बागलुङ : बागलुङ पोस्ट डटकम अनलाइनले ५ औँ वार्षिकोत्सव मनाएको छ । अनलाइनले नेपाली पत्रकारितामा डिजिटल मिडिया’ विषयक अन्तरक्रिया गरि वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले डिजिटल पत्रकारिताले नागरिकलाई छिनभरमै विश्वभरको सूचना प्रदान गर्ने बताएका छन् । उनीहरुले सूचना प्रवाहमा प्रभावकारी भए पनि डिजिटल पत्रकारिताको गलत प्रयोगले नागरिक झुक्याउने गरेको समेत बताए ।

कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पत्रकारितामार्फत नागरिकलाई सूसुचित गराउने र सरकारलाई खबरदारी गर्नु पर्ने पत्रकारहरुको कर्तव्य भएको बताए । उनले प्रबिधिको विकासले सूचना प्रवाहमा निकै सहज भएको भन्दै यसले विकृति पनि भित्राएको बताए । राम्रा कामको प्रचार र गलत कामको खबरदारी गर्ने काम पत्रकारिताले गर्नु पर्नेमा उनले जोड दिए ।

उपप्रमुख शर्माले भने – ‘‘प्रविधिको विकासले सूचना आदानप्रदान गर्न निकै सहज बनाएको छ, अहिले अनलाइन मिडियाले निकै महत्पूर्ण भूमिका खेल्दै आएका छन्, कतिपय अनलाइनले फेक समाचार प्रकाहन गर्दा सार्वजनिक क्षेत्रमा क्रियाशील व्यक्तिहरुको जीवनमा ठूलो ठेस लागेको छ, जति बेला होइन भन्ने पुष्टी हुन्छ त्यति बेला उसको सार्वजनिक जीवन समाप्त भैसकेको हुन्छ, अनलाइनलाई व्यवस्थित गराउन सकियो भने आम नागरिक मिथ्या सूचनाबाट भ्रमित हुनु पर्ने थिएन ।

कार्यक्रममा बानपा ११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले पछिल्लो समय पत्रकारितामा विकृति भित्रिन थालेको भन्दै यसलाई रोक्नु सबैको जिम्मेवारी भएको बताए । पत्रकारले उत्पादन गर्ने सामग्री गुणस्तरीय हुन जरुरी रहेको उनको भनाइ छ । गौतमले पछिल्लो समय नयाँ पत्रकार उत्पादन हुन नसकेको बताए ।
नेपाल पत्रकार महासंघ, बागलुङका सचिव विजय रानाले अबका पत्रकारिता खोज र अनुसन्धानात्म हुनु पर्नेमा जोड दिए । महासंघ पूर्व अध्यक्षहरु रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारीले पत्रकारले नागरिकको विश्वास बढ्ने गरि काम गर्नु पर्ने बताए । पत्रकारले राजनीतिक आस्था र नातागोताको नजिक भएको हिसाबले समाचार लेखे त्यो दीर्घकाली हुन नसक्ने उनीहरुको भनाइ छ ।

कार्यक्रममा नेपाल प्रेस युनियनका सचिव डम्मर बुढा मगर, प्रेस चौतारीका अध्यक्ष सिर्जना पन्त, प्रेस सेन्टरका सचिव अनिष खाती, प्रगतीशील पत्रकार संघका केन्द्रीय सचिव ताराप्रसाद शर्मा, ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरा, पत्रकार खिमबहादुर कार्की, प्रकाश बराल, यामबहादुर थापा लगायत बोलेका थिए ।
कार्यक्रममा बागलुङ पोस्ट अनलाइनका कार्यकारी सम्पादक संगम घर्तीमगरले डिजिटल मिडिया बारे अवधारणा प्रस्तुत गरेका थिए । अनलाइनका प्रधान सम्पादक मनबहादुर थापा (मनिष)को अध्यक्षता, कार्यकारी सम्पादक संगम घर्तीमगरको संचालन र प्रबन्ध निर्देशक नवराज परियारको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

बागलुङ पोस्ट संचार प्रा.लिमार्फत वि.सं. २०७६ भदौ १६ गतेदेखि परीक्षण प्रकाशन सुरु गरिएको बागलुङ पोष्ट डटकम अनलाइन भदौ २६ गतेदेखि विधिवत रुपमा प्रकाशन थालेको थियो । अनलाइनले बागलुङलाई केन्द्रमा राखेर समाचार प्रेसित गरिरहेको छ ।