बागलुङ : बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी महशुल शुल्क पुरानै कायम गरेको छ । संस्थाको साउन ३२ गते बसेको कार्य समितिको बैठकले खानेपानी महशुल शुल्क बृद्धि तत्काल अगाडी नबढाउने निर्णय गरेको हो । दोस्रो साना शहरी आयोजना संचालन गर्दा नगर विकास कोषबाट लिईएको ४५ प्रतिशत ऋणलाई निर्धारित समय भित्र भुक्तानी गर्नको लागि भन्दै संस्थाको २०८१ असार १३ गतेकोे कार्य समिति बैठकले भदौ महिनादेखि लागु हुने गरि न्युनतम १० युनिटको तीन सय रुपैया निर्धारण गरेको थियो ।
शुल्क वृद्धिका विषयमा स्थानीय तह, जनप्रतिनिधि, सरकारी निकाय सहित सर्वपक्षिय, सर्वदलिय ,सरोकारवाला लगाए उपभोक्तासंग छलफल गर्नुपर्ने भएकोले अहिलेलाई पहिले लिदै आएको खानेपानी महशुल कायम गरिएको उपाध्यक्ष हरि बहादुर जिसी ‘सन्तोष’ ले बताए । सबै निकायसंग छलफल गरेपछि नयाँ महशुल निर्धारण गरिने जिसीले बताए । संस्थाले ८ युनिटको एक सय रुपैयाँ न्युनतम शुल्क लिने गरेको छ ।
कार्य समितिको बैठकले संस्थाका उपाध्यक्ष हरि बहादुर जिसी ‘सन्तोष’लाई कार्यवहाक अध्यक्षको जिम्मेवारी तोकेको छ । केवि राना मगरले अध्यक्ष पदबाट आफनो व्यक्तिगत कारण देखाई २०८१ जेठ ७ गते राजीनामा दिनएक थिए । उनको राजीनामा उपाध्यक्षबाट स्विकृत भई कार्य समितिको बैठकले अनुमोदन समेत गरेको थियो ।
बैठकले ५ सदस्यी सल्लाहाकार समिति गठन समेत गरेको छ । संस्थाको सल्लाहकारमा जयराम भारी, अशोक गोविन्द राजभण्डारी, सुभाषचन्द्र राजभण्डारी, भुपेन्द खडका र कानुनी सल्लाहकारमा अधिवक्ता राम शर्मा रहेकाे सचिव जीवन आचार्यले बताए । भारी यस अगाडी संस्थाको तदर्थ समितिका संयोजकसमेत हुन् ।
संस्थाको वित्तिय व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित गर्नको लागी संस्थाको विधान बमोजिम तीन सदस्य लेखा समिति गठन गरेको छ । सुभाष आचार्यको संयोजकत्वमा लाल बहादुर केसी र बाबुकाजी केसी सदस्य रहेको तीन सदस्यी लेखा समिति गठन गरिएको कोषाध्यक्ष कृष्ण शर्माले जानकारी दिए । संस्थाको आर्थिक वर्ष २०८०/८१ को अन्तिम लेखापरिक्षणको (अडिट) ‘क’ वर्गको (चाटर्ड एकाउन्टेन्टस) लेखापरिक्षकबाट लेखापरिक्षण गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले संस्थाको प्रबन्धकको रुपमा कार्यरत हिमाल प्रसाद शर्माको भुमिका संस्थाको हित प्रतिकूल देखिएको भन्दै प्रबन्धक पदबाट बर्खास्तसमेत गरेको छ ।