ढाेरपाटन (बागलुङ) : बागलुङमा करिब साढे दुई महिनामा बाढी पहिरोमा परि १८ जनाको मृत्यु भएको छ । असार दोस्रो सातादेखि हालसम्म जिल्लाको विभिन्न पालिकामा बाढी पहिरोमा परि १० जना पुरुष र आठ जना महिनालाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिकामा छ महिला र छ पुरुष गरि १२ जना, बागलुङ नगरपालिकामा तीन पुरुष र एक महिला गरि चार जना, गलकोट नगरपालिकामा एक महिला, एक पुरुष गरि दुई जनाको मृत्यु भएको छ ।
यस वर्ष भारी वर्षा हुँदा धेरै ठाउँमा पहिरोले घर पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए । पहिरोमा परि २२ जना घाइते भएको उनले जानकारी दिए । घाइते मध्ये सात जना बडिगाड गाउँपालिका, एक जना जैमिनी नगरपालिका र एक जना बरेङ गाउँपालिकाको रहेको प्रहरी निरीक्षक पौडेल बताए । बाढी पहिरोमा परि २२ वटा पशुचौपाया मरेको उनको भनाइ छ । बडिगाड गाउँपालिका–१० का ११ वर्षीय बालक अझै वेपत्ता रहेको पौडेलले बताए ।
बागलुङ असार १५ गतेदेखि बाढी पहिरोले क्षति पु¥याउन थालेको थियो । बाढी पहिरोका कारण बागलुङको बडिगाडमा मात्रै करिब ८० परिवार प्रभावित भएका थिए । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारा लगायत जिल्लामा करिब डेढ सय घर परिवार प्रभावित भएको आँकलन गरिएको छ । वर्षा अझै पूर्ण रुपमा नरोकिएको हुँदा जोखिम कायमै रहेको छ ।
बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बाढी पहिरोबाट यस वर्ष बडिगाडले ठूलो क्षति ब्यहोर्नु परेको बताइन् । बाढी पहिरो प्रभावित परिवारलाई गाउँपालिकाले आवश्यक सहयोग गरि सुरक्षित स्थानमा सार्ने, खाद्यान्न वितरण लगाएको काम गरेको उनको भनाइ छ । पालिकाको स्रोत साधानले भ्याएसम्मको व्यवस्थापन गरेको भन्दै माथिल्लो निकायबाट सहयोगको अपेक्षा गरेको उनको भनाइ छ । बाढी र पहिरोले वडा नम्बर १० मा सबैभन्दा बढी क्षति गरेको भन्दै विस्थापित परिवारलाई पुनःस्थापनाका लागि प्रदेश र केन्द्र सरकारको सहयोग आवश्यक पर्ने अध्यक्ष अधिकारीले बताइन् । रासस