सम्पादकीय
सूचना र प्रविधिको प्रयोगले विश्वलाई एउटा गाउँमा मात्र होइन कम्प्युटर र मोवाइलमा अटाउने बनाइदिएको छ । विश्वको एउटा कुनामा भएको घटना वा समाचार अर्को कुनामा यहि प्रविधिको प्रयोगले सहजै प्राप्त हुने गरेको छ । यसरी संसारको हर ठाउँको खबरलाई सूसुचित गराउने काम मुख्य गरि सञ्चार माध्यमको प्रयोगले भएको देखिन्छ । अपवादका देश बाहेक संसारका हरेक कुनामा रहेका नागरिकले यहि प्रविधिमार्फत सूचनाको उपभोग गरिरहेका हुन्छन् । कुनै समय सूचना÷सञ्चार पु¥याउने काम चिठी, पत्रपत्रिका, रेडियो, टेलिभिजनको मात्र जस्तो थियो । तर पछिल्लो समय भने इन्टरनेटको सहज उपलब्धतासँगै विकास भएको विभिन्न समाजिक सञ्जालले पनि मानिसहरुलाई सूचना पु¥याउने काम गरिरहेका छन् । सन् १४५६ मा प्रिन्ट्रिङ प्रेसको आविश्कार भएपछि शुरु भएको छापा पत्रकारिता, रेडियो, टेलिभिजन हुँदै इन्टरनेटको प्रयोगबाट हुने डिजिटल पत्रकारिताको युगसम्म आइपुगेको छ । सूचना प्रविधिमा आएको पछिल्लो विकास क्रमले एक ठाँउमा र समयमा मात्र बसेर प्राप्त हुने सूचनाको माध्यमलाई सहज र थप भरपर्दो बनाएको छ । विश्वमा मात्र नभएर नेपालमा ठूला र पुराना छापा सञ्चार गृह गोरखापत्र, कान्तिपुर, नागरिक, समाचारपत्र लगायतले पनि अनलाइन पत्रकारितामार्फत पत्रकारिताको दायरा बढाइरहेका छन् भने टेलिभिजन र रेडियोले पनि अनलाईन मार्फत आफ्नो सूचनाको दायरालाई बढाएका छन् ।
यहि सन्दर्भ र परिवेशमा रहेर हामीले यहाँको नागरिकलाई मात्र नभई विश्वमा रहेका हरेक नागरिकलाई डिजिटल पत्रकारितामार्फत सुसुचित गर्ने गरी बागलुङ पोस्ट संचार प्रा.लिमार्फत वि.सं. २०७६ भदौ १६ गतेदेखि परीक्षण प्रकाशन सुरु गरिएको बागलुङ पोष्ट डटकम अनलाइन आजकै दिन अर्थात भदौ २६ गतेदेखि विधिवत रुपमा प्रकाशन थालेका थियौँ । आजदेखि पाँच वर्ष पुरा गरेर छैठौँ वर्षमा प्रवेश गरेको खबर सुनाउन पाउँदा हामी हर्षित भएका छौँ । पत्रकारिताको क्षेत्रमा हुने विभिन्न आरोह अवरोह र आम श्रमजिवी पत्रकारमा हुने विभिन्न समस्यालाई छिचोल्दै हाम्रो सञ्चार गृहलाई तपाईहरुमात्र आशलाग्दो भरलाग्दो हुने गरी सबैखाले सामाग्री प्रकाशन प्रशारण गर्न भरमग्दुर प्रयास गरिरहेका छौँ । जुन प्रयासलाई हजुरहरुले समेत साथ दिएको कारण यहाँसम्म आइपुगका छौँ । सूचना प्रविधिमा आएको पछिल्लो विकास क्रमले इन्टरनेटमा राखिएको कुनै पनि सामग्री क्षणभरमै संसारभरी हेर्न सकिने भएकोले यसको आकर्षण जति बढ्दो छ त्यत्तिकै चुनौति पनि थपिएको छ ।
नेपालको संविधान २०७२ को धारा १७ मा स्वतन्त्रताको हक अन्तर्गत प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार हुने व्यवस्था गरिएको छ । यस अन्र्तगत इन्टरनेटको प्रयोग गरेर गरिने विचार र अभिव्यक्तिको स्वतन्त्रतासमेत पर्दछ । यस्तै धारा १९ मा सञ्चारको हक अन्तर्गत विद्युतीय प्रकाशन, प्रशारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्वप्रतिबन्ध लगाइने छैन भन्ने व्यवस्था गरिएको छ । यी अधिकारहरूको प्रत्यायोजनमा नै प्रेस स्वतन्त्रता निहीत छ । जुन विषयले पत्रकार नभए पनि कुनै पनि नेपाली नागरिकले इन्टरनेटसहितका कुनै पनि माध्यमबाट प्रसार गर्ने सामग्रीहरू समेत यही व्यवस्थाअन्तर्गत प्रयोग गर्ने उल्लेख गरिएको छ । यसकारण पनि पछिल्लो समय अनलाईन समाचारको विश्वसनियतामा चुनौति थपिएको छ । यसलाई नियमन गर्न राज्यले पनि प्रयास गरिरहेको देखिन्छ । तर नियमनको नाममा पत्रकारितालाई नै अंकुश लाग्ने गरी हुने कानुनमा हाम्रो ध्यान पु¥याउनुपर्नेछ । यसका साथै बग्रेल्ती खोलिएका अनलाइन सञ्चारमाध्यमको बिचमा हाम्रो पत्रकारिता र मिडियामार्फत नागरिकलाई सत्य तथ्य सूचना प्रवाह गर्ने विषयमा थप बलियो बनाउँदै लगिने विषयमा प्रतिबद्ध छौँ ।