्दा ऋण धन खोजेर टाढा जान पर्ने छैन,” उनले भने – “गाउँ घरमा सानातिना विकास त भएकै छन्, जसले हामीहरुलाई सुविधा दिएको छ, अहिलेसम्म मान्छे बिरामी हुँदा टाढा जानु पर्ने अवस्था छ, यसको अन्त्य भयो भने सजिलो हुनेछ, सामान्य चोट पटक लाग्दा, ज्वरो आउँदा त अहिले पनि गाउँमा उपचार हुन्छ ।”रासस